दूरगामी महत्त्वका काम गर्दा आत्मभत्र्सना किन : प्रधानमन्त्री ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दूरगामी महत्त्वका काम गर्दा आत्मभत्र्सना किन : प्रधानमन्त्री ओली


१५ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दूरगामी महत्त्वका काम गरेको भन्दै आफ्नो प्रगतिमा आत्मभत्र्सना नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टीको बाग्मती प्रदेश सङ्गठन कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसारले नेपाल तीव्र आर्थिक विकास गर्ने १० वटा देश मध्ये परेको भन्दै प्रशंसा गरेका बेला देशभित्रै भने आत्मभत्र्सनाको प्रयास भएको बताए ।

‘सरकारले दूरगामी महत्त्वका धेरै काम गरेको छ, मुलुक सुरुङ मार्गको युगमा प्रवेश गरेको छ, रेल सञ्चालनको तयारी भएको छ, सडक कालोपत्रे गर्ने र पुल निर्माण गर्ने काम इतिहासमै तीव्र गतिमा भइरहेका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘संसारका तीव्र आर्थिक वृद्धि गर्ने दश वटा देशमा नेपाल परेको भन्दै प्रशंसा भइरहेको छ । तर, यहाँ आफ्नै भित्र चाहिँ केही हुन सकेन भन्दै आत्मभत्र्सना गर्ने प्रवृत्ति बढेको छ ।’

प्रधानमन्त्री ओलीले अफवाह फैलाउनेको दुष्प्रभाव समाजमा परेको बताएका थिए । तेह्रथुमको आफ्नो जन्म गाउँमा करिब ४ हजार घरधुरीलाई खानेपानी, बिजुली र बैङ्किङ सेवा सुविधाको सुरुवात गर्न जाँदा त्यसको कुनै चर्चा नभएको तर संयोगवश परेको आफ्नो जन्मदिनमा काटिएको केकबारे दुश्प्रचार गरिएको उनको भनाई थियो ।

‘पुस्तौँदेखि पानी खान नपाएर काकाकुलको जीवन गुजारेका जनताले त्यस दिन उद्घाटन गरेर सुरु भएको खानेपानी, बिजुली र बैङ्किङ सेवाको चर्चा गरिएन’ प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो गाउँमा सेवा सुविधा आएपछि जनता खुसी भएर संयोगवश परेको मेरो जन्मदिनमा काटिएको केकले काठमाडौँमा भुईँचालो नै ल्यायो ।’

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीको स्थापना देशलाई समृद्ध र जनतालाई सुखी बनाउन गरिएको बताउँदै अनावश्यक विवादले नभई वैचारिक स्पष्टताले पार्टी बलियो हुने बताए । उनले पार्टी आफैँमा साध्य नभएको बताउँदै देश निर्माणका लागि पार्टी महत्त्वपूर्ण साधन भएको बताए ।

‘पार्टी निर्माण नै गन्तव्य होइन, गन्तव्य देश निर्माण हो, त्यसका लागि पार्टी चाहिएको हो’ प्रधानमन्त्री ओलीले भने, ‘पार्टीले निर्माण गरेको यस सरकारले दूरगामी महत्त्वका काम गरिरहेको छ ।’ दशौंवर्ष अघिदेखिका जघन्य अपराध र भ्रष्टाचार अन्त्य गर्न सरकारले अग्रसरता लिएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस्तो कदम विरुद्ध अन्य केही पार्टी माइतीघर मण्डलामा आउन थालेको बताए ।

‘१२ वर्ष अघिदेखि पावरका भरमा लुकाइराखेका भ्रष्टाचारमा धमाधम कारबाही भइरहेका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो पार्टीका नेता आफ्नो नाम जोडिनासाथ छानबिनका लागि राजीनामा दिन्छन्, अरू पार्टी माइतीघर मण्डलामा जुलुस निकाल्छन् । भ्रष्टाचारमा कसैको अनुहार नहेरी कारबाही गरिन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस