निःशुल्क मास्क र औषधि वितरण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

निःशुल्क मास्क र औषधि वितरण


प्रशासन संवाददाता

१३ चैत्र २०७६, बिहिबार


मेलम्ची । कोरोना भाइरसबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकाभर निःशुल्क मास्क वितरण शुरु गरेको छ । पहिलो चरणमा बुधबार नगरवासीलाई रोगको सङ्क्रमणबाट जोगिन सहज बनाउने उद्देश्यले १२ हजार २०० निःशुल्क मास्क वितरण गरेको हो ।

वडा नं ८ मा एक हजार, वडा नं ५ मा दुई हजार र ११ स्वास्थ्य संस्थामा २०० का दरले निःशुल्क मास्क वितरण गरेको नगरपालिकाले जनाएको छ । बजारमा मास्कको अभाव बढ्दै गएपछि नगरपालिकाले आफ्ना नागरिकलाई मास्क खरिद गरेर वितरण थालेको हो । ‘देशमा कोरोना भाइरसको जोखिमपूर्ण अवस्था छ, यसबाट बच्न पूर्वतयारीका लागि सबै नगरवासीलाई मास्क वितरण गरेका हौँ’, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताए ।

मास्कसँगै नगरभित्रका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिसमेत वितरण गरिएको छ । नगर स्वास्थ्य शाखाको समन्वयमा औषधि वितरण गरिएको संयोजक शिव पुरीले बताए । त्यस्तै नगरपालिकाले आफ्ना नागरिकलाई भीडभाडमा नजान अपिल गर्दै बाहिरबाट भित्रिने नागरिकलाई पनि अनिवार्य मास्क प्रयोग गर्नसमेत अनुरोध गरेको छ । बजारमा मास्कको सङ्कट भएका बेला नगरले वितरण गरेको मास्क अभियानले राहत प्रदान गरेको चौतारा साँगाचोकगढी नगरपालिका–५ का वडाध्यक्ष नरमान श्रेष्ठले बताए।

नगरले आज पनि मास्क वितरण अभियानलाई निरन्तरता दिने जनाएको छ । वडा नं ५ र सो वडाभित्रका स्वास्थ्य संस्थामा मास्क र औषधि वितरण गरिने नगरपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस