कोरोना रोकथाममा अमेरिकाद्वारा नेपाललाई २१ करोड सहयोग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कोरोना रोकथाममा अमेरिकाद्वारा नेपाललाई २१ करोड सहयोग


६ चैत्र २०७६, बिहिबार


काठमाडौँ । अमेरिकाले कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारलाई करिब २१ करोड रूपैयाँ सहयोग गरेको छ ।

कोरोना भाइरस सम्बन्धी तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन उक्त रकम सहयोग गर्ने घोषणा गरिएको नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘यो रकम अमेरिकी अन्तर्राष्‍ट्रिय विकास नियोग(यूएसएआईडी) को संक्रमक सरुवा रोगविरुद्ध आपतकालीन सञ्‍चित कोषको एक हिस्सा हो,’ विज्ञप्तीमा भनिएको छ। दूतावासका अनुसार कूल रकमको करिब १३ करोड रुपैयाँ कोरोना रोकथाम बारे समुदायहरूलाई शिक्षित बनाउन र उक्त भाइरससम्बन्धी गलत जानकारी विरुद्ध लड्‍न प्रयोग गरिने छ।

‘यो रकम २०७६ फागुन २३ गते अमेरिकी सरकारद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएका व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) को खेपका अतिरिक्त हो,’ विज्ञप्तीमा उल्लेख छ।

यसअघि फागुन २३ मा अमेरिकी सरकारले कोरोना भाइरस(कोभिड–१९) संक्रमणलाई रोक्न सरकारलाई अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) हस्तान्तरण गरेको थियो।

अमेरिकाले नेपाललाई हस्तान्तरण गरिएका उपकरणमा मास्क, चेहरा कवच, जुत्ता ढाक्ने खोल, सर्जिकल टोपी, ट्राउजर तथा ट्युनिक र थर्मोल्यास थमोमिटर रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस