इटालीमा मृतकको संख्या १० हजार नाघ्यो, अमेरिकामा एकैदिन ५ सय बढीको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इटालीमा मृतकको संख्या १० हजार नाघ्यो, अमेरिकामा एकैदिन ५ सय बढीको मृत्यु


१६ चैत्र २०७६, आइतबार


रोम । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको सिभिल प्रोटेक्सनका अनुसार शनिबार मात्रै थप ८८९ जनाको मृत्यु भएको छ ।

आइतबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ । पछिल्लो २४ घण्टामा इटालीमा थप ५ हजार ९ सय ७४ जनामा संक्रमण देखिएको छ । इटालीमा संक्रमितको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ ।

त्यसैगरी अमेरिकामा पनि पछिल्लो २४ घण्टामा संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ५१५ जनाको मृत्यु भएको छ भने थप १९ हजार ३ सय २ जनामा संक्रमण देखिएको छ ।

आइतबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ११ पुगेको छ भने संक्रमितको सख्या एक लाख २३ हजार नाघेको छ । विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित भएको अमेरिकाले शुक्रबार मात्रै २० खर्बको राहत प्याकेज घोषणा गरेको छ ।

अमेरिकाका विभिन्न राज्यका गभर्नरले पर्याप्त मेडिकल उपकरण तथा औषधि नभएकाले स्थिति अझ भयावह बन्‍न सक्ने चेतावनी दिँदै आएका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३० हजार ८ सय ५० जनाको मृत्यु भइसकेको छ भने ६ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् । जसमध्ये करिब एक लाख ४२ हजार निको भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस