गौरी फन्टा नाकामा रोकिएका नेपाली प्रदर्शनमा उत्रिए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गौरी फन्टा नाकामा रोकिएका नेपाली प्रदर्शनमा उत्रिए


११ चैत्र २०७६, मंगलबार


कैलाली । कैलालीको गौरीफन्टा नाकामा रोकिएका नेपाली सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका छन् । लकडाउन घोषणापछि नाका बन्द हुँदा नाकामै रोकिएका नेपाली सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

भारतबाट आएका नेपाली नेपाल प्रवेश गर्न खोज्दा नाकामा तनाव सिर्जना भएको छ । सङ्कटको बेला पनि आफ्नो देश फर्किन नपाएको भन्दै नाकामै अलपत्र परेका नेपालीहरू आक्रोशित बनेका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले सीमा क्षेत्रमा पुगेका नेपालीहरूलाई के गर्ने भनी गृहको निर्देशन कुरीरहेको बताएका छन् ।

सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाको सङ्क्रमणबाट जोगिन एक हप्ताका लागि देशभर ‘लक डाउन’ गरेको छ । यस्तै यातायात, पनि पूर्ण रूपले बन्द गरेको छ । हवाई सेवा पनि आकस्मिक बाहेकका सबै बन्द गरेको छ । गृहले लकडाउन पूर्णरुपमा कार्यान्वयन गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

भारतमा कोरोनाको सङ्क्रमण फैलिएपछि रोजगारीका लागि भारत गएका नेपाली नेपाल फर्किन लागेका थिए । भारतबाट पनि मानिसहरू अत्यधिक मात्रामा नेपाल भित्रिन थालेपछि नेपाल कोरोनाको उच्च जोखिममा परेको छ ।

हालसम्म नेपालमा विदेशबाट आएका दुई जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । तर एक जना उपचार पछि निको भएर घर फर्किसकेका छन् भने अर्का एक जनाको उपचार जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस