नमुना मालपोत कार्यालय कलङ्कीको सेवा प्रवाह : एक अध्ययन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नमुना मालपोत कार्यालय कलङ्कीको सेवा प्रवाह : एक अध्ययन


२७ फाल्गुन २०७६, मंगलबार


विषय प्रवेशः
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मिति २०७६ साल माघ २० गते देखि सञ्चालन भएको “प्रभावकारी सेवा प्रवाहका लागि कार्यालय व्यवस्थापन” विषयक सेवाकालीन प्रशिक्षणका क्रममा पहिलो समूहका सहभागी प्रशिक्षार्थीहरूबाट “नमुना मालपोत कार्यालय”, कलङ्कीको स्थालग अध्ययन गरी सेवा प्रवाहको प्रभावकारीताको अध्ययन अवलोकन गरी प्रतिवेदन तयार गरिएको थियो । उक्त प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गर्न सान्दर्भिक हुन सक्ने भएको हुँदा यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

मुलुकमा पटक पटकको राजनैतिक परिवर्तन पश्चात् जनअपेक्षा अनुरूप सेवा संचालका लागि सुधारको आवश्यकता महसुस गरी भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारलाई अझ जनमैत्री एवं सरलीकृत सेवा प्रवाहलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन भौतिक क्षमता अभिवृद्धि एवं व्यापक रूपमा सुधार गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत सुदृढीकरण केन्द्रीय कोषबाट रु ३१ लाख ५० हजार विनियोजन गरी मालपोत कार्यालय, कलङ्कीलाई नमुना कार्यालयमा रूपान्तरण गरी मिति २०७६ साल श्रावण ४ गते नमुना कार्यालय सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओली ज्यूबाट तामझामका साथ “नमुना कार्यालय” घोषणा गरिएको थियो ।

सुशासन कायम गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउने निश्चित उद्देश्यले सरकारले अत्यन्त महत्त्व र प्राथमिकता दिएर मालपोत कार्यालय, कलङ्कीको भौतिक पूर्वाधार व्यवस्थापन, जग्गा प्रशासनमा प्रणालीगत सुधार, नविनताम आधुनिक सूचना प्रविधि प्रणालीको प्रयोग र संलग्न कर्मचारीहरूको आचरण तथा व्यवहारमा सुधारले सेवा प्रवाहमा के कस्तो प्रभाव देखिएको छ ? सो को परीक्षण हुनु आवश्यक भएको अवस्थामा यो अध्ययन अध्ययन सान्दर्भिक नै देखिन्छ ।

अध्ययनका सीमाहरुः
मालपोत कार्यालय, कलङ्कीको सेवा प्रवाहको स्तर र अवस्थाको अध्ययन गर्दा केही निम्न सीमाहरूको अधीनमा रहेर गरिएको हुँदा अध्ययनबाट सत प्रतिशत तथ्यहरू सही ढङ्गले प्राप्त भएका छन् भन्ने अवस्था नरहेता पनि केही हदसम्म यो प्रतिवेदनले औँल्याएका विषय बस्तु तथ्यमा आधारित नै रहेको छ ।
• यो अध्ययन प्रत्यक्षरुपले अवलोकनमा आधारित छ ।
• कार्यालयका प्रमुखले प्रस्तुत गरेका तथ्यमा आधारित छ ।
• सेवाग्राहीले सेवा लिँदाको अनुभव र कर्मचारीहरूको विचारमा आधारित छ ।
• नमुना कार्यालयको व्यवस्थापन परीक्षण निर्धारित सूचकका आधारमा अध्ययन टोलीका सम्पूर्ण सदस्यहरूले दिएको औसत अङ्कमा आधारित छ ।

कार्यालयको सेवा प्रवाह अध्ययन विश्लेषण
मालपोत कार्यालय, कलङ्कीको सेवा प्रवाहको स्तर र अवस्था मापन गर्न निम्न ६ वटा सूचक निर्धारण गरी छलफल, सोधपुछ र अवलोकन विधिको प्रयोग गरिएको थियो ।नमुना कार्यालय सञ्चालनका लागि प्राथमिक रणका आधारमा प्रत्येक सूचकको भार कायम गरिएको र प्रत्येक सूचक अन्तर्गत उप सूचकका लागि निम्नानुसार पूर्णाङ्कको आधारमा परीक्षण गरी स्तरीकरण (Grading) गरिएको छ ।

सूचक मूल्याङ्कन तालिका

नोटः अनुसूची बमोजिम आएको प्राप्ताङ्क प्रतिशतलाई सूचक भरले गणना गरी प्रतिशत निकाल्ने ।

• सर्वोत्कृष्ट (A+) ९० – १००% अंक
• उत्कृष्ट (A) ८० – ८९% अंक
• राम्रो (B+) ७० – ७९% अंक
• मध्यम (B) ५० – ६९% अंक
• कमजोर (C) ३० – ४९% अंक

कार्यालय सञ्चालनका सबल पक्षहरुः
• कम्प्युटर उपकरहरुको समुचित प्रयोग, टोकन मिसनबाट पालो प्रणालीको व्यवस्था, सोधपुछ तथा नागरिक सहयोगी कक्षबाट सेवाग्राहीलाई सहजीकरण, विस्तारित बैक काउन्टरबाट राजश्व सङ्कलन जस्ता व्यवस्थाका साथ सेवा प्रवाहको अवस्थाका लागि ६०% अङ्क प्राप्त गरेको देखिएको हुँदा सेवा प्रवाह सन्तोषजनक नै देखियो ।
• कार्यालयको भव्य भवनको रंगरोगन तथा मर्मत सम्भारको अवस्था, आधुनिक खुल्ला एक द्वार काउन्टरको निर्माण, सुविधायुक्त सेवाग्राही प्रतीक्षालयको व्यवस्था, लैगिक तथा अपाङ्ग मैत्री शौचालय, सेवाग्राहीका लागि तातो चिसो खानेपानीको व्यवस्था, मोठ रोक्काका स्रेस्ता तथा पुराना लिखत तथा तामेलीको सुरक्षित व्यवस्थापनका लागि ८८% अङ्क प्राप्त गरेको देखिएको हुँदा कार्यालयको भौतिक संरचनाको अवस्था र स्तर उत्कृष्ट रहेको पाइयो ।
• जग्गाको अनलाइन कारोबारका लागि भू-अभिलेख प्रणाली, अनलाइन लिखत निवेदन पेस गर्ने भू-सेवा केन्द्रको प्रणाली, सी.सी.टि.भि. प्रणाली, पालोप्रणाली, डिजिटल नोटिस बोर्ड, विद्युत् र इन्टरनेट प्रणाली आदिका लागि ८२% अङ्क प्राप्त गरेको देखिएको हुँदा सूचना प्रविधि र प्रणालीको अनुसरणको अवस्था उत्कृष्ट रहेको पाइयो ।
• सूचना प्रविधमैत्री जनशक्ति, कर्मचारीको जिम्मेवारी र कार्य विभाजन, अधिकार प्रत्यायोजन, निर्णय प्रक्रियामा सामूहिक सहभागिता, समस्या निराकरणमा कर्मचारीको टिमवर्क, कर्मचारीको इमान्दारिता र मनोबलकी स्थिति आदिका लागि ९०% अङ्क प्राप्त गरेको देखिएको हुँदा कर्मचारी व्यवस्थापनको स्तर सर्वोत्कृष्ट पाइयो ।
• कार्यालयमा हुने नियमित बैठक, अनधिकृत व्यक्तिको मोठश्रेस्तामा नियन्त्रण, खरिद गरिएका मालसामानको गुणस्तर र भण्डारणको स्थिति, प्रयोग भएका लिखत मिसिलको डिजिटल स्यानिङ, कार्यालयको वेबसाइट अपडेटको अवस्था, कार्यालयको खर्च र प्रगति प्रतिवेदन सार्वजनिक गरेको अवस्था, बेरुजु फर्छौटको स्थिति आदि लागि ८० अङ्क प्राप्त गरेको देखिएको हुँदा कार्यालयको आन्तरिक नियन्त्रणको अवस्था उत्कृष्ट रहेको पाइयो ।अव
• कार्यालयको नियमित बजेट नभएको अवस्थामा कीर्तिपुर नगरपालिकासँग पहल र समन्वय गरी कार्यालय भवन मर्मत सम्भार र रंगरोगन गर्न बजेट व्यवस्था गरेको अवस्थाका लागि थप ६०% अङ्क प्राप्त गरेको देखिएको हुँदा नवीनतम सृजनशीलताको प्रयोगको अवस्था सन्तोषजनक पाइयो ।
• समग्रमा अनुसूचीहरूको औसत भारको विश्लेषणको आधारमा ७३.८% प्राप्त भएको हुँदा नमुना मालपोत कार्यालयको सेवा प्रवाह स्तर “राम्रो (B+)” रहेको देखियो ।

कार्यालय सञ्चालनका दुर्बल पक्षहरुः
• राखिएको नागरिक बडापत्र प्रस्ट बुझिने राखेको देखिएन ।
• सेवा प्रवाहका लागि जानकारीमूलक सूचना प्रचार प्रसारको स्थिति कमजोर देखियो ।
• कार्यालयको भित्तामा ल्याप्चे पुछेको देखिनुका साथै शौचालयहरू पनि सन्तोषजनक सफा देखिएन ।
• कार्यालयको हाता भित्र केही गमलामा फूलहरू राखिएको भए पनि हेरचाह गरेको देखिएन ।
• भू-अभिलेख अनलाइन प्रणाली, भू-सेवा प्रणालीको अनुसरण शत प्रतिशत गरेको देखिएन ।
• जडान गरिएको इन्टरकम टेलिफोन प्रणाली भि.आर.एस. जडान भएको भए पनि टेलिफोनबाट सूचना तथा जानकारी सम्प्रेषण गरेको देखिएन ।
• कर्मचारीहरू किर्ते जालसाजी कारोबार हुने हो की भन्ने मनोविज्ञानका कारण डराएको देखियो ।
• जग्गा प्रशासनको कारोबारमा धेरै जोखिम महसुस गरी कर्मचारीहरू मालपोत कार्यालय छोडेर अन्य कार्यालयमा जाने प्रवृत्तिले पदपूर्ति हुन नसकेको देखियो ।

सिफारिस तथा सुझावहरुः
• कार्यालयको सेवा प्रवाहमा थप सुधार गर्न सेवाग्राहीहरूलाई आफ्नो काम आफै गर्न सक्ने गरी कम्प्युटर प्रिन्टर सहितको सेवाग्राही कक्षाको स्थापना गर्न आवश्यक देखिन्छ ।
• कार्यालयले प्रवाह गरेको सेवाको अवस्था र स्तर मापन गर्न कार्यालयमा सेवाग्राही सन्तुष्टि पुस्तिका राखी सेवाग्राही अभिमत सङ्कलन गरी सेवा प्रवाहमा थप सुधारका कम अघि बढाउन आवश्यक देखिन्छ ।
• कम्प्युटर तथा अन्य टोकन मेशन, इनटरकम टेलिफोन मेसिनको प्रयोग अधिकतमरुपमा सेवा प्रवाहमा गर्नु पर्ने आवश्यक देखिन्छ ।
• कार्यालयको भौतिक संरचना पर्याप्त भए पनि त्यसको नियमित सरसफाइ र मर्मत सम्भारमा ध्यान जानु पर्ने देखिन्छ ।
• जग्गा कारोबारमा किर्ते जालसाजी जस्ता आपराधिक गतिविधि बढेको परिप्रक्षमा कर्मचारीहरू उक्त जालसाजीमा अनाबश्यकरुपमा फस्ने गरेको कारण उनीहरूमा काम गर्ने इच्छा शक्ति ह्रास हुँदै गएको देखिएको हुँदा सम्बन्धित मन्त्रालय र विभागले उनीहरूको आत्मबल उच्च बनाउन कर्मचारीहरूलाई उत्प्रेरित गर्नु पर्ने देखिन्छ ।

निश्कर्षः
मालपोत कार्यालय, कलङ्कीको सेवा प्रवाहको स्तर देश कै सबै भन्दा राम्रो नमुना कार्यालय बनाउने सरकारी लक्ष अनुरूप आशितत सर्वोत्कृष्ट वा उत्कृष्ट परिणाम नदेखिएको भए पनि यस कार्यालयको सेवा प्रवाहको अवस्था र स्तर राम्रो देखिएको छ । यस कार्यालयले भविष्यमा सूचना प्रविधि र प्रणालीको अनुसरण र प्रयोग सत प्रतिशत गर्दै कार्यालयलाई आजको युग सुहाउँदो र सेवाग्राहीको अपेक्षा अनुरूप “कागजरहित स्मार्ट कार्यालय” ; सञ्चालनका लागि प्रयत्नशील हुन उपयुक्त देखिएको छ ।

अध्ययन टोलीका संयोजक मालपोत कार्यालय, पाँचथरका कार्यालय प्रमुख हुन्

Tags :
प्रतिक्रिया दिनुहोस