सुक्खा बगरको बास म एक्लो वटवृक्ष हुँ
म हुँ निर्जनमा रम्दो नजाती छिन्नभिन्न हुँ
निर्मम् बतासका झोंका निर्दयी कण बालुका
आँधी तूफानका छल्का झल्का दिने सुनामीका
टुटेको मनको डाली गन्तव्यहीन पक्षी हुँ
डढेलोले जलाएको दग्ध सुष्क उजाड हुँ
छिन्यो लगामको डोरी छुट्यो कटी पतङ्ग हुँ
आवारा हुँ छटाएको बिरानो हुँ अनाम हुँ
म संस्थापनमा भिन्न अन्नाधुन्न अँधेर हुँ
परित्यक्त म हुँ साथी हराएको मणि म हुँ
मान मर्दनमा रम्दो झिनो छिन्न लता म हुँ
जदौ गर्दिन लत्रन्न जिद्दी मादकता म हुँ
किन्तु
म हुँ मेरै हरिश्चन्द्र छैन अन्तरवेदना
छैन उज्यालोको चाह चाहिन्न समवेदना
अर्ध सट्काइमा मिल्छ मद्यपान सरी मजा
हरिलट्ठक हुँ आफै भित्र खोज्छु मनोहरा
म हुँ अपूर्णमा पूर्ण शुद्ध ब्रह्म सरी म हुँ
सदाशिव म हुँ भोला सिद्ध गौतम बुद्ध हुँ
अविनाशी महत्तत्व म अनादि सनातन
दुख्दै दुख्दैन बिझ्दैन लौह तुल्य छ यो मन
संसारी सुख अस्थायी हुन्छ आउँछ जान्छ त्यो
दु:ख हो मनको त्रास भ्रम आउँछ जान्छ त्यो
न शोक हर्षको चिन्ता न प्रफुल्ल न वेदना
चाहन्न करुणा माया गर्दै गर्दिन याचना