नक्कली नागरिकता बनाएर बेच्‍ने धन्दामा संलग्न पूर्व गाविस सचिव पक्राउ « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नक्कली नागरिकता बनाएर बेच्‍ने धन्दामा संलग्न पूर्व गाविस सचिव पक्राउ


२५ फाल्गुन २०७६, आइतबार


पक्राउ

वीरगन्ज । नक्कली नागरिकता बनाएर बिक्री गर्ने धन्दा चलाउँदै आएको गिरोहमा संलग्न पूर्व गाविस सचिव निन्दा साहलाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका–१५ भिस्वा घर भएका पूर्व गाविस साहलाई विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले घरबाटै नियन्त्रणमा लिएको हो । प्रहरीले साहको घरको कोठाबाट चार दर्जन भन्दा बढी नक्कली नागरिकता प्रमाणपत्रसमेत बरामद गरेको छ।

साहको कोठाबाट नेपाली नागरिकता प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा भरिने अनुसूची फाराम, विभिन्न व्यक्तिका पासपोर्ट साइजका फोटो, जन्म दर्ता, विवाह दर्ता र भारतीय नागरिकता परित्यागका लागि भरिने जिल्ला दण्ड अधिकारी कार्यालयको फारामसमेत प्रहरीले बरामद गरेको छ।

पूर्व सचिव साहकै तीन वटा नागरिकता प्रमाणपत्र प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका साहले ४० हजार रुपैयाँमा एउटा नागरिकता बनाएर गैर नेपाली नागरिकलाई बेच्ने गरेको बयान प्रहरीलाई दिएका छन्।

३ वर्ष पहिले पर्सा जिल्लाको साविकडोकैला बहुवरी गाविसको गाविस सचिव रहँदा शाहलाई अीख्तयार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितताको मुद्दा दर्ता गरेपछि अदालतले दोषी ठहर गर्दै उनलाई पाँच महिना कैदको फैसला गरेको थियो। कैद भुक्तान गरेका साह साढे २ वर्ष अगाडि मात्र कारागारबाट छुटेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस