एक चिया प्रेमी कर्मचारी « प्रशासन
prasaLogo
१० जेष्ठ २०७७, शनिबार

एक चिया प्रेमी कर्मचारी


प्रकाशित मिति : 23 May, 2020 12:47 pm

धेरैले चियालाई अतिथि सत्कारको सजिलो अनि सकारात्मक उपभोग्य वस्तुको रूपमा लिन्छन् नेपालमा र उसलाई पनि चिया पारखीको रूपमा।तैपनि, उ एक सामान्य मान्छे हो र एक राष्ट्रसेवक कर्मचारी पनि। कैंयौ पटक भेटौँ न यसो भन्दा जवाफ व्यस्त छु भन्दै झारा टारेजस्तो गर्ने उसलाई एकपल्ट हेल्लो भेटौँ न यसो चिया गफ मिल्छ कि भन्दा त उसको हुन्छ, धन्यवाद भन्ने जवाफ सायद पहिलो धन्यवाद थियो मेरा लागी, किनकि मैले उसलाई धेरैथोरै चिनेतापनि चियाप्रतिको उसको लगाव सायद पहिलो पटक थाहा पाएँ।

पहिलो पटक मुहार पुस्तिका/फेसबुकमा मैले उसलाई साथी बन्ने रिक्वेस्ट पठाउँदा उसले ‘चिन्नुहुन्छ यहाँले मलाई ? भन्ने प्रश्‍नवाचक म्यासेज छोडेको थियो।लाग्थ्यो नचिनेको मान्छेलाई उ साथी बनाउँदैन कि ? जवाफमा मैले उसलाई केही भन्न सकिन। उसले धेरै दिनपछि मुहार पुस्तिकामा साथी स्वीकार गर्‍यो भन्ने नोटिफिकेसन मेरो लागी खुसीको कुरा थियो। मैले हेल्लो आरामै हुनुहुन्छ ? भनी म्यासेजबाट गरेको कुराकानीबाट सुरु भएको म र ऊबिचको वार्तालाप क्रमिक रूपमा चल्दै गयो।

एक दिन उसले मलाई चिया अफर गरेको थियो मेरो कुराकानीको प्रसङ्गमा एक शनिवार बिहान ८:३० बजे। म गएँ उसले बोलाएको ठाउँमा उसको प्यासेन्जरको कुराकानी अनुसारको ठाउँमा पुग्दा उसको मुहार पुस्तिकाको अनुहार चिन्न मुस्किल भएन मलाई। म पुग्दा उसले शिष्टाचारपूर्ण अभिवादन गर्दै सोध्यो आरामै छ ? नजिकैका अन्य व्यक्तिहरूलाई लाग्यो होला म र ऊबिच पहिलादेखिको चिनजान थियो। उसको दोस्रो प्रश्नको सुरुवात के छ हालखबर ? लगायतबाट र मैले दिएको जवाफसँगै उसले इसारा गर्‍यो माथितिर जाऊ भन्ने मैले पछि थाहा पाएँ, त्यो उसको सदाझैँ चिया पिउने ठाउँ/अड्डा थियो। पुनः उसले कुर्सी/टेबलतिर बस्न अनुरोध गर्‍यो इसारामा, म बसे, उ पनि फेस टु फेस कुराकानी गर्ने जस्तै गरी बस्यो साधारण तवरले। मैले मनमनै सोचे उसले कति बेला चिया अर्डर गर्छ वा अर्डर लिने मान्छे आउँछ, तर त्यसो भएन त्यहाँ। उसले चिया अर्डर गरेन र चिया अर्डर लिन पनि कुनै मान्छे आएन । एक छिन हाम्रो गफ चल्दै गर्दा दुई वटा काँचको गिलासमा दूधको चिया ल्यायो एकजनाले र मुस्कानसहित आफ्नो मुख फोर्‍यो, सर आरामै होइसिन्छ, चिया लिउ हजुर। म छक्क परे, सोचे यहाँ उ देखा पर्नु केवल चियाकै लागी रहेछ कि ? पछि थाहा पाएँ हो रहेछ। चिया देख्ने बित्तिकै उ मुस्कुरायो, उसको गहुँगोरो अनुहारमा केही चमक थपियो।

लाग्थ्यो उसको चियाप्रतिको प्रेम साच्चिकै गाढा रहेछ।चियाको प्रथम चुस्की लिनु अगाडि उसले मलाई चिया लिउ जस्तै इसारा गर्‍यो जुन चियर्स भन्दा कम थिएन, कुनै पार्टीको र चियाको एक चुस्कि लियो। उसको चिया पिउने स्टाइल देखेर म निकै प्रभावित भए किनकि म खासै चिया पिउने मान्छे होइन र मेरो आदत नभएकोले होला जस्तो फिलिङ्ग आयो म मा। मैले पनि यस्तै कुरा सँगै चिया सकाउने प्रयास गरे, बिचमा उसको मोबाइलमा फोन आयो सायद नचिनेको नम्बर थियो जस्तो कुरा भयो तर उसले आफ्नो परिचय एक मिनेटमा नै नहिच्किचाइ दियो। मैले पहिलो पटक यस्तो सटिक कुराकानी सुने, लाग्यो अन्तर्वार्ता जस्तो, उसले एउटा नम्बर टिप्यो त्यै फोन कलबाट र हार्दिक धन्यवादका साथ फोन राख्यो। मतिर हेर्दै उसले मलाइ धैर्यता लिन भनेजस्तो पारामा ‘एक छिन है त’ भनी उसले त्यो अघिको नम्बर डायल गर्‍यो र पुनः कण्ठ गरे जसरी त्यही आफ्नो परिचय दोहोर्‍यायो। एक छिनमा बोल्यो ए ल टिपम् मेरो नम्बर हजुर भन्दै आफ्नो मोबाइल नम्बर दियो, र त्यस्तै हार्दिकताका साथ फोन राख्यो। मलाइ लाग्यो चिने नचिनेका सबैसँग उसले बोल्ने भाषा एउटै रहेछ। अनि एक छिनको हाम्रो चिया गफ/भेट पछि, उ जुरुक्क उठ्यो र पसलको साहुजीतिर, सायद चियाको पैसा तिर्नजस्तो गरी म पनि अप्ठ्यारो मानी उठेर चियाको म तिर्छु नि भन्दा उसले सहजै हँसिलो पारामा भन्यो यो मेरो इलाका हो हजुर अनि हजुर त पाहुना, पुनः थप्यो हजुरको इलाकामा जाँदा पक्का तिर्नुहोला। उसको यो ‘इलाका’ शब्द सुन्दा कुनै हिन्दी फिल्ममा ‘ये इलाका हमारा है भाइ’ भन्ने सम्झना आयो तर उसको लवज र सौहार्दपुर्वकको व्यवहार देख्दा म सम्झे मेरा अरू साथीहरू त बिल तिर्दा त तिर न भन्दै झगडा गरेको। यो दुइटै मिजास उसमा पटक्कै देखिएन। सायद म नयाँ भएर नि हुन सक्छ। उसले पसलेसँग कति पैसा भयो, के यावत नसोधी सिधै रु.२० को रातो नोट दियो र लागे हजुर भन्यो, पसले मुस्कुरायो।

म मनमनै बोले ‘कस्तो सजिलो मान्छे’। केही अगाडी जहाँबाट उसले मलाइ भेटेर चिया पसलसम्म ल्याएको थियो त्यहाँसम्म उ पनि मसँगै गयो र बिदा भयौँ हामी। पछि सम्झे मैले मैलै उसलाई चियाको लागी धन्यवाद सम्म भन्न बिर्सेछु, अड फिल भयो मलाई। तर एउटा कुरा यकिन भयो कि उसको कार्य व्यस्तता जस्तो सुकै भए तापनि चिया उसको निकै रोजाइको उपभोग्य वस्तु रहेछ भन्नेमा म विश्वस्त भए त्यो पहिलो चिया गफबाट।

नेपालीहरूको प्राचीन बहुत चर्चित महँगो उखान छ नि “अतिथि देवो भव:” साँझका पाहुना देवता समान हुन । अनि यस्तै पाहुनाहरूलाई चियाले स्वागत सत्कार सुरु गर्ने र प्राय: चिया बिहान अनि दिउँसो सबैको बोलीचालीमा भेट्टिने वा भनौँ, घाँटीमा झुन्डिएको थेगो नै हो । बुढा-पाका, तन्नेरीहरू, आजकलका कलेज पढ्ने ठिटा-ठिटीहरू त झन् चियाका प्रकारहरूबारे निकै जानकार जस्तो गुनगुनाएको कलेज वरपरका चिया पसलहरूमा जस्तै:- ब्ल्याक टि, मिल्क टि, लेमन टि, हट लेमन इत्यादि।लाग्छ, यिनीहरू कलेजमा समेत चिया कै बारेमा पढ्छन् जस्तो। तर, चियाबारे जे जस्तो सुने-जाने तापनि मैले चियाका पनि यतिसम्मका पारखी हुन्छन् अनि भेटिन्छन्, भन्ने मेरो कल्पनाबाहिर थियो तर म झुटो साबित भए उसको शब्दमा व्यक्त गर्न नसकिने दुर्लभ चिया प्रेम देखी।

केही समय झन्डै एक महिनापछि मैले उसलाई प्यासेन्जरमा ‘हेल्लो’ लेखे। जवाफ आयो ‘हजुर’ मैले अरू केही भन्न नसके पनि चिया पिउनुभयो भनी लेखे उसको जवाफ हाजिर भयो ‘दोस्रो कप पिउँदै छु, अहिले मजस्तो होइन’ मैले नबुझे पनि बुझे जस्तो गरे त्यो ‘मजस्तो होइन’ शब्द। आज शुक्रवार थियो मैले भोलि शनिवार उसलाई चिया भेटमा बोलाउन खोजेर लेखे ‘हजुरलाई चिया निम्तो मेरो इलाकामा’ किनकि मैले कैयौँ पटक चिया आग्रह गर्दा पनि उसले शनिवारबाहेक मिल्दैन भनेको र मलाइ उससँग अलि लामो चिया गफ गर्नु थियो, त्यसैले मैले उसलाई शनिवार बोलाउने प्रयास गरेको। मेरो निम्तोको जवाफमा उसले सहजै हस्, हुन्छ र कति बेला तिनवटा शब्द फर्कायो। मैले शनिवार हो भन्ने थाहा नपाएजसरी लेखे समय कति वेला मिल्ला हजुरको ? उसले हाँसेको रियाक्ट गर्दै लेख्यो ‘भोलि शनिवार म फुर्सदमै हो यहाँको मिल्ने समयमा’ भन्ने जवाफ लेख्यो मैले सजिलै बिहान ११ बजेपछि म फोन गर्छु नि त हजुरलाई भन्दा उसले ‌’ओके’ लेख्यो। मसँग उसको मोबाइल नम्बर थियो । तर, उसलाई थाहा थिएन यसबारे किनकि मैले ऊसँगको सुरुको भेटको चिया गफमा कसैलाई उसले आफ्नो नम्बर टिपम् हजुर भन्दा मैले त्यो नम्बर त्यो मान्छेभन्दा छिटो आफ्नो मोबाइलमा टिपेको के थाहा।तैपनि मैले लेखे हजुरको मोबाइल नम्बर पाउन सकिन्छ ? जवाफमा उसले सहजै आफ्नो मोबाइल नम्बर लेखी पठायो, वार्तालाप यसैबिच टुङ्गियो।

म कुरे कति बेला ११ बज्ला भनेर, ठ्याक्कै बिहानको ११ बजे मोबाइलमा उसको नम्बर डायल गरे तिन घण्टीमा आवाज आयो ‘हजुर’ मैले सोचे प्राय हेल्लो भन्दा मेरा सबै साथीहरू हाइ के छ ? अगेरा-बगेरा भन्छन् तर उसको यो हजुर उसकै स्टाइल थियो सायद नवीनतम। मैले अस्तिको उसको जस्तै सटिक परिचय दिए। उसको झन् सटिक ‘चिने’ भन्ने शब्द मेरा कानमा गुन्जियो।उसले थप्यो कता भेटम् त ? मैले आफ्नो इलाका उसलाई भने, उसले अबको २० मिनेटमा आइपुग्ने भन्यो। वार्तालाप सकियो।

