काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
चारदिन अघि पीसीआर परीक्षण गराएका नीहरुमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएका प्रहरीको बारेमा स्वास्थ्य मन्त्रालयले मंगलबार प्रहरीलाई जानकारी गराएइसकेको प्रहरी उच्च स्रोतले जनाएको छ ।
कालीमाटीमा कार्यरत दुई प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएका छन् । कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो ।
यस्तै, बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ ।
कोरोनाको रिपोर्ट नआउँदासम्म मंगलबार दुवै जना प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए । आज बुधबारबाट सबैको पीसीआर परीक्षण गर्ने तयारी भएको छ ।