दैनिक तीन घण्टा तरकारी हटिया सञ्चालन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दैनिक तीन घण्टा तरकारी हटिया सञ्चालन


१५ चैत्र २०७६, शनिबार


राजविराज । लकडाउनका समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दैछ । नगरपालिकाको शुक्रबारको बैठकले तीन बुँँदे निर्णय गर्दै प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म खेलमैदान राजरङ्गशालामा सामाजिक दूरी कायम गरी तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरेको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए ।

गुद्री तरकारी हटियामा जग्गा छोटो भएर भीडभाड बाक्लो हुन थालेपछि यस्तो तरिकाले आम जनसमुदायमा तरकारी किनमेलका लागि सहजता हुने उनले विश्वास व्यक्त गरे । राजरङ्गशालामा तरकारी व्यापारीबीच तीन मिटर र ग्राहकबीच दुई मिटरको दूरी कायम गरी घेराचिह्नभित्र बसेर तरकारी खरिद बिक्री गर्न पाइने व्यवस्था मिलाइएको राजविराज नगरपालिकाले जनाएको छ ।

विश्वभरि फेलिएको कोरोना भाइरसलाई रोकथाम गर्न नेपाल सरकारले अह्वान गरेको लकडाउन अवधिभर दैनिक उपभोग्य वस्तु खाद्यान्नका लागि घरघरमा पुर्‍याउने व्यवस्था गर्ने र अनलाइनमार्फत खाद्यान्न सामग्री घरघरमा पु¥याउने प्रयाससमेत भइरहेको व्यापारीले बताएका छन् ।

नगरपालिकाले शनिबार बिहान १० बजेदेखि कोरोना भाइरस र अन्य किटाणुविरूद्धको किटनाशक औषधि (डिसइन्फेक्टान्ट) औषधि नियमितरूपमा छर्ने निर्णय पनि गरेको छ ।

अहिले सञ्चालनमा रहेको तरकारी हटिया निकै साँघुरो रहेकाले यसलाई मध्यनजर गरी राजरङ्गशालामा तरकारी हटिया सञ्चालन गर्ने निर्णय गरिएको जनाइएको छ । नगरपालिकाको १६ वटै वडामा फराकिलो स्थानमा तरकारी हटिया सञ्चालन गर्न स्थानको खोजी गर्न वडाध्यक्षलाई समेत निर्देशन दिएको नगरप्रमुख यादवले जानकारी दिए ।

वडा नं ८ स्थित पुलचोकमा पाँच, सिन्हाग्यारेज नजिक दुई र रुपनी रोडस्थित सफटेक कलेज नजिक तीन तरकारी पसल व्यवस्थितरूपले सञ्चालनका लागि तयार भएको राजविराज नगरपालिका–८ का अध्यक्ष जयनारायण मण्डलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस