कर्णाली ‘हेल्थ डेस्क’मा ४२ हजारको परीक्षण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कर्णाली ‘हेल्थ डेस्क’मा ४२ हजारको परीक्षण


प्रशासन संवाददाता

७ चैत्र २०७६, शुक्रबार


वीरेन्द्रनगर । नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले छ स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ । कर्णालीका १० वटै जिल्लाका विभिन्न नाकामा हेल्थ डेस्क स्थापना भएको स्वास्थ्य निर्देनालयले जनाएको छ । अन्य क्षेत्रमा पनि हेल्थ डेस्क स्थापनाको काम भइरहेको बताइएको छ ।

अहिलेसम्म हेल्थ डेस्कमा ४२ हजार ३०० को स्वास्थ्य परीक्षण गरिएको निर्देशनालयका सूचना अधिकारी लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार परीक्षण भएकामध्ये ८० मा १००.४ डिग्री ज्वरो आएको पाइएको छ । ज्वरो देखिएकालाई घरमा सर्तक भएर बस्न आग्रह गरिएको उनले बताए । उनीहरुलाई मौसमी रुघाखोकी र ज्वरोबाहेक अन्य समस्या नदेखिएको उनले बताए ।

भट्टराईका अनुसार सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर प्रदेश सरकार र स्थानीय तहले प्रवेश गर्ने नाकामा हेल्थ डेस्क स्थापनाको कामलाई तीव्रता दिइएको हो । त्यसैगरी सङ्क्रमणबाट जोगिन प्रचारप्रसारका कामलाई पनि तीव्रता दिइएको छ । प्रदेश सरकारले सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई, पञ्चपुरीको जामुलगायतका स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । यसैगरी सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्थानीय तहले पनि हेल्थ डेस्क स्थापना गरेका छन् ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस