सिमकोट विमानस्थलको सुरक्षा फितलो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सिमकोट विमानस्थलको सुरक्षा फितलो


२८ फाल्गुन २०७६, बुधबार


सिमकोट । यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा सुरक्षा व्यवस्था फितलो बनेको छ । नेपाल खाद्य संस्थानको चामल र व्यापारीको जडीबुटी जिल्ला बाहिर ओसारिँदा विमानस्थलमा सबैको पहुँच सजिलै पुग्ने गरेको छ । अति संवेदनशील मानिने विमानस्थलको निषेधित क्षेत्रमा सामान्य नागरिक पनि सहजै पहुँचले विमानस्थलभित्र भरिभराउ हुने गरेको छ ।

सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन्, तर यतिबेला व्यापारीको ओसारपसार गर्ने काम चलिरहेको हुनाले सिमकोट विमानस्थलको संवदेशीलताको ख्यालै नगरी बिनाकामका व्यक्तिले पनि निषेधित क्षेत्रमा प्रवेश गर्ने गरेका छन् । वर्गीकरण गरिएका क्षेत्रमा सम्बन्धित व्यक्तिलाई मात्र पहुँच हुने गरी विमानस्थल कार्यालयले अनुमतिपत्र प्रदान गर्ने गरे पनि नेपालगञ्ज, सुर्खेतबाट सामान र आफन्त आएका भन्दै विमानस्थल पुग्ने गरेका छन् ।

विमानस्थल प्रवेशका लागि ढोकामा रहेका सुरक्षा निकायलाई अन्य बाहना बनाएर सजिलै जो–कोही विमानस्थलमा पुग्ने गरेका छन् । विमानस्थलको निर्माण र खाद्यान्न ओसार्न भरिया महिला जाने भएकाले विमानस्थलमा भीड बढी देखिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताए । विमानस्थलमा गाईवस्तु पनि देखिने गरेको र अब यो सबैको व्यवस्था चाँडै गरिने प्रजिअ भट्टराईले बताए ।

यसले गर्दा विमानस्थलमा यात्रु र अन्य नागरिक छुटाउन मुस्किल हुने गरेको छ । सिमकोट विमानस्थलको सुरक्षालाई अबका दिनमा कडाइ गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ ।

यस्तै सिमकोट विमानस्थल फोहर बन्दै गएको छ । विमानस्थलको खाली रहेको सबै क्षेत्रमा व्यापारीले जडीबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने भन्दै विमानस्थलमा थुपारिरहेका छन् । घोडा, खच्चडसमेत विमानस्थलभित्र सजिलै प्रवेश गर्ने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस