चौध वर्षपछि फल्यो गहुँ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चौध वर्षपछि फल्यो गहुँ


प्रशासन संवाददाता

२ चैत्र २०७६, आइतबार


परशुरामधाम । बाढीले बगाएको १४ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिकाको बगरमा खेतीपाती गर्न थालिएको छ । विसं २०६४ को बाढीले ३६४ परिवारको हजारौँ रोपनी जमिन छिनभरमै बगर बनाएको थियो । खोलामा तटबन्धको काम शुरु भएपछि बाढीले विस्थापित स्थानीयले बगरमा खेतीपाती गर्न शुरु गरेका छन् ।

नगरपालिकाकोे सिमलखेतमा विस्थापित स्थानीयवासी अहिले बगरमा आ–आफ्नो जमिन खोज्दै खेतीपाती गर्न थालेका छन् । पन्तुरा खोलामा तटबन्ध निर्माण भएपछि वडा नं ६ सिमलखेतका स्थानीय जङ्गल छोडी बगरमा आफ्नो जमिन खोज्दै गहुँखेतीसमेत गरेका छन् ।

पन्तुरा खोलाको बाढीले २०६४ सालमा घर जमिन बगाएपछि सिमलखेतका यी परिवार विस्थापित भई जङ्गल पसेका थिए । तटबन्ध निमार्णको काम शुरु भएपछि यसवर्ष विस्थापित भएकाहरु जङ्गलबाट बगरमा फर्कँदै खेतीपाती गर्न थालेका छन् । बाढीले बगाएपछि पहिलो पटक बगरमा जमिन सम्याउँदै ढुङ्गा पन्छाई मलपर्सो गरी स्थानीयवासीले गहुँखेती गरेका थिए ।

चौध वर्षपछि आफ्नो बारीमा गहुँ फलेको स्थानीय बजिर साउदले बताए । ‘सरकाले तटबन्धका लागि बजेट दियो, तटबन्ध लगाई सकेपछि बगरलाई हामीले खेत बनायौैँ’, उनले भने, ‘ढुङ्गामुडा फाल्यौँ, अहिले खेत बनाएपछि गहुँ फलेको छ, अहिले घर टहरा पनि बनाउँदै बगरमा बस्दै आएका छौँ ।’ तटबन्ध पछाडि पनि बोटविरुवा रोपी वृक्षरोपण गर्न पाए राहत हुने उनले बताए ।

सरकारले गुरुयोजना सञ्चालन गरी तटबन्धको काम भएपछि आफूहरुले खेतीपाती गर्न पाएको स्थानीय चन्द्रबहादुर बुढाले बताए । बाढीले घर खेत बगाएपछि जङ्गलमा निमुखा भई बसेको स्थानीय केशव थापाले दुखेसो पोखे । दुई वर्षयता बगरका ढुङ्गामुडा पन्छाई खेतीपाती, पशुपक्षी पालनसँगै घर टहरा पनि बनाउन स्थानीय जङ्गल छोडी आउने गरेको उनले बताए । चौध वर्षपछि आफ्नो जमिनमा पाइला टेकी खेतीपाती गर्न पाउँदा खुशी लागेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस