‘देवता र परमेश्वरी’को आदेशपछि अस्पताल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘देवता र परमेश्वरी’को आदेशपछि अस्पताल


२० फाल्गुन २०७६, मंगलबार


जाजरकोट । ‘दूधको दूध, पानीको पानी छुट्याइदिनुप¥यो देवता परमेश्वरी, हामी तिम्रो भर, शरणमा परेका छौँ, हामी पाठी खाने भए पाठी, चल्लो खाने भए चल्लो दिन तयार छौँ’, बारेकोट–८ लैखमका धनबहादुर खत्रीको घरमा दैनिक बिहान र साँझपख सुनिने भाषा हो यो ।

गाउँभरिका मानिस बिरामी हुनेबित्तिकै धनबहादुरको घरमा धामी हेराउन जाँदा दैनिक धनबहादुरको शरीरमा देवी चढेपछि बिरामीका आफन्तले देवीलाई सुनाउने सबैभन्दा महत्वपूर्ण श्लोक हो यो । यहाँका अधिकांश स्थानीयवासी आफन्त बिरामी हुँदा एक घण्टाको दूरीमा रहेको स्वास्थ्य संस्था लैजानुभन्दा पहिला धामीकहाँ लिएर देवता हेराएपछि मात्र देवताको आदेशमा बाँकी काम गर्छन् । धामी, झाँक्रीले ‘हामी सक्दैनौँ’ भनेर सल्लाह दिएपछि मात्र स्वास्थ्य संस्था लैजाने गरेको पाइएको छ ।

सामान्य टाउको दुख्दा होस् वा सामग्री हराउँदा, देवताकै शरणमा गएर सल्लाह लिने चलन जाजरकोट, रुकुमपश्चिम र डोल्पाका गाउँमा विद्यमान छ । कहाँका धामीले कति सही कुरा गर्छ भन्ने गाउँमा छलफलसम्म हुने गरेको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले जानकारी दिए । उनी भन्छन्, ‘खेतबारीमा लगाएको मकै, धानलगायतका अन्नबाली घरमा भित्र्याउनसमेत धामीले दिएको दिनलाई उपयुक्त समय मानेर गाउँभरिको काम हुने गर्छ, सो समयलाई नमान्नेको घरमा अनिष्ट हुने जनविश्वास छ ।’

नयाँ घरमा प्रवेश गर्नेदेखि नयाँ कामको थालनी गर्दासम्मका काम धामीले दिएको साइतकै आधारमा हुने गरेको खत्रीको भनाइ छ । जिल्लाको बारेकोट, जुनिचाँदे गाउँपालिकामा देवीदेवताको विश्वासका आधारमा काम बढी हुने गरेको पत्रकार रेशमबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘घरमा भैँसी ब्याएपछि दूध खानलाई समेत देवताकै शरणमा जानुपर्छ, देवताले दिएको दिनबाहेक अरु दिनमा दूध खान नमिल्ने संस्कार अझै गाउँमा छ ।’

त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा बालात्रिपुरासुन्दरीका धामीले दिएको साइतबाहेक अरु साइतमा दशैँका टीका नै नहुने प्रचलन कायम छ । धामीले दिएको साइत हेर्दा दुई वर्षअघि दशैँको टीका एक दिनपछि सरेको स्थानीयवासी विष्णुप्रसाद देवकोटा बताउँछन् । कुनै पनि नयाँ काम गर्दा बालात्रिपुरासुन्दरीको आज्ञाअनुसार नै गर्दै आएको उनको भनाइ छ ।

विसं २०७२ मा फैलिएको मौसमी फ्लु रोक्नका लागि समेत देवीकै भाकल गरिएको थियो । दुई दिनदेखि त्रिपुरासुन्दरी नगरपालालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोग रोकथाम गर्न भन्दै स्थानीयवासी धामीको शरणमा पुगेको बताइएको छ । हिउँद, वर्षायाममा पानी नपर्दा खेती गर्न नपाएका कृषकसमेत पानी पार्न अनुरोध गर्दै धामीकै शरणमा पुग्दै आएका छन् । उपल्लो डोल्पामा बर्सेनि उवाखेती भित्र्याउँदा लामाले साइत हेरेर मात्र भित्र्याउने चलन कायमै ।

गाउँलेहरूले लगाएको अन्नबाली पशुचौपायले खाँदा घर मालिक पत्ता लगाउनसमेत देवताको मन्दिरबाट ध्वजा, पताका लिएर क्षतिपूर्ति उपलब्ध गराउने चलन डोल्पा, जाजरकोट र रुकुमपश्चिमका गाउँमा अझै कायम रहेको पञ्च भयार माध्यमिक विद्यालय नलगाड नगरपालिका–८ का शिक्षक वीरबहादुर खत्रीले जानकारी दिए ।

सामाजिकरूपमा जकडिएको हाम्रो समाज अझै मूलप्रवाहमा आउन वर्षौँ पर्खनुपर्ने बुद्धिजीवी सुदाम गौतम बताउनहुन्छ । समाजका हरेक गतिविधि संस्कारकै रूपमा स्थापित भएकाले सजिलै हट्ने सङ्केत आफूले नदेखेको उनको भनाइ छ । ‘हाम्रा गतिविधि सुधारोन्मुख हुनुपर्दछ, अनि मात्र हामी एक दिन सही ठाउँमा पुग्दछौँ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस