लोक सेवा : विषयगत प्रश्नोत्तर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा : विषयगत प्रश्नोत्तर


७ फाल्गुन २०७६, बुधबार


१. लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका कस्तो हुनुपर्दछ ? उल्लेख गर्नुहोस् ।
– जनताका प्रतिनिधिद्वारा शासन चलाइने व्यवस्था लोकतन्त्र हो । राजनीतिक दल जनताका प्रतिनिधिहरू पनि हुन् । लोकतन्त्रमा राजनीतिक दलले शासन व्यवस्था चलाउने भएकाले लोकतन्त्रमा यिनको भूमिका बहुआयामिक हुनुपर्दछ । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :
– जनताको प्रतिनिधि भई जनहितका कार्यहरू गर्ने,
– जनचाहनाअनुरूप ऐन नियम बनाउने र बनेका ऐन नियमको पूर्ण पालन गर्ने, ऐन नियम कार्यान्वयन गर्न सहयोग गर्ने,
– जननिर्वाचित भएर मुलुकको समग्र शासन व्यवस्थाको नेतृत्व गर्ने,
– देश र जनताप्रति गरेको प्रतिबद्धता पूरा गर्ने,
– लोकतन्त्र र मानवअधिकारको संरक्षण एवम् प्रवद्र्धन गर्ने,
– दलगत र व्यक्तिगत स्वार्थमा नभई राष्ट्रिय स्वार्थमा कार्य गर्ने,
– शान्ति सुरक्षा, स्थिरता, विकास, कानुनी शासन स्थापना गरी मुलुकमा सुशासन कायम गर्ने,
– समग्रमा लोकतन्त्रको स्थापना गर्नेदेखि लोकतन्त्रको सुदृढीकरण गर्नेसम्मको सबै काम गर्ने ।

२. नेपालमा खेतीयोग्य जमिनको उत्पादकत्व घट्नुको कारणहरू के–के हुन् ? उल्लेख गर्नुहोस् ।
– करिब ७८ प्रतिशत जनता कृषिमा आश्रित तथा कुल गार्हस्थ उत्पादनमा करिब ३३ प्रतिशत हिस्सा ओगटेको कृषि क्षेत्र नेपालमा एकातर्फ भौगोलिक विकटता, बसाइँ–सराइ, बढ्दो सहरीकरण आदिले खेतियोग्य जमिन घट्दै गएको छ भने अर्कोतर्फ भएको खेतियोग्य जमिनको उत्पादकत्व पनि घटिरहेको छ । यसरी खेतियोग्य जमिनको उत्पदकत्व घट्नुका विभिन्न कारण छन्, जुन निम्न छन्
– कृषकहरूमा खेती गर्ने आधुनिक उन्नत तरिकाको ज्ञान नहुनु,
– खेतियोग्य जमिनमा सिँचाइ सुविधा नहुनु,
– उन्नत बीउविजन एवम् रासायनिक मलको अभाव हुनु,
– खेतियोग्य जमिनको पूर्ण उपयोग नहुनु,
– कृषि सडक सञ्जालको विकास नहुनु,
– कृषिमा व्यावसायीकरण हुन नसक्नु,
– कृषि क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुनु,
– व्यावसायिक कृषि विकासका लागि निजी क्षेत्रको लगानी आकर्षित नहुनु,
– दीर्घकालीन कृषि योजनाले अपेक्षा गरेअनुसार कृषि क्षेत्रमा लगानी बढ्न नसक्नु ।

३. नेपालको पर्यटन उद्योगलाई प्रभावकारी बनाउने उपायहरू लेख्नुहोस् ।
– पर्यटन विदेशी मुद्रा आर्जनको स्रोत हो । रोजगारीको प्रमुख आधार क्षेत्र हो । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहने पर्यटन उद्योगले नेपाललाई अन्तर्राष्ट्रिय सम्पर्कमा वृद्धि गराउनसमेत सहयोग गर्दछ । मनोरम प्राकृतिक सौन्दर्य, अतुलनीय साँस्कृतिक सम्पदा एवम् अनगिन्ती विशिष्टताका पर्यटकीय स्थलहरू रहेको नेपालको पर्यटन उद्योगलाई प्रभावकारी बनाउने उपायहरू निम्न छन् :
– सङ्ख्यात्मकको साथै गुणात्मक पर्यटनमा पनि जोड दिई पर्यटकहरूको सुरक्षाको प्रत्याभूति दिने,
– नयाँ पर्यटकीय स्थलहरूको पहिचान गर्ने,
– हवाई सेवालाई भरपर्दो, नियमित एवम् सुरक्षित बनाउँदै यसको क्षेत्र विस्तार गर्ने,
– पर्यटन सेवा केन्द्रहरूको विस्तार गर्ने,
– होटल रेस्टुराँहरूको सङ्ख्या बढाउने, होटल सेवाको नियमित अनुगमन गर्ने,
– वातावरण प्रदूषणमा नियन्त्रण र सरसफाइमा जोड दिने,
– कला, संस्कृतिको विकास एवम् सम्वद्र्धनमा जोड दिने,
– नेपालका पर्यटकीय क्षेत्रहरूको अन्तर्राष्ट्रिय जगत्मा व्यापक प्रचार–प्रसार गर्ने,
– पर्यटकहरूमाथि हुने शोषण र ठगीलाई निर्मूल गरिनुपर्ने,
– पर्यटनसम्बन्धी तालिम प्राप्त जनशक्ति उत्पादन गर्नुपर्ने,
– पर्यटन पूर्वाधार र पर्यटन बजार व्यवस्थित गर्नुपर्ने,
– आन्तरिक पर्यटनलाई बढावा गर्ने,
– शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने,
– राजनीतिक कारणले हुने बन्द–हडताल, चक्काजाम, चन्दा, अस्थिरता आदिको अन्त्य गर्ने,
– लगानीको वातावरण तयार गरी यस क्षेत्रमा स्वदेशी र विदेशी लगानी अभिवृद्धि गर्ने ।

४. अन्तःशुल्क प्रशासनमा सुधारका क्षेत्रहरू के–के हुन् ?
– उत्पादनमा लाग्ने कर अन्तःशुल्क हो । यो स्वदेशभित्र आन्तरिक उत्पादनमा लाग्छ । स्वदेशमा अन्तःशुल्क लाग्ने वस्तु विदेशबाट आयात गरेमा त्यस्ता वस्तुमा भन्सार कार्यालयमा अन्तःशुल्क लाग्छ । वस्तु र सेवा दुवैमा लाग्ने यो कर नेपालको परम्परागत राजस्व हो । नेपालको राजस्व प्रशासन खासगरी आयकर, मूल्य अभिवृद्धि कर र भन्सार आधुनिक राजस्व प्रशासनमा रूपान्तरण हुन थाले पनि अन्तःशुल्क प्रशासन पुरानै ढाँचामा सञ्चालित छ । अन्तःशुल्क प्रशासनका कार्यमा कम्प्युटर प्रणाली अवलम्बन गर्न नसकिएको, अन्तःशुल्कको दर र क्षेत्रमा स्थिरता ल्याउन नसकिएको, सङ्गठन संरचनामा सुदृढीकरण गर्न नसकिएको अवस्था छ । त्यसैले अन्तःशुल्कमा सुधारका पक्ष यिनै हुन सक्छन् । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :
– अन्तःशुल्कको दर र क्षेत्रमा स्थिरता ल्याउने,
– अन्तःशुल्क प्रशासनको सुदृढीकरण गर्ने,
– आन्तरिक राजस्वको आधार फराकिलो बनाउन अन्तःशुल्कको प्रयोग गर्ने,
– भौतिक नियन्त्रण प्रणालीलाई स्वयम् निष्कासन प्रणालीमा रूपान्तरण गर्ने,
– अन्तःशुल्कमार्फत स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धन गर्ने,
नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएकाले घट्दो भन्सार राजस्वको स्थान पूर्ति गर्नसमेत यसको प्रयोग गर्नुपर्ने देखिन्छ । अतः यसको व्यवस्थित परिचालन आवश्यक छ । यसका लागि अन्तःशुल्कको दर र क्षेत्रमा स्थिरता ल्याउँदै साङ्गठनिक प्रणालीमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ ।

वस्तुगत प्रश्नोत्तर

१. कर्णाली प्रदेशमा प्रदेशस्तरीय आविष्कार केन्द्र स्थापनाका लागि राष्ट्रिय आविष्कार केन्द्र र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर कहिले भएको हो ?
– विक्रम संवत् २०७६ फागुन १ गते 

२. सुदूरपश्चिम प्रदेशद्वारा भिडियो कन्फ्रेन्स प्रविधिको उद्घाटन कहिले गरियो ?
– विसं २०७६ माघ २९ गते गते 

३. गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवम् साहित्य महोत्सवको आयोजना कहिले गरियो ?
– विसं २०७६ माघ २४–२६

४. सन् २०२० फेब्रुअरी २ मा मनाइएको विश्व सिमसार दिवसको नारा के हो ?
– सिमसार र जैविक विविधता

५. सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार कति प्रतिशतले घटाएको छ ?
– ९.६ प्रतिशत 

६. विश्वभरका खेल पत्रकारहरूको साझा संस्था एआईपीएसले हंगेरीको बुडापेस्टमा आयोजना गरेको विशेष समारोहमा स्पोर्टस् मिडिया अवार्डअन्तर्गत उत्कृष्ट स्तम्भ लेखन अवार्ड प्राप्त गर्न सफल नेपाली पत्रकार को हुनुहुन्छ ?
– खेलकुद पत्रकार प्रज्ज्वल ओली 

७. एसियाली व्यवस्थापन संस्थाहरूको सङ्गठन (आमो) द्वारा एसियाली दूरदर्शी नेताको सम्मानबाट कसलाई सम्मानित गरियो ?
– प्रधानमन्त्री केपी शर्मा ओली (विसं २०७६ माघ २४) 

८. जापान सरकारबाट प्रदान गरिएको ‘अर्डर अफ जापान’बाट सम्मानित नेपाली को हुनुहुन्छ ?
– नारायणप्रसाद अर्जेल (जापानका लागि नेपाली पूर्वराजदूत), विसं २०७६ माघ 

९. विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसलाई आधिकारिक रूपमा के नामकरण गरेको छ ?
– कोभिड–१९, सन् २०२० फेब्रुअरी ११

१०. विसं २०७६ माघ २८ को मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरेको छ ?
– ठाकुर ज्ञवाली

११. प्रदेश ५ सरकारले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड, २०७६ कहिले स्वीकृत गरेको हो ?
– विसं २०७६ फागुन २

१२. नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित इन्जा सामुदायिक पत्रकारिता पुरस्कार (२०७६ मा) कसलाई प्रदान गरिने भएको छ ?
-आछामकी पत्रकार मेनुका ढुङ्गाना र बाजुराका पत्रकार प्रकाश सिंह (संयुक्त रूपमा), पुरस्कार राशि : एक हजार अमेरिकी डलर ।

१३. कुन अवधिसम्म आधारभूत शिक्षा नलिने नागरिकले स्थानीय सरकारबाट दिइने कुनै पनि सुविधा पाउन नसक्ने व्यवस्था गरिएको छ ?
– विसं २०८५

१४. सरकारले कुन अवधिलाई सार्वजनिक शिक्षाको दशकका रूपमा घोषणा गरेको छ ?
– विसं २०७६–२०८५

१५. ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?
– सन् २०१८ जनवरी २६

१६. लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य वासस्थान कहाँ हो ?
– बाटुलेचौर, कास्की

१७. संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) ले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार निरक्षरको तुलनामा उच्च शिक्षा हासिल गरेका व्यक्तिको बसाइँ–सराइ सम्भावना कति बढिरहेको छ ?
– झन्डै चार गुणा

१८. काठमाडौँस्थित घण्टाघरको निर्माण कहिले गरिएको हो ?
– विसं १९५१ (वीरशमशेको पालामा) ।

१९. भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरसम्म विद्युतीय कार्गो मालवाहक रेल सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
– विसं २०७५ चैत ।

२०. तथ्यमा आधारित भएर नीति निर्माण गर्ने तयारीअनुसार सरकारले तथ्याङ्क प्रणाली विकासका लागि कति वर्षे रणनीति ल्याएको छ ?
– पाँचवर्षे विसं २०७५ चैत

२१. शरणार्थी र आप्रवासीसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन पहिलोपटक कहिले आयोजना गरियो ?
– सन् २०१६ सेप्टेम्बर १९

२२. एकपटक स्वीकृत भइसकेको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रस्तावमा आंशिक रूपमा भौतिक पूर्वाधार, डिजाइन वा स्वरूप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नका लागि पेस भएको प्रस्तावउपर पुनः गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई के भनिन्छ ?
– पू्रक वातावरणीय प्रभाव मूल्याङ्कन ।

२३. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
– विसं २००२ असोज १


गोरखापत्र

Tags :
प्रतिक्रिया दिनुहोस