प्रधानमन्त्रीद्वारा पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने विश्वास व्यक्त(पूर्ण पाठसहित) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्रीद्वारा पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने विश्वास व्यक्त(पूर्ण पाठसहित)


१९ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा सोमबार भर्ना हुनुपूर्व भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क रहन आग्रह गरेका छन् । केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किनेछु’ उनले भनेका छन् ।

मृगाैला प्रत्याराेपण गर्न अस्पताल जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको भिडियो सन्देश

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,

मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा वित्दै आएको छ । कहिले निरङ्कुशता विरुद्ध लोकतन्त्रको लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि संघर्ष, त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेहरुसँगको संघर्ष ।

मुलुकमा व्याप्त यसप्रकारका विविध समस्याहरुसंग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरु सबैलाई जानकारी नै छ । यसै सन्दर्भमा, आज भन्दा झण्डै १२ बर्ष अघि मेरा दुवै मृगौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मृगौला प्रत्यारोपण गराएको थिएँ । त्यतिबेला हाम्रो देश नेपालमा मृगौला प्रत्यारोपणको सुविधा थिएन ।

पर्सी फागुन २१ गते बुधवार फेरि मैले मृगौला प्रत्यारोपण गराउँदैछु । त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जतमा भर्ना हुँदैछु ।

विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मृगौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन । यसपटकको मृगौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रुपमा सजिलो हुने मैले विश्वास लिएको छु । त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु ।

भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजवुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं । त्यसलाई व्युँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरीपरी तपाईहरु सबैले आफूलाई उभ्याउनु भयो । यस बर्षलाई हामीले समृद्धिको आरम्भ बर्ष भनेका छौं । जसरी खेलकोबीचमा ‘राम्रो खेलाडी’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भरखर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न । संसारमा कोही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न हैन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ ।

म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनुहोस् । हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षां पूरा गर्न केही दिनको अस्पताल बसाई र आराम पछि थप उर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु । यस बीचमा सरकारका तर्फवाट गर्नुपर्ने सबै काम नियमित रुपमा अघि बढ्ने छन् । विश्वलाई नै पिरोली रहेको कोरोना भाइरसका कारण सिर्जना भएको नयाँ समस्या होस् वा भैपरि आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ।

मेरो अस्पताल बसाईको समयमा पार्टी र संसद दुवैतिर आवस्यक कार्य सम्पादन गर्न जिम्मेवार नेता/कार्यकर्ता, सांसदहरू र लाखौं पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु ।

मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्नु हुने स्वदेश र विदेशका सबै मित्र तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।

धन्यवाद ।

१९ फागुन, २०७६
बालुवाटार

Tags :
प्रतिक्रिया दिनुहोस