मुक्त हलियालाई आवास बनाउन जग्गा खोजी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुक्त हलियालाई आवास बनाउन जग्गा खोजी


प्रशासन संवाददाता

७ चैत्र २०७६, शुक्रबार


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले पुनःस्थापना हुन बाँकी रहेका मुक्त हलियालाई आवास बनाइदिन काम अगाडि बढाएको छ ।

करिव २७ परिवारको पुनःस्थापन हुन बाँँकी रहेको जनाइएको छ । यसका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले रु १ करोड ४१ लाख रकम पठाएपछि पुनःस्थापनको काम अगाडि बढाइएको नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिए ।

उनले अहिले आवास निर्माण गर्न जग्गा खोजीको काम भइरहेको जनाइएको छ । उनले भने, ‘असार मसान्तभित्रै आवास निर्माणकार्य सम्पन्न गर्ने गरी काम अगाडि बढाएका छौँ ।’ आवास निर्माणका लागि अपुग रकमका लागि दातृ निकाय र नगरपालिकाले व्यहोर्ने नगरप्रमुख ऐरले बताए । ‘निर्माण हुने आवास आधुनिक शैलीका हुने र सुविधासम्पन्न आवस निर्माण गर्ने हाम्रो लक्ष्य छ’, उनले भने ।

गत आवमा मुक्त हलिया पुनःस्थापनका लागि आएको रकम आर्थिक वर्ष समाप्त हुनैलाग्दा प्राप्त हुँदा बजेट फिर्ता भएको थियो । नगरपालिकामा लगतमा समावेश भएका ३८२ परिवार मुक्त हलिया रहेका छन् । ती मध्ये २७ परिवारको पुनःस्थापन हुन बाँकी छ ।

लगतमा छुट भएका मुक्त हलियाको सङ्ख्या नगरपालिकामा १५२ छ । छुट मुक्त हलियाको समेत पुनःस्थापनका लागि काम अगाडि बढाइनुपर्ने राष्ट्रि हलिया मुक्त समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले माग गरे । कञ्चनपुरमा परिचयपत्र पाएका एक हजार ९९१ मुक्त हलिया परिवारमध्ये एक हजार ६८५ परिवारको पुनःस्थापन गरिएको छ ।

पुनःस्थापनमा परेकामध्ये ६०० परिवारले घर निर्माणको दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् । लगतमा समावेश भई पुनःस्थापनमा परेका सम्पर्कमा नआएका ५०० को लगत कट्टा गरिएको छ । उनका अनुसार जिल्लाभरिमा दुई हजार ८०० परिवार मुक्त हलिया लगतमा पर्नबाट छुटेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस