आँधीबाट अमेरिकामा ६ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आँधीबाट अमेरिकामा ६ जनाको मृत्यु


प्रशासन संवाददाता

१ बैशाख २०७७, सोमबार


ज्याक्सन । संयुक्तराज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको बिशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ । आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३०० वटा घर र अन्य भवनमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् ।

मिसिसिपी आपतकालीन व्यवस्थापन संस्थाका निर्देशक ग्रेग मिसेलले वाल्थाल काउन्टीमा एक जना, लरेन्स काउन्टीमा दुई जना र जेफरसन डेभिस काउन्टीमा तीन जनाको मृत्यु भएको जानकारी दिए ।

अमेरिकी राष्ट्रिय जलवायू विभागले मिसिसिपी राज्यका अन्य क्षेत्रमा पनि तिब्र वेगका साथ हावाहुरी आउने बताएको छ । मेरिडियनको उत्तर अलाबामा राज्यको सीमा नजिक चक्रवात आउने सम्भावना रहेको विभागले जनाएको छ ।

मिसिसिपी राज्यका गभर्नर टेट रीभ्सले राज्यमा हावाहुरीले धेरै क्षति पु–याएको भन्दै आइतबार नै आपतकालीन स्थितिको घोषणा गर्नु भएको छ । ‘इस्टर पर्वकै दिन भिषण हावाहुरी आएर जनधनको नोक्सानी हुनु निकै दुःखदायी कुरा हो,’ गभर्नर रीभ्सले ट्वीट गर्दै भनेका छन् । ‘कोरोना भाइरसको महामारी चलिरहेकै बखत आँधीले दुःख दिए पनि हामी सबै मिलेर यस्ता दुःख निवारण गर्न सक्षम हुनुपर्छ ।’

उत्तर पश्चिम लुजियानामा पनि स्थानीय अधिकारीहरुले राज्यका डीसोटो र वेब्स्टर क्षेत्रमा दर्जनौं घरमा क्षति पुगेको बताएका छन् ।

अमेरिकी जलवायू विज्ञान विभागले पछिल्लो आँधीले मिसिसिपी, अलाबामा र पश्चिम जर्जियामा समस्या निम्त्याउने जनाएको छ । अमेरिकाका दक्षिणी क्षेत्रका धेरै राज्यमा आँधीले नोक्सान गर्ने सम्भावना देखिएको पनि विभागको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस