काठमाडौँ । पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा निधन भएको छ ।
आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी कार्कीकी श्रीमती मुनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ललितपुर उपमहानगरपालिका–२, सानेपामा रहेको घरको भान्छा कोठामा गम्भीर घाइते अवस्थामा फेला परेकी कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो । घटनास्थलमा पुगेको प्रहरीले उनको उद्धार गरी स्टार अस्पताल पुर्याएको थियो।
कार्कीको घरमा काम गर्ने दाङ स्थायी घर भएका अन्दाजी २२–२३ वर्षका विजय चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
अस्पताल प्रशासनका अनुसार श्रीमती कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ । घाँटी र हातमा पनि निलडामको घेरा देखिन्छ।
टाउकोमा गहिरो चोट देखिएको उनलाई चिकित्सकहरुले ४५ मिनेटसम्म सीपीआर दिएर रिभाइभ गर्ने कोसिस गरेर पनि सफल हुन नसकेको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।
बिहान घरबाहिर निस्किएका पूर्व सचिव कार्की घर फर्किँदा श्रीमती बेहोस अवस्थामा थिइन् ।
त्यसलगत्तै घरमा पुगेको प्रहरीले श्रीमती कार्कीलाई जीवित नै रहेको फेला पारेपछि अस्पताल लगेको थियो।
प्रहरीका अनुसार अहिले घटनास्थलको मुचुल्का गर्ने कार्य भइरहेको छ।
भान्छा कोठामा रहेको टेबुलमा साग र मोबाइल फोन फेला परेको छ ।
कामदार चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा भेटिएका थिए।
प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।