पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसंघको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसंघको आग्रह


१६ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । नेपाल विद्यार्थी संघले इन्धनमा कर लगाइँदा अप्रत्यक्षरूपमा मूल्यवृद्धि हुने भन्दै तत्काल पेट्रोलियम पदार्थमाथि लगाइएको कर फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । करले इन्धनको मूल्यवृद्धि भई सबै उपभोग्य सामानको बजार भाउ बढ्ने जिकिर गर्दै संघले कर फिर्ता गर्न आग्रह गरेको हो ।

पूर्वाधार करका रूपमा यसअघि उठाइँदै आइएको रकम सदुपयोग नभएको भन्दै नेविसंघले फेरि कर बढाइनु गम्भीर भएको जनाएको छ । नेविसंघले आयातित पाठ्यपुस्तकमा लगाइएको करसमेत फिर्ता लिन सरकारसँग माग गरेको छ । यस्तै बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणलगायत आर्थिक अनियमितामा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।

नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाद्वारा आज जारी विज्ञप्तिमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नयाँ मिति तोक्न पनि आग्रह गरिएको छ । यही फागुन १४ गते स्ववियू निर्वाचन गर्ने कार्यतालिका भए पनि त्रिभुवन विश्वविद्यालयले अन्तिम अवस्थामा विशेष कारण जनाउँदै निर्वाचन स्थगन गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस