कोरोना नियन्त्रण लागि पूर्वी चितवनमा ८० लाखको कोष « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना नियन्त्रण लागि पूर्वी चितवनमा ८० लाखको कोष


१६ चैत्र २०७६, आइतबार


चितवन । पूर्वी चितवनका चार नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र राहतका लागि कोष खडा गरेका छन् ।

चार नगरपालिकाका प्रमुखको उपस्थितिमा शनिबार सम्पन्न बैठकले सम्भावित प्रकोप व्यवस्थापनका लागि रु ८० लाखको कोषसमेत खडा गरेको छ । प्रत्येक नगरपालिकाले कोषमा रु २० लाख जम्मा गर्नेछन् ।

बैठकले रत्ननगर नगरपालिका प्रमुख नारायण वनको संयोजकत्वमा खैरहनी नगरप्रमुख लालमणि चौधरी, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ र राप्ती नगरपालिका प्रमुख प्रभा बराल सदस्य तथा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल सदस्यसचिव रहेको एक समिति गठन गरेको हो ।

सो समितिले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण, राहत वितरणलगायत अन्य व्यवस्थापनको काम गर्ने समितिका संयोजक वनले बताए । सोही समितिमार्फत राहत वितरण तथा स्वास्थ्य सामग्री खरिदको काम एकद्धार प्रणालीबाट गरिनेछ ।

बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोवल उच्च राख्न आवश्यक सामग्री खरिद गरी सहयोग गर्ने समेत निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे, वाग्मती भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल र कञ्चन खनाललाई सो समितिको सल्लाहकार राखिएको छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगरका अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेस रत्ननगर सभापति रुपनराज घिमिरे, चार नगरका केही वडाध्यक्षको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस