लहान । लकडाउनको मारमा परेका आफ्ना नागरिकलाई सिरहाको सुखीपुर नगरपालिकाले राहतसँगै सामाजिक सुरक्षाभत्ता घरघरमै पुगेर वितरण गर्न शुरु गरेको छ ।
सुखीपुर नगरपालिकाले वडा नं ९ बाट ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गरी राहतस्वरुप खाद्यान्न वितरण शुरु गरेको छ भने वडा नं ८ बाट सामाजिक सुरक्षाभत्ता घरघरमै पुगेर वितरण शुरु गरेको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध जुधिरहेका विपन्न परिवारलाई मापदण्ड बनाएर खाद्यान्न वितरण शुरु गरेको नगरप्रमुख रामअवतार यादवले जानकारी दिए ।
सुखीपुर नगरपालिका–९ का दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्दै आएका ३०० विपन्न परिवारलाई राहतस्वरुप प्रतिपरिवार ३० किलो चामल, पाँच किलो दाललगायत सामग्री वितरण गर्न शुरु गरिएको नगप्रमुख यादवले बताए । नगरपालिकाकाले सबै वडामा रु पाँच÷पाँच लाखका दरले १० वडामा रु ५० लाख बराबरको खाद्यान्न वितरण गर्ने लक्ष्य रहेको नगरप्रमुख यादवको भनाइ छ ।
यस्तै सो नगरपालिकाले लकडाउनको पालन गर्दै सामाजिक सुरक्षाभत्ता घरघरमै पुगेर वितरण शुरु गरेको छ । लकडाउनका कारण कार्यालयसम्म आउने अवस्था नरहेकाले घरमै गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको नगरप्रमुख यादवले बताए ।
ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित ज्येष्ठ नागरिक र बालपोषणभत्ता घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्न लागेको छ ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनको मारमा परेका विपन्न, मजदुर परिवारलाई सिरहाको बरियारपट्टी गाउँपालिकाले पनि राहत वितरण गर्न शुरु गरेको छ । वडावडाबाट आएको विपन्न, मजदुर परिवारको विवरणको आधारमा राहत वितरण थालिएको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले जानकारी दिए ।
प्रतिपरिवार चामल २५ किलो, दाल तीन किलो, नुन दुई प्याकेट, चिनी दुई किलो, खानेतेल दुई लिटर, साबुन राहत वितरण शुरु गरेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत अशोककुमार सिंहले बताए ।