म छिट्टै उसलाई बोलाएको इलाकामा पुगेर बसे नभन्दै उ आफ्नो त्यै निलो आकाशे/निलो कलरको पुरा बाहुला भएको टिसर्ट र निलो कलरको जिन्स पाइन्टमा देखा पर्‍यो।उसले शिष्टाचारपूर्वक अभिवादन गर्‍यो, सोध्यो आरामै छ ? जवाफ दिँदै मैले उसलाई मेरो प्राय:जसो बिहान दूध किन्थे त्यै पसलमा चिया पनि पाइने भएकोले त्यतै जाऊ भन्ने इसारा गरे। पसलमा पुगेपछि मैले बस्न इसारा गरे, हामी बस्यौ त्यै फेस टु फेस कुराकानीको पोजिसनमा।मैले सोधे उसलाई कस्तो चिया पिउनुहुन्छ त आज हजुरले ? उसले जवाफमा ‘मजस्तै’ भन्यो म हाँसे, झन्न सम्झेछु अस्तिको कुराकानीमा उसले भनेको ‘मजस्तै’ शब्द। उ गहुँगोरो वर्णको भए पनि ठट्टा गर्न निकै सिपालु रहेछ, जुनसुकै कुरामा पनि ठट्टा अनि हँसाउने बोलीको तर उसको ‘मजस्तै’ भन्ने शब्दको अर्थ त ‘कालो चिया’ पो रहेछ। मैले दुई कप कालो चिया अर्डर गरे किनकि उसको अड्डा जस्तो अर्डर नै नगरी सिधै चिया पाइने ठाउँ थिएन यो मेरो इलाकाको।

एक छिनको गफ हुँदै गर्दा अचानक उसको मुहारमा मुस्कुराहट देखे मैले, यसो यतातिर हेर्दा त पसले दाइले चिया पो ल्याउँदै रहेको उसले देखेछ, मैले सोचे चिया चाहिँ कालो नै किन नहोस् वाह उसको चिया प्रेम। मैले चिया पिउँदै गर्दा सोध्नुपर्ने त खासै केही थिएन, किनकि म सोध्न आँट्दैनथे उसलाई।बस् प्रसँग निकाल्नु थियो प्रसँग आउनासाथ उ आफ्नो सबै कुरा अन्तर्वाताकारको प्रश्‍नको जवाफ जसरी दिन्थ्यो। कतिपय कुराहरू मेरो दिमागले अर्थ्याउन सक्दैनथे तैपनि मैले बुझेजस्तो गर्थे।अब चाहिँ उसलाई मैले सधैँ जस्तो बोलाइरहनु पर्दैन किनकि, उ मेरो चिया पिउने साथीको सूचीमा परिसकेको र उसले कति बेला शनिवार यस्तै चिया गफ गर्न बोलाउँथ्यो अरुबेला नभएनी उससँगको चिया गफले म पनि चिया पारखीभन्दा कम थिएन अब।यस्तैमा उसको र मेरो एकपल्ट दुईपल्ट हुँदै सयौँपल्ट चिया गफ भयो होला यसरी ऊसँग ।

केही समयपछि म आफ्नो कामको सिलसिलामा काठमाडौँ बाहिर जानुपर्ने भयो र गए, सायद भेट नभएको पनि एक वर्ष जति भयो होला ऊसँग। एक दिन साँझ करिब ९ बजेको समय थियो होला मेरो मोबाइलको घण्टी बज्यो हेर्दा त त्यै मेरो चिया पारखी मित्रको रहेछ। फोन उठाउँदा त्यही स्टाइलमा अभिवादन अनि त्यस्तै सोधपुछको प्रश्न आरामै छ ? अनि कता हो हजुर ? मैले काठमाडौँ भन्दा त उसले उसो भए थप कुरा भोलि ल ‘चिया निम्तो छ है मेरो इलाकामा’ भनेर फोन राख्यो । म फेरी एकपल्ट हारे ऊसँग किनकि मैले काठमाण्डौं आउँदासमेत उसलाई सम्झेन, भोलिपल्टको चिया गफमा उसले एउटा घटना बारे सुनायो, “एउटा घरमा ३ जना बुबा-आमा र एक मात्र छोरी रहेछन्, आमा बिरामी भएर बुबाले आमालाई अस्पताल लगेछन्। अस्पताल टाढा अर्को जिल्लामा थियो र त्यस दिन घर फर्किन सक्ने अवस्था थिएन । त्यो दिन छोरीको जिम्मा घर हेर्ने, छोरीले बुबा-आमा अस्पताल जाने बित्तिकै आफ्नो फेसबुकको वालमा लेखिछिन्, “आमा बिरामी भई बुबाले फलानो अस्पताल लगेको हुँदा घरमा एक्लै भएको अवस्था” त्यस स्टाटस लेखाइले कत्तिको हानि हुन्छ भन्ने ज्ञान छोरीमा थिएन र त्यसै दिन उसको घरमा २-४  जना खराब केटाहरू आएर सबै सखाप पारेछन्। पछि प्रहरीले अनुसन्धान तहकिकात गर्दा पक्राउ परेसी पो थाहा भो ती केटाहरूले उसको फेसबुकको “आमा बिरामी भई बुबाले फलानो अस्पताल लगेको हुँदा घरमा एक्लै भएको अवस्था” स्टाटसले पो घरमा आएका रहेछन्”। र मैले उसबाटै थाहा पाए, यो एक्काइसौँ सूचना प्रविधिको युगमा त सबै कुरा सम्हालिएर पो अघि बढ्नुपर्ने रहेछ।

अझ जब उसले मलाई भन्यो मैले पनि हिजो यहाँको फेसबुकको वालमा लेखिएको ‘ट्रय्राभलिङ टू काठमाडौं’ देखेर पो थाहा पाएर फोन गरेको हु। त्यसैले यस पटकको चिया गफ निकै महँगो सिकाइ भो मलाई त्यो मेरो फेसबुके ‘ट्रय्राभलिङ टू काठमाडौं’ले । मैले प्राय: केही थान मान्छेहरूको मुखारबिन्दुबाट सुनेको थिए, चिया स्वास्थ्यको लागी हानिकारक छ, पिउनुहुन्न।तर जब मैले उसको चिया प्रेम र कतिपयका मुहारपुस्तिकाहरुमा लेखेको, देखे, भेटे; जस्तै:-
लाल चिया र फिक्का कफी पिउनुहोस् अनि स्वस्थ जीवन जिउनुहोस्’,
असल जिन्दगी उसैले जिउँछ, जसले चिया पिउँछ,
‘चिया जिन्दगी र माया: एक कप चिया: भलाकुसारी देखी भाइचारासम्म’,
खुसी हुन बढी के पो चाहिन्छ र! झ्यालमा बसेर चिया खाँदै सङ्गीत सुने पुग्छ’

र उसको मुहार पुस्तिकाको मा विभिन्न समयमा लेखिएका थिए कि, ‘…….र मेरो चिया पिउने र चियासँगको यादगार प्रेम प्रत्येक बिहान एक स्टिलको गिलास चिया पिउन सबेरै उठेर रु.३ (तीन) पर्ने एक पाउ (२५०मिलिमिटर) दूध नजिकैको होटेलबाट ल्याइ दिनमा एक पटक फेरी चिया पिउन पुग्ने गरी उमालेर राखी बिहानी चिया पिउने आदतसँगै आजका दिनसम्मको। तर, रमाइलो कुरा चिया मलाई कहिल्यै खाऊँ खाऊँ पनि लागेन र नखाऊँ नखाऊँ पनि लागेन किनकि, रहेछ मैले आजसम्म कुनै हिसाबै नराखी चिया पिएको रहेछु, कति बटुको, कति कप, कति कप तर ….।,

‘ज्ञान प्राप्त गर्न ध्यान चाहिन्छ अरे, म ध्यान गर्न सक्दिनँ, बरु एक कप चिया थप्न सक्छु’
यसरी चियासँग तपाई अनि हाम्रो जीवन अभिन्न रूपमा जोडिएको छ। वाह एक चिया प्रेमी कर्मचारी वाह उसको चिया प्रेम।यहाँहरूसँग उसको चिया गफ छुट्यो कि ?

Tags :
प्रतिक्रिया दिनुहोस