सङ्कट व्यवस्थापन : स्थानीय जनप्रतिनिधि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सङ्कट व्यवस्थापन : स्थानीय जनप्रतिनिधि


१ जेष्ठ २०७७, बिहिबार


शासनका पात्रहरूका कुकर्मको आलोचनात्मक टिप्पणी र सुकर्मको सकारात्मक ढङ्गले प्रशंसा गर्ने कार्य पनि लोकतन्त्रको एउटा अस्त्र हो। जसले बाटो बिराउनेहरूलाई सत् मार्गमा ल्याउन प्रेरणा मिल्दछ, स्वेच्छाचारिता एवम् निरङ्कुशता हुनबाट रोक्दछ एवम् जनप्रिय, जनापेक्षित, जनभावनाकूल कर्मीहरूलाई थप हौसला प्रदान गर्छ। त्यस्ता कार्यको निरन्तरतालाई बढी प्रोत्साहित गर्छ। शासनका पात्रहरूलाई, राज्यका उत्तराधिकारीहरूलाई नागरिक केन्द्रित तुल्याउँदछ। उनीहरूलाई नागरिकको खुसी र सन्तुष्टिमा नै आफूलाई समर्पित गर्ने अभिप्रेरणा जगाउँदछ। बर्तमानको सङ्घीय व्यवस्थाले परिकल्पना गरेको त्यही नै हो। यसले लोकतान्त्रिक विधि र प्रक्रियालाई मोलिलो बनाउँदछ भने संघात्मक शासन व्यवस्थालाई संस्थागत गर्न सघाउँदछ।

लोकतन्त्रमा सक्षम, योग्य र बालिग नागरिकले आफ्नो मताधिकार प्रयोग गरी निष्पक्ष र स्वतन्त्र ढङ्गले स्वशासित र स्व नियन्त्रितको लागि प्रतिनिधिको छनोट गर्दछन्। आफ्नो लागि अभिभावकत्व ग्रहण गर्न सक्ने हैसियतको नेतृत्व चुन्ने पर्यन्त गर्छन्। आफूले चुनेका प्रतिनिधिहरूबाट आफ्नो हित अनुकूलका कार्यहरू, इच्छाबमोजिमका सेवाहरू र भरसक अधिकतम सुविधाहरूको आकाङ्क्षा गरेका हुन्छन्। साथसाथै पूर्ण सुरक्षा र संरक्षणको प्रत्याभूतिको चाहना गरेका हुन्छन्। शिद्धान्ततः नागरिकलाई नियन्त्रित, निर्देशित र नेतृत्व गर्ने प्रतिनिधिहरूमा त्यो गुण हुनुपर्ने हुन्छ लोकतन्त्रमा। तर सबै नेतृत्व वर्गहरूमा त्यो खालका गुण, सक्षमता र तदारुकता नपाउने पनि हुन्छ। उसले चाहेर वा नचाहेर, जानेर वा नजानेर। यसमा मानवीय स्वभाव र चरित्रले पनि प्रधान भूमिका खेल्दछ। जसका कमजोरी औँल्याइदिइने, सकारात्मक टिप्पणी गरिदिने, असल चरित्र र क्रियाकलापहरूलाई थप प्रोत्साहित गर्ने महत्त्वपूर्ण जिम्मेवारी राज्यका सचेत नागरिकको हुन आउँछ। यसो त नागरिकले आफ्ना प्रतिनिधिहरूलाई सबै भन्दा बढी दुःख, असहज र सङ्कटको क्षणमा खोज्दछन्। यस अवस्थामा जनसेवा, सुरक्षा र मानवीय संवेदनशीलता प्रति जिम्मेवारी ढङ्गले भूमिका वहन गर्न सक्यो, सकेन भन्ने सूक्ष्म रूपमा मूल्याङ्कन समेत गरिरहेका हुन्छन्। नेतृत्व वर्गले पनि आफ्नो कार्य सक्षमता प्रदर्शन गर्ने, तदारुकता देखाउने उपयुक्त समयमा पनि यही हो, नकी कुनै सहज परिस्थितिमा।

अहिले विश्वभर महामारीको रूप लिइरहेको कोभिड-१९ को प्रभावले प्राय सबै राष्ट्रहरू आक्रान्त छन्। झन्डै सबै राष्ट्रहरूले सो रोग नियन्त्रणको लागि बन्दाबन्दी र एकान्तबासलाई अवलम्बन गरिरहेका छन्। आ-आफ्नो क्षमता अनुसारको कार्यशैली अपनाइरहेका छन्। नेपालमा पनि गत चैत्र ११ गते देखि मुलुक बन्दाबन्दीमा छ। सम्पूर्ण नागरिकहरू एकान्तबासमा रहेका छन्। सरकारले बन्दाबन्दीलाई निरन्तरता दिनु, नागरिकको सुरक्षाको निम्ति सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको भूमिका प्रवर्द्धन गर्नु, उचित प्रोत्साहन गर्नु, ज्यालादारी गरेर दैनिकी गुजारिरहेका श्रमिकहरूको लागि विभिन्न राहतको व्यवस्था गर्नु र नागरिकहरूले अनुशासित तवरले सरकारको आदेशको पालना गर्नु जस्ता क्रियाकलापहरू सरकार र नागरिकका यतिबेलाका दैनिकीको रूपमा रहेको अवस्था छ।

‘नेपालको इतिहासमा मल्लकालीन समयमा, प्रजाले नखाएसम्म आफूले नखाने, प्रजाको घरको धुरी धुवाँएपछि मात्र खाने प्रजावत्सल राजाको रूपमा महेन्द्र मल्ललाई चिनिन्थ्यो। त्यति बेलाको समयमा स्वेच्छाचारिता, निरङ्कुशता र परिवारतन्त्रको बोलवाला थियो। आफूलाई राज्यको सुख, सुविधा र विलासिताको दैनिकीलाई गौण ठानी, आफ्ना पूर्वजहरूले अवलम्बन गर्दै आएको कार्यशैलीलाई समेत लत्त्याएर, आफ्नो सम्पूर्ण राज्यकाल जनताप्रति समर्पित गर्ने प्रजाप्रेमी र प्रजाहितैसी महान् प्रतापी राजाको रूपमा रहेका थिए।’

प्रदेश सरकार र स्थानीय सरकारहरू आ-आफ्नो ढङ्गले लागेका छन् यस महामारी नियन्त्रण र नागरिकहरूको सुरक्षाको लागि। तर प्रदेश सरकारको बोध नागरिकहरूले यो समयमा पनि त्यति गर्न नसकिरहेको स्थिति भने यथावत् नै छ। प्रदेश सरकारसँग नागरिकहरूले अझैपनि सामिप्यता गाँस्न सकिरहेको अवस्था छैन। यद्यपि, स्थानीय सरकारलाई भने नागरिकहरूले घरदैलोको सरकारको रूपमा विगत देखि नै अङ्गाल्दै आइरहेका छन्। यसपालि त झन् उनीहरूका क्रियाकलाप र कार्यक्षमतालाई गर्ल्याम्मै अङ्कमाल नै गर्ने मौका पाइरहेका छन्। जनप्रतिनिधिहरूलाई राम्ररी नै चिन्ने अवसर प्राप्त गरे। उनीहरूको कार्यशैली र व्यवहारले कतिपयले नकारात्मक धारणा बनाए त कतिपयले सकारात्मक र रचनात्मक। हुन त यो परिस्थितिमा अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरुले आ-आफ्नो स्थानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पक्कै छन् आफ्ना नागरिकहरूको सुरक्षा र संरक्षणको लागि। कतिपय भने आफ्ना नागरिकहरूका लागि भगवानकै रूपमा स्थापित भएका छन्। यसै प्रसङ्गलाई हृदयङ्गम गर्दै यस स्तम्भ एक जना जनप्रिय स्थानीय प्रतिनिधिको नागरिक प्रतिको सेवाभाव र जनसमर्पित कार्यशैलीको प्रोत्साहनमा केन्द्रित रहन्छ।

नेपालको इतिहासमा मल्लकालीन समयमा, प्रजाले नखाएसम्म आफूले नखाने, प्रजाको घरको धुरी धुवाँएपछि मात्र खाने प्रजावत्सल राजाको रूपमा महेन्द्र मल्ललाई चिनिन्थ्यो। त्यति बेलाको समयमा स्वेच्छाचारिता, निरङ्कुशता र परिवारतन्त्रको बोलवाला थियो। आफूलाई राज्यको सुख, सुविधा र विलासिताको दैनिकीलाई गौण ठानी, आफ्ना पूर्वजहरूले अवलम्बन गर्दै आएको कार्यशैलीलाई समेत लत्त्याएर, आफ्नो सम्पूर्ण राज्यकाल जनताप्रति समर्पित गर्ने प्रजाप्रेमी र प्रजाहितैसी महान् प्रतापी राजाको रूपमा रहेका थिए। जुन स्वभाव यसै सन्दर्भमा जोड्न उचित देखिएको छ।

पोखरा महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ एउटा सुविधा सम्पन्न परिवारमा रहेर पनि समाज सेवा गर्ने दृढ सङ्कल्पका साथ राजनीतिमा प्रवेश गर्नुभयो। इमानदारी, स्वच्छन्दता, लगनशीलता र दयालु स्वभाव जस्ता गुणले भरिएकोले सो सँगै एउटा वडाको नेतृत्व गर्दै सेवा गर्ने अवसर समेत प्राप्त भयो। जुन म्यान्डेटको आधारमा वडा अध्यक्षको रूपमा निर्वाचित हुनुभयो सो पूरा गर्न आफूलाई निरन्तर रूपमा नागरिक प्रति समर्पित र क्रियाशील रहँदै आइरहनुभयो। आफूलाई कुनै पनि परिस्थितिसँग सम्झौता नगरी कहीँ कसैसँग विना मोलाहिज्जा वडा र वडावासीको समृद्धि तथा समुन्नयनका लागि हरदम प्रयासरत रहिरहनु भयो। विना विभेद सम न्यायिक रूपमा सम्पूर्ण वडावासीहरूको पूर्ण अभिभावकत्व प्रदान गर्नु भएको छ। विपक्षीको समेत मन जित्न सफल, उक्त प्रशंसनीय कार्यशैली र व्यवहारको तारिफ पक्षका अलावा विपक्षीहरूबाट पनि चर्चामा छ। आफ्नो सामाजिक क्षेत्रको लक्ष्य, उद्देश्य एवम् वाचा पूरा गर्न तपाई आफ्नो दिशामा निश्चित एवम् निर्दिष्ट हुनहुन्छ। प्रविधिमा विशेष रुचि राख्ने, तपाईँले वडाको समृद्धिमा शिक्षालाई प्रविधि मैत्री र आधुनिक बनाउने भिन्न सोचका साथ आफ्ना वडाका सामुदायिक विद्यालयका शिक्षकहरूलाई आधुनिक सूचना प्रविधिको माध्यमबाट शिक्षण सिकाई गर्ने कार्यलाई अभिप्रेरित गर्न कम्प्युटर तालिम उपलब्ध गराएर छुट्टै पहिचान बनाइसक्नु भएको छ।

‘ देशको स्वाभिमान र राष्ट्रिय अखण्डता माथि नै आँच आउनेसम्मका गतिविधिहरू भइरहेको सन्दर्भमा राष्ट्रको अस्तित्व रक्षा र सामाजिक, आर्थिक चुनौतीहरूको बुद्धिमत्तापूर्वक समाधानको निम्ति सबै पक्षहरू एक ठाउँमा रहेर हात माथि हात र काँधमा काँध मिलाएर अगाडि बढ्नुको विकल्प छैन।’

राजनीतिक दल कन् हो सरोकार रहेन, बस यति मात्र हो, तपाई सम्पूर्ण वडावासीहरूको कुशल अभिभावक हो। निडर र निर्भीक संरक्षक हो। दुःख पीडामा हरतरह साथ दिने ओखती हो। सङ्कट र विपद्मा परेकाहरूको राहत हो। आफ्नो जिम्मेवारीलाई उत्तरदायी ढङ्गले निभाउने एक राष्ट्र नायक हो। तपाईँको कल्याणकारी, गुणकारी, इमानदारी र मनकारी हात तथा हृदयको मुक्तकण्ठले प्रशंसा गर्नु हामीहरूको दायित्व पनि हो।

न कुनै लोभ छ, न कुनै मोह छ। भोक, ताप, झरी बादल, रोग, व्याधि, विपत्ति, शारीरिक थकान, ईर्ष्या, रिस राग आदिको कुनै प्रवाह छैन। राज्यबाट प्राप्त गर्ने सेवा सुविधाको समेत कुनै लालच छैन। नत आफूले गरेका तमाम कामहरू र कल्याणकारी सेवाहरूको अरूले झैँ मिडिया बाजी गर्ने आदत छ। सेवा बापतको मेवा र सक्रियता बापतको लोकप्रियता जस्ता सिद्धान्तहरूबाट दूर रहन खोज्ने स्वभाव छ। कोरोना भाइरसको प्रभावले विश्व रोइरहेको यस महामारीको घडीमा हामी पनि बन्दाबन्दी र एकान्त बासको कठिन परिस्थिति झेल्न विवश छौँ। दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने सर्वसाधारणहरूले दैनिकी टार्न कठिन छ। सरकारले स्थानीय तहमार्फत विभिन्न राहतका कार्यक्रमहरू सञ्चालन त गर्‍यो तर पर्याप्त छैन। विभिन्न माध्यमबाट थप स्रोतको जोहो गर्नुपर्ने स्थिति छ।

वडाका अन्य सदस्य लगायत कर्मचारीहरूलाई समेत उत्साहजनक ढङ्गले परिचालन गर्ने कला र क्षमताको नि पूर्णता छ उहाँमा। वडावासीहरूका अनेकन् पीरमर्काहरुमा साथ दिइरहनु पर्ने बाध्यता छ। तर बाध्यतालाई उत्साह र अवसरको रूपमा लिने दक्षता छ। दिन होस् या रात, नितान्त आफ्नो व्यक्तिगत सवारी साधनलाई सम्पूर्ण वडाका असहजता र संवेदनशिलताहरुको वाहक बनाउने ठुलो हृदय छ। आफ्नो स्वास्थ्यको समेत प्रवाह नगरी सम्पूर्ण वडावासीहरूको विपद्को सारथि बनिरहनुभएको छ। हप्तामा २ पटक मिर्गौलाको डायलासिस गर्नुपर्ने यस वडाका ४/५ जना बिरामीहरू, इमर्जेन्सी सेवाका बिरामी, सुत्केरी लगायत अत्यावश्यक र अकस्मात् आइपर्ने समस्याहरूको तत्काल समाधान गर्ने गर्विलो ताकत छ। यथार्थमा वडावासीका समस्या र चुनौतीहरूलाई विना हिचकिचाहट समाधान गर्न कुनै कसुर बाँकी छैन उहाँको तर्फबाट। अन्य सदस्य ज्यूहरू, कर्मचारीहरू लगायतको टिमको सक्रियता पनि साँच्चै नै खुला हृदयले प्रशंसायोग्य र अनुकरणीय छ, यो बेला। यस अर्थमा, हामी सम्पूर्ण वडावासीहरू पूर्ण रूपमा सुरक्षित महसुस गर्न पाएका छौँ।

यस्तै कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका प्रमुख ज्यूको प्रगतिशील र उत्पादनशील कदम, जसले आफ्नो गाउँपालिकालाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नु भएको छ। त्यसै गरी रुपा गाउँपालिकाका प्रमुख ज्यूको नवीन सोच, विकासवादी स्पष्ट दृष्टिकोण र कार्य पद्धतिको समेत खुला हृदयले प्रशंसा गर्न लायक छन्। उहाँहरूको क्रियाकलाप पनि कम चर्चामा छैन यति बेला। सङ्घीय सरकार मुलुक र जनताको सुरक्षा प्रति यो समयमा त्यति संवेदनशील हुन सकिरहेको छैन। पद, पैसा, पावर र परिवारमा मात्र केन्द्रित छ। प्रचण्ड बहुमतको स्थिर सरकार आफ्नै कार्यशैली, बेमौसमी र बेतुकका निर्णयका कारण सत्ता डगमगाउने सम्मको स्थिति छ। अन्ततः लोकतन्त्र माथि नै प्रहार हुनसक्ने सम्मको स्थितिले नेपालीहरूको मन मस्तिष्क झन् बल्झिन पुगेको छ।

कतिपय स्थानमा स्थानीय तहका जनप्रतिनिधिहरुले लोकप्रियताको लागि मात्र राहतलाई प्राथमिकतामा राख्ने, राहतका नाममा भ्रष्ट्राचार गर्ने, अखाद्य वस्तु वितरण गर्ने जस्ता निन्दनीय कार्यहरू पनि बाहिर नआएका होइनन्। यस्ता कुकृत्यहरूलाई निरुत्साहित गर्न माथि उल्लेखित वडा अध्यक्ष र गाउँपालिका प्रमुख लगायतका सुपात्रहरूको गुणकारी कदमलाई थप हौसला प्रदान गर्नु, सञ्चारित गर्नु आजको आवश्यकता हो। हामी सामु देखा परेको महासङ्कट र त्यसपछि देखा पर्न सक्ने भोकमरी र अनिकालको समेत आकलन गरी एक अर्कामा प्रतिद्वन्द्वी नभई सहकार्य र समन्वय मार्फत चुनौतीहरूको सामना गर्नुपर्ने जरुर देखिन्छ। पछिल्लो समयमा देशको स्वाभिमान र राष्ट्रिय अखण्डता माथि नै आँच आउनेसम्मका गतिविधिहरू भइरहेको सन्दर्भमा राष्ट्रको अस्तित्व रक्षा र सामाजिक, आर्थिक चुनौतीहरूको बुद्धिमत्तापूर्वक समाधानको निम्ति सबै पक्षहरू एक ठाउँमा रहेर हात माथि हात र काँधमा काँध मिलाएर अगाडि बढ्नुको विकल्प छैन।

 

Tags :
प्रतिक्रिया दिनुहोस