पाँच रुपैयाँ जरिवाना तिर्न नसक्दा प्रहरी फन्दामा « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

पाँच रुपैयाँ जरिवाना तिर्न नसक्दा प्रहरी फन्दामा


१४ माघ २०७६, मंगलबार


पक्राउ

वीरगञ्ज । अहिलेको युगमा अदालतद्वारा तोकिएको पाँच रुपैयाँ जरिवाना तिर्न नसक्ने हैसियत भएका मानिसहरु पनि हुँदोरहेछ भनी सुन्दा अचम्म लाग्छ । तर यो सत्य हो । यस्तै घटना बारा जिल्लाको पचनौता नगरपालिकामा घटेको छ ।

कुरो २०६५ साल माघ २७ गतेको हो । पचनौता गाउँपालिका–४ गुलरिया बस्ने ६० वर्षीय नागेन्द्र महरामाथि स्थानीय नवाब ठाकुर लोहारले जिल्ला अदालत पर्सामा जालसाजी मुद्दा हालेपछि अदालतले निज महरालाई रु ५ दण्डजरिवाना गरेको थियो तर महरा फरार भएकाले उनलाई फरार अभियुक्तको सूचीमा राखी प्रहरीचौकी बेलदारीबाट खटिएको टोलीले घरबाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको अदालतका उपसचिव कौशलेश्वर ज्ञवालीले बताए ।

अदालतमा कायम रहेका मुद्दा नं १४३२ अनुसार महरा फरार सूचीमा रहेको देखिएकाले प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अहिले बारा प्रहरीले पाँच रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना लागेका अभियुक्तलाई पक्राउ गर्ने कार्य तीव्र पारेको छ । प्रहरीले साउनयता बारा जिल्लामा फरार अभियुक्तको सूचीमा रहेका १८४ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

पक्राउ परेकाबाट ४९ वर्ष १३८ महिना ३ सय २३ दिन कैद सजायबापत २२ लाख ७ हजार ८ सय ४४ रुपैयाँ १३ पैसा राजश्व सङ्कलन गरेको प्रहरीले जनाएको छ । प्रहरीले फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेपछि अन्य अभियुक्त आफैँ अदालतमा उपस्थित हुन थालेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस