विज्ञ समूहको सुझाव पूर्ण पालना गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विज्ञ समूहको सुझाव पूर्ण पालना गरिने


प्रशासन संवाददाता

२४ चैत्र २०७६, सोमबार


लोक सेवा

जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

विज्ञ समूहले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि विभिन्न सुझावसहितको प्रतिवेदन बुझाएलगत्तै बसेको उच्चस्तरीय समितिको बैठकले विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने निर्णय गरेको मुख्यमन्त्री राउतले बताए ।

विज्ञ समूहले महामारी नियन्त्रणका लागि चिकित्सकीय सामग्रीको प्रयोग, चिकित्सकको व्यक्तिगत सुरक्षा तथा प्रोत्साहन भत्ता, क्वारेन्टाइन, आइसोलेसनको मापदण्ड, कोरोना विशेष अस्पतालको निर्माण, आपूर्ति व्यवस्थामा समन्वयसहितलाई समेटेर सुझाव बुझाएका थिए ।

यसका साथै समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले महामारी नियन्त्रण सम्बन्धमा यसअघि गरेको निर्णय कार्यान्वयनको अवस्थाबारे सम्बन्धित अधिकारीसँग जवाफसमेत मागेका थिए । प्रदेश सरकारले यसअघि प्रदेशभरिमा ५० वटा भेन्टिलेटर, दुई वटा पिसिआर, आठ वटा एम्बुलेन्स र शवबाहन खरिद गर्ने निर्णय गरेको थियो ।

उच्चस्तरीय बैठकमा मुख्यमन्त्री राउतसहित आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रमुख सचिवलगायत विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखसहितको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस