प्रदेश सरकारले सुरुङमार्ग बनाउँछ : मन्त्री फुयाँल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश सरकारले सुरुङमार्ग बनाउँछ : मन्त्री फुयाँल


२३ फाल्गुन २०७६, शुक्रबार


हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री फुयाँल वाग्मती प्रदेशको गौरवको योजना हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणमा भइरहेको कामबारे जानकारी लिन आज निर्माणस्थल पुगेका हुन् । सो क्रममा प्राविधिक टोलीका इञ्जिनीयरिङ भूगर्भशास्त्री ईश्वर दाहालले मन्त्री फुयाँललाई सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न भइरहेको प्राविधिक अध्ययनको बारेमा जानकारी गराएका छन् । भूगर्भशास्त्री दाहालले सुरुङमार्गको ५० प्रतिशत प्राविधिक अध्ययन गरी सकाएको जानकारी दिए।

उनले करिब डेढ महिनाभित्र सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार हुने र टोपोग्राफिक सर्वे, जियोलोजिकल म्यापिङ सर्वे, ड्रोन सर्वे भइरहेको बताए । जियोलोजिकल सर्वे तीन दिनपछि शुरु हुने उनले बताए । सुरुङमार्गको प्राविधिक अध्ययनको लागि १० डिजाइनिङ, २० सोयल इन्भेस्टिगेशन, पाँच टापोग्राफिक, पाँच जियोफिजिकल र पाँचले ड्रोन सर्वे गरी ४५ कार्यस्थलमा खटिएको भूगर्भशास्त्री दाहालले जानकारी दिए । भीमफेदीदेखि कुलेखानीसम्म ३ दशमलव २१५ किलोमिटर सुरुङ निर्माण हुनेछ ।

वाग्मती प्रदेश सरकारले वैशाख २०७७ भित्रै सुरुङमार्गको ग्लोबल बोलपत्र आह्वान गर्ने गरी काम अगाडि बढाएको भौतिक विकासमन्त्री फुयाँलले जानकारी दिए । उनले सुरुङमार्ग बन्नेमा विश्वस्त हुन जनमानसलाई आग्रह गरेका छन् । ‘यो प्रदेशकै गौरव योजना हो । कुनै हालतमा प्रदेश सरकारले सुरुङमार्ग बनाएर छाड्छ विश्वस्त हुनुस् । अब हामी आगामी वैशाखभित्रै बोलपत्र आह्वान गर्दैछौँ,’ मन्त्री फुयाँलले भने ।

सुरुङमार्ग निरीक्षणमा संविधानसभा सदस्य अनन्त पौडेल, पूर्वजिल्ला विकास समितिका सभापति रामेश्वर राना, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, नेकपा मकवानपुरका नेता एकालाल श्रेष्ठलगायत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस