साइपाल गाउँपालिकामा हेलिकप्टरमार्फत चामल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

साइपाल गाउँपालिकामा हेलिकप्टरमार्फत चामल


४ फाल्गुन २०७६, आइतबार


बझाङ । खाद्यान्न अभाव भएपछि बझाङ जिल्लाको विकट साइपाल गाउँपालिकामा हेलिकप्टरमार्फत चामल पठाइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुर्खेतस्थित गोदामबाट नेपाली सेनाको हेलिकप्टरमार्फत शनिवार साइपालमा चामल पुर्‍याइएको हो।

हेलिकप्टरमा पुर्‍याइएको २५ क्विन्टल २० किलो चामल साइपाल गाउँपालिका–४ मा पर्ने काँडा, चुकझाड, बाँझचौका, काया तथा वडा–५ मा पर्ने धुलीगाउँका स्थानीयलाई वितरण गरिएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताए ।

प्रतिव्यक्ति दुई–तीन किलोको दरले वितरण गरिएको उक्त चामल वडा नम्बर ४ का केही परिवारलाई मात्र पुगेको र वडा नम्बर ५ का आठसय परिवारका लागि थप खाद्यान्न ढुवानी गर्न पहल भइरहेको अध्यक्ष धामीले जानकारी गराए ।

लगातारको हिमपातका कारण बाटोमा बाक्लो हिउँ जमेपछि साइपाल गाउँपालिका जाने बाटो बन्द हुन गई भोकमरी सुरु भएको थियो।

वडा नं.२ नाग्मा डाँडाको पाँग्लौटी भन्ने स्थानमा दुई तीन किलोमिटर क्षेत्रमा हिउँ जमेको र घामै नलाग्ने क्षेत्र भएकोले हिँउ नपग्लेपछि बाटो बन्द भएको धामीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस