ह्वाइट हाउसमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखियो, अमेरिकी प्रथम महिलामा देखिएन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ह्वाइट हाउसमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखियो, अमेरिकी प्रथम महिलामा देखिएन


११ चैत्र २०७६, मंगलबार


वासिङ्टन । अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ह्वाइट हाउसमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले मेलानीयाको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले पनि केही दिनअघि आफूलाई कोरोना संक्रमण भए नभएको बारेमा परीक्षण गराउनु भएको थियो । मेलानीयाको स्वास्थ्य परीक्षणका बारेमा यसअघि जानकारी नदिनु भएका राष्ट्रपति ट्रम्प र मेलानीयाको एकै दिन स्वास्थ्य परीक्षण गरिएको थियो ।

राष्ट्रपति ट्रम्पले गत मार्च १३ तारिखका दिन स्वास्थ्य परीक्षण गराउनु भएको थियो । साथै, ट्रम्पकी छोरी इभान्का ट्रम्प, उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नी कारेन पेन्सले पनि कोरोना संक्रमण भए नभएको परीक्षण गरेका थिए, तर रिपोर्टमा कसैलाई पनि कोरोना संक्रमण भएको देखिएको थिएन ।

इभान्का ट्रम्पले भेटघाट गरेका एक जना अस्ट्रेलियाली अधिकारीलाई कोरोना संक्रमण देखिएपछि ट्रम्पले पनि आफ्नो स्वास्थ्य परीक्षण गरेका थिए।

पछिल्ला दिनहरुमा अमेरिकामा ठूलो संख्यामा मानिसलाई कोरोनाको संक्रमण देखिएको छ । साथै समाजका प्रतिष्ठित व्यक्तिहरु, कलाकार, खेलाडीहरु, सांसदहरु, ह्वाइट हाउसमा कार्यरत कर्मचारी समेतका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । अमेरिकामा हालसम्म ४६ हजारभन्दा बढी व्यक्तिलाई कोरोनाको संक्रमण देखिनुका साथै ६०० भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस