सुदुरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुदुरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रम


२३ फाल्गुन २०७६, शुक्रबार


अत्तरिया । सुदुरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । प्रदेशका सात जिल्लामा यस अगाडि नै शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम डोटी र डडेल्धुरामा विस्तार भएपछि नौवटै जिल्लामा बीमा कार्यक्रम बिस्तार भएको हो ।

स्वास्थ्य बीमा बोर्डले बुधबार डोटी र बिहीबार डडेल्धुरामा शुभारम्भ गरेसँगै प्रदेशभर बीमा कार्यक्रम लागू भएको बोर्डले जनाएको छ । स्वास्थ्य उपचारमा अनियन्त्रितरुपमा भइरहेको व्यक्तिगत तथा पारिवारिक खर्च घटाउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने र सेवाको उपयोगमा वृद्धि गर्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

एउटा परिवारले अधिकतम एक लाख रुपैयाँसम्म उपचार सुविधा लिनसक्ने स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक साउँदले बताए । उनका अनुसार बीमा कार्यक्रम लागू भएको सुदूरपश्चिम पहिलो प्रदेश भएको छ ।

सात जिल्लामा स्वास्थ्य बीमितको सङ्ख्या हालसम्म २ लाख ६० हजारभन्दा बढी पुगेको उनको भनाइ थियो । विसं २०७२ चैत २५ गतेदेखि कैलालीमा पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको थियो ।

देशका ५० जिल्लामा कार्यान्वयनमा आइसकेको सो कार्यक्रम चालू आव २०७६/७७ भित्र ७७ जिल्लामा कार्यान्वयन गर्ने सरकारको लक्ष्य छ । त्यसैगरी सन् २०२० सम्ममा बीमितको सङ्ख्या ५० र सन् २०३० सम्ममा शतप्रतिशत पुर्‍याउने लक्ष्य छ ।

बीमित परिवारका सदस्यको सदस्यता क्रियाशील भएपछि उपचारका लागि आफ्नो परिचयपत्र लिएर आकस्मिक उपचारका लागि सधैँ तोकिएको प्रथम सेवाबिन्दु स्वास्थ्य संस्थामा नै जानुपर्ने प्रावधान बीमा कार्यक्रमले अनिवार्य गरेको छ ।

स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार अति गरिबको परिचयपत्र प्राप्त परिवार, अति अशक्त अपाङ्गता (रातो कार्ड), कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगी (एमडिआरटिबी) बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट र महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट दिइने व्यवस्था स्वास्थ्य बीमा कार्यक्रममा रहेको छ ।

त्यस्तै कडा प्रकारका रोग (अर्बुदरोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र अल्जाइमर)मा नदोहिरिने गरी थप रु एक लाखको सेवासुविधा दिने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस