अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न : मुख्यमन्त्री पौडेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न : मुख्यमन्त्री पौडेल


प्रशासन संवाददाता

२० फाल्गुन २०७६, मंगलबार


हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश तथा स्थानीय तहले सम्पदाको संरक्षण र संवर्द्धन गर्दा पुरातत्व विभागले अड्चन खडा गर्न नहुने बताएका छन् ।

चुरियामाई सुरुङमार्ग पुनर्निर्माण र संरक्षण सम्बन्धी बारा र मकवानपुरका प्रतिनिधिसंग आज भएको छलफलमा उनले एसियाकै पहिलो सो सुरुङमार्ग संरक्षणमा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिए ।’यस्तो अमूल्य निधिलाई ढकनीले छोपेर राख्न हुन्न, एसियामा कहीँ कतै यस्ता मार्ग नबन्दा हाम्रा पूर्वजहरुले बनाउन सक्नु आफैँमा गर्वको कुरा हो’, पौडेलले भने ।
प्रदेश सरकारको पहिलो नीति तथा कार्यक्रममा सो सुरुङमार्ग र फर्पिङको चन्द्रज्योति जलविद्युत्को पुनर्निर्माण र संरक्षण गर्ने उल्लेख गरिएको थियो । उनले सुरुङमार्गको पुनर्निर्माण र यातायात म्युजियमको निर्माण तथा मनोरम उद्यान समेत बनाउने जानकारी दिए ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सुरुङ मार्ग पुनर्निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन तयार भइ आगामी नयाँवर्षदेखि पुनर्निर्माण शुरु गरिने जानकारी दिए। रासस

Tags :
प्रतिक्रिया दिनुहोस