सभामुख र भारतीय राजदूतबीच शिष्टाचार भेट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सभामुख र भारतीय राजदूतबीच शिष्टाचार भेट


२७ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७३ वर्ष पूरा भएको स्मरण गर्दै दुई देशबीच सरकार, संसद् र जनस्तरसम्म सम्बन्ध रहेको बताएका थिए ।

नेपालमा २०७२ साल वैशाखमा विनाशकारी भूकम्पपछि उद्धार, राहत एवं पुनःनिर्माणमा भारतले गरेको सहयोगका लागि धन्यवाद दिँदै उनले दुई देशबीच पछिल्लो समय दूरगामी महत्वका सम्झौता भएकामा खुशी व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । साथै सभामुख सापकोटाले दुबै देशमा बलियो र स्थायी सरकार रहेकाले सम्बन्ध थप विस्तारका लागि विरलै प्राप्त हुने अवसर रहेको उल्लेख गरेका थिए ।

सो अवसरमा राजदूत क्वात्राले सापकोटालाई सभामुखमा निर्वाचित भएकामा बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै दुई देशबीच वृहत र गहिरो सम्बन्ध रहेको तथा आगामी दिनमा यो सम्बन्ध अझ विस्तार हुँदै जाने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस