कोरोना कहर भर्सेस कर्मचारीतन्त्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना कहर भर्सेस कर्मचारीतन्त्र


प्रशासन विशेष ब्युरो

१५ चैत्र २०७६, शनिबार


अहिले विश्व नयाँ खालको महामारीबाट आक्रान्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको बुहानमा सर्वप्रथम देखा परेको कोभिड-१९ नामको नयाँ कोरोना प्रजातिको भाइरसका कारण आजको मितिसम्ममा विश्वका साढे ७ लाखभन्दा बढी मानिसहरू प्रत्यक्ष/परोक्ष रूपमा संक्रमित भइसकेका छन् भने २७ हजार भन्दा बढीले यसै महामारीको कारण ज्यान गुमाई सकेको अवस्था छ ।

नोबेल कोरोना अर्थात् कोभिड-१९ ‘भाइरस’ नाम दिइएको यस भाइरसलाई लिएर यति बेला विश्वव्यापी रूपमा विभिन्न आसंका, संशय र अन्योल उत्पन्न भइरहेको छ । विश्वव्यापीकरणका त्रिसंखु घातक आयामहरू “सिमाबिहिनता, परनिर्भरता र खुलापन” का कारण यो भाइरस यति तीव्र गतिमा फैलियो कि आज कुनै पनि देश यसको क्रन्दनबाट ढुक्कसँग बस्न सक्ने अवस्था छैन । अझ भनौँ, सारा विश्व नै त्राहिमामको अवस्थामा छ ।

मानव जातिको अस्तित्व माथि नै देखिएको यो कारुणिक चित्र सायद दोस्रो विश्वयुद्ध पछिकै बीभत्स दृश्य हो भन्ने एक प्रकारको कहर/सन्नाटा विश्वभर बढ्दो छ । सारा विश्व नै एकातिर अ/घोषित ‘लकडाउन’ को अवस्था छ भने अर्कोतिर मानवीय जिवांसाको भविष्य र अस्तित्वमाथि नै ठुलो चुनौती थपिएको मतहरू आई रहेका छन् ।

यो संकटपुर्ण घडीमा हामी सबै सचेत हुनु अहिलेको हाम्रो एक मात्र लक्ष्य/उद्देश्य हो । यही हाम्रो कर्तव्य र विवेकशीलता हो। ब्याक्ति, समाज र राज्यका सबै संयन्त्रहरू चनाखो, मर्यादित, मानवीय र विवेकशील हुनु नै यो युद्ध जित्ने एक प्रकारको “रामवाण” हो । चेतना, इतिहास र परिस्थिति यसै भन्छ ।

विश्व महासंकटकै स्वरूपमा यो भाइरस फैलिने क्रम तीव्र रूपमा चलिरहेको बेलामा यससम्बन्धी विभिन्न दृष्टिकोण पनि सार्वजनिक भैईरहेका छन् । यसै सन्दर्भमा राज्यका सबै संयन्त्र मध्ये राज्य सञ्चालनको स्थायी मियो हातमा लिएको कर्मचारीतन्त्रको भूमिका माथि पनि विभिन्न कोणबाट बिचार-विमर्श हुन थालेका छन् ।

अझ, यो बहसमा चिनी सरकारले नोकरशाहीतन्त्रको भूमिका माथि गम्भीर प्रश्न तेर्साएर थप बल पुर्‍याएको छ । फेब्रुअरी ४, २०२०, चाइनिज मूलका अमेरिकी लेखक लि यानद्वारा ‘द न्यु योर्क टाईम्स’ मा प्रकाशित लेख अनुसार बुहानमा नोकरशाहीतन्त्र कर्तव्य बोध गर्ने भन्दा कर्तव्य पन्छाउने भूमिकामा देखिन थाल्यो । अख्तियार प्राप्त उच्च पदस्थ कर्मचारीहरू जिम्मेवारी पन्छाएर रमिते बन्न थाले। फलस्वरूप: यो महामारी बाट चीन मात्र होइन, सारा विश्व नै सुरुवाती चरणमै सुरक्षित रहने अवसर बाट चुक्यो । उनी बुहान नगरका मेयरलाई उद्धृत गर्दै लेख्छन्;- “यति धेरै अधिकारीहरूले जिम्मेवारी अस्वीकार गरेका छन् कि केही अनलाइन प्रयोगकर्ताहरूले त के सम्म मजाक सम्म गरे भने के कर्मचारीहरू बक-पासिंग प्रतिस्पर्धा हेरिरहेका छन्?”

उनी थप्छन्; चिनियाँ जनताले कसरी चीनको विशाल, अपारदर्शी ब्यूरोक्रेटिक प्रणालीले काम गर्दछ वा यसले कसरी काम गर्न असफल हुन्छ भनेर विरलै झलक पाइरहेका छन् । यसका धेरै अधिकारीहरू राजनैतिक उपकरण बनेका छन्, स्वतन्त्र निर्णय लिने डरले उनीहरू आफ्नो जस/अपजसको भारी पन्छाउन चाहन्छन् र जनतासँग व्यवहार गर्दा गल्ती स्विकार्न र तिनीहरूबाट सिक्न सकिन्छ भन्ने कुरा विश्वास नै गर्दैनन् । उनले कर्मचारीहरू बढी प्रक्रियामुखी रहने र जिम्मेवारी पन्छाउने कारणले गर्दा नै यो महामारीलाई सुरुवाती चरणमै नियन्त्रणमा लिन नसकिएको बताएका छन् ।

यसै भनाइलाई बल पुग्ने गरी चिनियाँ राष्ट्रपति सी जिन पिङले एक सम्बोधनको क्रममा भनेका थिए:- ‘हामीले अनुमान गरे झैँ चीनमाथि ठुलो आक्रमण भएको छ। सबै चिनियाँ जनता एक भएर यस युद्ध विरुद्ध लड्नुपर्छ। यो हामीमाथि गरिएको एक “सैनाती हमला” हो । त्यो सैतान विदेशी उत्पत्ति हो तर आज यसलाई घरसम्म निम्तो गर्ने काम हामी आफैँले गरेको हो । हाम्रो प्रशासन संयन्त्रमा घुसपैठ भएका सैतान विरुद्ध हामीले लड्नुपर्नेछ। ‘

उनको भनाइलाई काउन्टर गर्दै पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सैतान घर भित्र आउँनसक्छ भन्दाभन्दै प्लेन चार्टर गरेर ल्याइदियो भन्ने आशयको ट्विट समेत जारी गरे । एक अर्को ट्विटमा उनले पनि सो भाइरसलाई ‘विदेशी सैतान’ को संज्ञादिदै आफ्नो कर्मचारीतन्त्रले सो बुझ्न ढिलाइ गरेको आरोप समेत लगाए ।

यसै गरी लस एन्जल्सबाट प्रकाशित हुने प्रसिद्ध म्यागेजिन रीजनको मार्च १९, २०२० मा प्रकाशित आलेखमा अमेरिकी पत्रकार पिटर सुडर्म्यान लेख्छन्;- कोभिड-१९ संयुक्त राज्य अमेरिकाको सबैभन्दा दुर्भाग्यपूर्ण/भयंकर असफलता हो । यो रुग्ण अमेरिकी नोकरशाहीतन्त्रको चरम असफलता हो र यो राष्ट्रपति ट्रम्प नेतृत्वको असफलता पनि हो । उनी थप्छन्; “यो ‘टप-डाउन’, ढिलो चलिरहेको, पुरानो नियम र अभ्यासहरू द्वारा बाध्य भएको, आपतकालमा द्रुत रूपमा अनुकूल हुन असमर्थ केन्द्रीय प्रबन्धित सरकारी ब्यूरोक्रेसीले निम्त्याएको विनाश हो । यसले अमेरिकी जीवन र जीविकाको लागि निश्चित रूपमा खर्च गर्नेछ । आगामी विश्व आकृति अझै जटिल हुनेछ, बिशेषत: अमेरिकाको लागि ।”

राष्ट्रपति ट्रम्प र उनको प्रशासनको तिखो आलोचना गर्दै उनी अगाडि भन्छन्;- ‘राष्ट्रपतिको काम भनेको समयमै निर्णय लिनु, सही प्राथमिकताहरू निर्धारण गर्नु तथा जनता र कार्यकारी शाखाका कर्मचारी दुबैलाई स्पष्ट जानकारी पुर्‍याउनु हो । यो विशेष गरी सङ्कटको क्षणमा झन् महत्त्वपूर्ण हुन्छ । जब कार्यकारी र कर्मचारी दुवै चाँडो र राम्रो निर्णय लिन सक्षम हुन्छन् तब मात्र यो सङ्कटको सामना गर्न सकिन्छ । तर, यस प्रकोपको क्षणमा पनि ट्रम्प र उनको प्रशासन झुट बोल्दैछ्न् । गलत सूचनाको जानकारी दिदैछ्न् । प्रशासन अमेरिकी जनताको होइन, राष्ट्रपति ट्रम्पको झुटको भर्याङ्ग बोक्ने अस्त्र बनेको छ ।’

यसै गरी, यो महाप्रकोपको सबैभन्दा बढी मार बोकेको युरोपेली मुलुक इटालीबारे बिबिसी मा प्रसारित एक कार्यक्रममा इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टे भन्छन् ; ‘रोम सभ्यताको महान् देश इटली १५०० वर्षपछि एक पटक फेरि आतङ्कित (स्तब्ध) भएको छ ।’ सुप्रसिद्ध राजनीतिज्ञ चर्चिलको भनाई उद्धरणमा लिँदै उनी भन्छन्:- ‘इटाली फेरि उठ्नेछ, हामी सबै मिलेर उठाउनु पर्छ । हाम्रो सम्पूर्ण राज्य संयन्त्र त्यसको लागि एकताबद्ध भएर लड्नेछ । हामीले हाम्रा गल्ती बाट सिक्नु पर्छ । पक्कै पनि हामीले सुरुवाती दिनमा केही गल्ती गरेका छौँ । हाम्रो प्र/शासन चुकेको छ । तर, अब एकजुट भएर लडौँ, यो महाविनाश बाट राष्ट्रलाई बाहिर ल्याऊँ ।’

यी माथिका घटना बाटै थाह हुन्छ कि विश्व परिदृश्यमा यति बेला कोरोना कहर कति दर्दनाक छ भनेर ! सौभाग्य नै मान्नुपर्छ; अहिलेसम्म हाम्रो देशमा यो महामारीको ‘राक्षसी अवतार’ देखिएको छैन । हुन त नेपालमा पनि ४ जना व्यक्तिमा यो भाइरसको पुष्टि भैसकेको र त्योमध्ये एक जना हाल उपचारपछि निको भई सामान्य दिनचर्यामा फर्किसकेको र अन्य ३ जनाको अवस्था सामान्य रहेको भन्ने समाचार आएको छ । तथापि, ढुक्क हुने अवस्था छैन, जनजीवन एकदमै आतङ्कित छ ।

यसै परिवेशमा विश्व स्वास्थ्य सङ्गठन लगायत विभिन्न रिसर्च सेन्टरले नेपाल पनि यो महामारी बाट उच्च जोखिमको देश भनी सतर्क हुन आह्वान गरिरहँदा हामी पनि यो बेला सचेत, चनाखो र विवेकशील बन्नै पर्छ । झन् केहिदिन यता एकातिर हाम्रो अर्को छिमेकी देश भारतमा यो रोग तीव्रताका साथ फैलिँदै जानु र अर्कोतिर विश्व स्वास्थ्य सङ्गठन लगायत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले भारतमा सङ्क्रमणको जोखिम इटाली भन्दा उच्च देखिन सक्ने र त्यसको प्रभाव समग्र सार्क क्षेत्रमै विनाशकारी हुनसक्ने बताई रहँदा हामी सतर्क, विवेकशील र सचेत भने हुनै पर्दछ ।

यसो भनिरहँदा यो सङ्कटपूर्ण घडीमा के हामी यो महामारी विरुद्ध लड्न सक्षम, सचेत र सबल छौँ ? के हामी सबैले आ-आफ्नो ठाउँबाट कर्तव्य बोध र मानवीयता देखाउन सकेका छौँ ? हाम्रा राज्य संयन्त्रहरू के-कस्तो अवस्थामा छन् ? हामी कहाँ छौँ र हाम्रो अवस्था के हो (?) जस्ता प्रश्नहरूलाई हामीले पनि गहिरो रूपमा केलाउनै पर्ने हुन्छ ।

त्यसैले; राज्यका हरेक संयन्त्रहरू; ब्याक्ती, समाज र शासन/प्रशासन एकताबद्ध, विवेकशील र मानवीय हुनुपर्ने बेला हो यो । झन् त्योमाथि राज्यको स्थायी संयन्त्रको मियोको रूपमा रहने कर्मचारीतन्त्र सबल, सतर्क र सक्षम रहनु अहिलेको एक मात्र संकटमोचक हुनसक्छ ।

हामी सबैले देखे/भोगेकै कुरो हो राज्यको अभिछिन्न उत्तराधिकारीको रूपमा रहने हाम्रो प्रशासनिक संयन्त्र आफैँमा कुपोषणयुक्त छ । अनि आफै कुपोषणयुक्त अवस्थामा रहेको हाम्रो कर्मचारीतन्त्रले यो महामारी विरुद्धको लडाइँमा ‘इमिन्युटी’को काम गर्न सक्छ भन्ने सोचाइले भोलि हाम्रो अवस्था पनि इटाली, अमेरिका, इरान, चीनको भन्दा भयावह नहोला भनेर सुरक्षितका साथ भन्न सकिने अवस्था छैन ।

नोकरशाहीतन्त्रका शास्त्रीय विकृति देखी उत्तर आधुनिक विसङ्गति सबै हाम्रा कर्मचारीतन्त्रका आधारभूत प्रतिबिम्ब रहेको सन्दर्भमा अमेरिकी राष्ट्रपति ट्रम्प देखी चिनियाँ राष्ट्रपति सी जिन पिङले समेत आफ्नो सम्पूर्ण असफलताको “शिखण्डी” कर्मचारीतन्त्रलाई नै बनाई रहेको अवस्थामा हाम्रो कर्मचारीतन्त्र यो महामारी विरुद्ध लड्न सबल र सक्षम छ भन्ने कुनै ठोस आधारहरू केहिपनि छैनन् । यो महामारी विरुद्ध आवश्यक पर्ने सामान्य प्रविधि, अत्यावश्यक सूचना र जनशक्ति समेत नभएको अवस्थामा प्रशासन एक्लैले यो कहरको भार थेग्न सक्छ भन्नु भोलि हाम्रो लागी ठुलो “अभिशाप” हुनसक्छ ।

यहाँ बुझ्नुपर्ने कुरा के छ भने अहिले नेपालको अवस्था जस्तो छ लगभग १ महिना अगाडि इटाली, स्पेन, भारत र अमेरिकाको अवस्था पनि ठिक त्यस्तै थियो । मानिसहरूलाई गम्भीर हुन विश्व स्वास्थ्य सङ्गठन लगायतका विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनले सचेत गराई रहँदा पनि आज ती देशहरूको अवस्था भयावह छ । सुरुमै देशको स्थायी संयन्त्र प्रशासन लाई सतर्क र प्रभावकारी बनाउन नसक्दा ती देशहरूले यस्तो अवस्था भोग्नुपरेको कुरा विश्वव्यापी रूपमै प्रकट भैसकेका विषय हुन् । हामीभन्दा उच्च साङ्गठनिक सिद्धान्त, प्रशासनिक मूल्य, र नैतिक आचारसंहिता हुँदाहुँदै पनि आज ती देशहरूको अवस्था भयावह छ ।

तथापि, आजको दिन यी सबै कुराहरू बिर्सनुपर्नेछ । यस्तो अवस्थामा कुनै पनि देशको सरकार वा प्रशासन एक्लैले त्यो समाजको जनआचरण, समाज, राजनीति, अर्थतन्त्र, मनोविज्ञान, सांस्कृतिक पक्ष तथा विश्व परिवेशसमेतको अवस्थाभन्दा बाहिर गएर केही पनि गर्न सक्दैन । झन् हाम्रोजस्तो रुग्णता ग्रसित कर्मचारीतन्त्रले एक्लै गर्न सक्ने अवस्था रत्तीभर पनि छैन भन्दा हुन्छ ।

तर, एउटा सत्य कुरो के हो भने अहिले पनि राज्यको सबैभन्दा सङ्गठित र विवेकशील कुनै समाज/समूह छ भने त्यो कर्मचारीतन्त्र नै हो । यो मात्रै त्यस्तो संयन्त्र हो जसले जस्तोसुकै विषम परिस्थितिमा पनि एकातिर नागरिकलाई राज्य सँग जोड्ने हैसियत/सामर्थ्य राख्दछ भने अर्कोतिर राज्य प्रदत्त लाभहरूलाई नागरिकसम्म पुर्‍याउने कार्य गर्दछ । जतिसुकै गाली गरे पनि मैदानमा देखिने अन्तिम जनशक्ति भनेकै कर्मचारीतन्त्र मात्र हो । त्यसैले; राज्यले बेलैमा कर्मचारीतन्त्रलाई निर्देशित गर्न सकेमा र हामी सबैले आ-आफ्नो क्षेत्रबाट सही सूचनाको प्रवाह गर्न सकिएमा मात्र यो ”शैतानी कहर’ बाट सुरक्षित रहन सकिएला कि ?

बरु आउनुहोस्, यो विषयमा बिचार विमर्श गरौँ र यो ‘सैतानी महाकहर’ विरुद्धको लडाइँमा समाजका सबै वर्ग, समुदाय, सरकार, नागरिक समाज, पत्रकार, कलाकार, व्यापारिक वर्ग, प्राज्ञिक वर्गहरूले सहयोग गरौँ । अत्यावश्यक अवस्थामा बाहेक अन्य अवस्थामा घरबाट बाहिर ननिस्कौँ । दुरी कायम राखौँ, ‘सेल्फ क्वारेन्टाइन’ मा बसौँ । साबुन पानीले राम्रोसँग हात धोऔँ र सही सूचनाको मात्र सम्प्रेषण गरौँ । मास्कको प्रयोग गरौँ । भिटामिन ‘सी’ युक्त खानेकुराहरू जसले रोग प्रति निरोधात्मक क्षमता बढाउछ्न् तिनीहरूको सेवन गरौँ । घरमै बसौँ र यो प्रकोपलाई निम्तिन नदिऔँ। आफू पनि सुरक्षित रहौँ र अरूलाई पनि सुरक्षित हुन सहयोग गरौँ |

Tags :
प्रतिक्रिया दिनुहोस