भाटभटेनीले भन्यो -‘प्राविधिक र कानुनी रूपमा गल्ती नै हो, हामी स्वीकाछौँ’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भाटभटेनीले भन्यो -‘प्राविधिक र कानुनी रूपमा गल्ती नै हो, हामी स्वीकाछौँ’


१७ बैशाख २०७७, बुधबार


काठमाडौँ । भाटभटेनी सुपर मार्केटले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको जरिवानामा आफ्नो गल्ती भएको स्वीकार गरेको छ ।

भाटभटेनीले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्राविधिक र कानुनी रूपमा यो गल्ती नै हो भन्ने हामी स्वीकार पनि गर्दछौँ ।’

सम्बन्धित समाचार : बढी मूल्य असुल्ने भाटभटेनीलाई तीन लाख जरिवाना, सक्रियता अझ बढाउँदै विभाग

मुलुककै ठुलो सुपर मार्केटले महामारीका बेला बढी मूल्य लिएको भन्दै चौतर्फी आलोचना भएपछि विज्ञप्ति निकाल्न बाध्य भएको भाटभटेनीले विभागले गरेको जरिवाना स्वीकार गरे पनि त्यसको दोष भने काष्ठमण्डप खाद्य उद्योगलाई दिएर आफ्नो बचाउसमेत गर्न खोजेको छ ।

‘भाटभटेनीले काठमाडौँ महानगरपालिका वडा नम्बर १२ स्थित काष्ठमण्डप खाद्य उद्योगबाट विगत लामो समयदेखि नेवार समुदायमा माग हुने लाखमरीलगायत सामान किनेर आफ्ना आउटलेटमार्फत बिक्री गर्दै आएको छ’ विज्ञप्तिमा भनेको छ ‘लकडाउनकै कारण सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको ५० वटा लाखमरी प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको हामीलाई जानकारी गराएको छ ।’

बारकोड रिडरले पहिचान गर्दा कम्प्युटर प्रणालीमा बढी मूल्य देखिन गई विभागले भाटभटेनीलाई जरिवाना गरेको स्वीकारेको भाटभटेनीले उपभोक्ता ठग्ने अथवा गलत बाटोबाट पैसा कमाउने नियत नभएको दाबी गरे पनि उसको तर्कले कोही पनि भन्न सक्दैन कि २५० ग्राम र ५०० ग्राममा झुक्किएर एउटै बारकोड टाँसियो भनेर ।

मानिलिऔँ टाँस्नेले त झुक्किएर टाँस्यो रे तर बिक्री गर्दा त ५०० ग्राम र २५० ग्रामको प्याकेट हेरेरै थाहा हुँदैन र ? उपभोक्ताबाट पैसा लिँदा नहेरीकन लियो भन्न मिल्ला र ?

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउन गरेसँगै व्यापारीहरूले गर्न सक्ने कालोबजारीबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग चनाखो बनेको छ । यति गर्दा पनि व्यापारीहरूले बढी मूल्य लिन भने छोडेका छैनन् ।

विपद्मा कालोबजारी गर्ने कसैलाई पनि नछोड्नु भन्ने सरकारको निर्देशनसँगै विभागले ठाउँका ठाउँ कारबाही गर्न थालेपछि धेरै हदसम्म बजार नियन्त्रण भएको छ भने उपभोक्ताहरूले आफूहरू ठगिएको बारे जानकारी दिनेको सङ्ख्या दिनहुँ बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस