गोदावरीमा ५१ लाखको कोष खडा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोदावरीमा ५१ लाखको कोष खडा


प्रशासन संवाददाता

१३ चैत्र २०७६, बिहिबार


ललितपुर । गोदावरी नगरपालिकाले रु ५१ लाखको आकस्मिक कोष खडा गरेको छ । कोभिड–१९को सङ्क्रमणबाट नगरवासीको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राखी यसको न्यूनीकरणका लागि उक्त कोष खडा गरिएको हो ।

कोषमा सहयोग गर्न चाहने इच्छुक सङ्घसंस्था, व्यवसायी, बुद्धीजिवी, सहकारीलगायतका महानुभावहरुलाई नेपाल बैंक लिमिटेड, चापागाउँ शाखामा रहेको ०७८००१००६२८०२३०००००१ नं.को खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

छ स्थानबाट एम्बुलेन्स सेवा शुरु गरिने
नगरपालिकाले नगर क्षेत्रका छ स्थानबाट एम्बुलेन्स सेवा शुरु गर्ने भएको छ । कोही कसैलाई कोराना भाइरसको सङ्क्रमण वा आशङ्का भई तत्काल स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुपरेमा एम्बुलेन्स सेवाका लागि उक्त निर्णय गरिएको हो ।

नगरपालिकाले वडा नं ३ गोदावरी, ५ लेले, ६ आनन्दवन अस्पताल, ८ डुकुछाप, ११ बज्रबाराही र १२ ठेचोबाट सो सेवा सञ्चालन गरिने जनाएको छ ।

नगरपालिकाका अनुसार यदि यी एम्बुलेन्स सेवा व्यस्त रहेमा नगरपालिका प्रमुख गजेन्द्र महर्जन र उपपमुख मुना अधिकारीद्वारा प्रयोग गर्दै आएका सवारी साधनलाई समेत एम्बुलेन्सको रुपमा प्रयोग गर्न सक्नेछ ।

चार हजार ४८० बोरा चामल मौज्दात
नगरपालिकाका प्रमुख महर्जनसहितको टोलीले बजार अनुगमन गर्दा प्याङ्गाउँ–चापागाउँ–ठेचोमा अवस्थित खाद्यान्न स्टोरहरुमा चार हजार ४८० बोरा चामल आजसम्म मौज्दात रहेको बताएका छन् ।

मुलुकमा कोभिड–१९ को त्रास बढेसँगै यी क्षेत्रमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना हुन नदिने उद्देश्यका साथ गरिएको अनुगमनका क्रममा सो मौज्दात रहेको पाइएको छ । अनुगमनको क्रममा ३२५ बोरा दाल, ३२४ बोरा चिनी, ७४५ बाकस तेल, १४२ बोरा नुन, केही बोरा गेडाडुडी र मैदाको पिठो पनि मौज्दात रहेको नगरपालिकाले जनाएको छ ।

यसैगरी गोदावरीले यी स्टोरका अलवा अन्य किराना स्टोरमा पनि केही समयका लागि आवश्यक खाद्यन्न रहेको जानकारी गराएको छ । अनुगमन टोलीमा प्रमुख महर्जनसहित वडाध्यक्ष जगतबहादुर महर्जन, निलबहादुर देशार, दर्शनकुमार विष्ट, महानगरीय प्रहरी परिसर चापागाउँका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णराज ओझा र गोदावरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जगनाथ महर्जन रहेका थिए ।

कोरोना प्रतिकार्य टोली गठन
नगरपालिकाले महानगरीय प्रहरी वृत चापागाउँका १५ प्रहरी सम्मिलित कोराना प्रतिकार्य टोली गठन गरी तत्काल परिचालन गरिने व्यवस्था मिलाएको छ । यी प्रहरी टोलीले कोभिड–१९ विरुद्धका विभिन्न काम गर्नेछन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस