चीनबाट उद्धार हुनेहरुलाई सेनाको रेखदेखमा राख्ने तयारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चीनबाट उद्धार हुनेहरुलाई सेनाको रेखदेखमा राख्ने तयारी


२१ माघ २०७६, मंगलबार


काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित चीनबाट उद्धार गर्ने १ सय ८० जनालाई सेनाको जिम्मा लगाउने तयारी गरिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको सरोकारवालाहरुको बैठकले उचित स्थान छनौटका लागि नेपाली सेनालाई निर्देशन दिएको हो ।

सेनाले मंगलबार बस्ने बैठकमा उचित स्थान सहित उपचार र रेखदेख पद्धती सहितको प्रस्तुती प्रधानमन्त्री कार्यालयमा बस्ने बैठकमा देखाउने भएको छ ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेब पाण्डेले मंगलबार बस्ने बैठकले स्थानको टुङगो लगाउने बताए । उनले सेनालाई सरकारले दिएको निर्देशन अनुसारको तयारी सहितको प्रस्तुतीपछि निर्णय हुने जानकारी दिए ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सेनाले चीनबाट उद्धार भएकाहरुलाई शिवपुरी राष्ट्रिय निकुञ्जमा राख्ने तयारी गरेको छ । काठमाडौंदेखि नजिक र सबै सेवासुविधा उपलब्ध रहेका कारण शिवपुरीमै राख्ने निर्णय सरकारले लिनसक्ने सम्भावना रहेको स्रोतले जानकारी दियो ।

सरकारले औपचारिक निर्णय गरेसँगै बेइजिङस्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने नेपालीहरुसँग अनलाइन आवेदन मागेको थियो । यसरी आवेदन दिने १ सय ८० जनाको उद्दारको तयारी दूतावासले गरिरहेको हो ।

दूतावासका अनुसार हुपेई प्रान्तको वुहानबाट ५९, जिङ्घोबाट ५०, जिङमेनबाट ९, इन्सीबाट २९, शियानबाट २८ र यिछाङबाट ५ जना नेपालीले उद्धारका लागि अनलाईन आवेदन दिएका छन्।

कोरोना भाइरसको संक्रमण पहिलो पटक चीनको हुपेई प्रान्तको वुहान शहरमा ३१ डिसेम्बर (१५ पुस) मा पहिचान गरिएको थियो ।

चीनबाट अन्य मुलुक पुगेकाहरूमा भाइरसको संक्रमण देखिएको हो । २१ माघसम्ममा चीनमा यो भाइरसबाट संक्रमितको संख्या २० हजार ६४२ पुगेको छ भने ४२७ जनाको मृत्यु भइसकेको छ ।

भाइरसको संक्रमण बढी देखिएको हुपेई प्रान्तमा संक्रमितको संख्या सबैभन्दा बढी छ । त्यहाँ संक्रमितको संख्या दैनिक २५ देखि ३० प्रतिशतले बढिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस