कांग्रेससहित तीन दलको सहमति : बोल्न दिए भोलि संसद अवरुद्ध नगर्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कांग्रेससहित तीन दलको सहमति : बोल्न दिए भोलि संसद अवरुद्ध नगर्ने


१२ फाल्गुन २०७६, सोमबार


काठमाडौं । मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक अवरुद्ध नगर्ने प्रतिपक्ष तीन दलहरुले सहमति गरेका छन्। सोमबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने निर्णय गरेका हुन्।

‘संसद अवरुद्ध गरेर मात्रै समस्याको समाधान हुँदैन’ कांग्रेस सचेतक पुष्पा भुसालले भनिन् ‘हामी तीन दल मिले अघि बढ्ने समझदारी बनाएका छौं।’

निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको जवाफ मागेको कांग्रेसले मंगलबार संसदमा एकस्वरमा प्रस्तुत हुने प्रस्ताव राखेको छ ।

‘अडियो प्रकरणलगायतका समसायिक विषयमा भोलि सबैलाई बोल्न दिने र त्यसका आधारमा सभामुखले रुलिङ गर्ने अवस्था बन्यो भने संसद चल्छ’ बैठकमा सहभागी कांग्रेस सांसद अत्तहर कमल मुसलमानले भने ।

विपक्षी दलहरुलाई आफ्ना कुरा राख्न नदिए सदनको अवरोध कायमै रहन सक्ने कांग्रेसले बताएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि कांग्रेसले सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्नुपर्ने, प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र छानविन गरेर कानूनी कारबाही गर्नुपर्ने माग राखेर संसद अवरुद्ध गरेको थियो ।

बास्कोटाले त्यही दिन राजीनामा दिइसकेका छन् भने यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस