मनको र घरको गोठ भत्काउन प्रहरी सक्रिय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मनको र घरको गोठ भत्काउन प्रहरी सक्रिय


१४ माघ २०७६, मंगलबार


डोटी । महिलाहरू महिनावारी हुँदा छाउगोठमा नै बस्नु पर्छ नत्र देवी देवता रिसाउँछन् भन्ने चिन्तनलाई र छाउ भएकी महिलाहरू बस्नको लागि बनाएको वास्तविक गोठलाई भत्काउन पछिल्लो समयमा डोटीमा प्रहरी आफ्नो सक्रियता बढाएको छ ।

डोटीमा पुस २६ गते देखि डोटी जिल्लामा सुरु भएको छाउगोठ भत्काउने अभियानका साथै मनको छाउगोठ भत्काउने अभियानलाई समेत तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले बताए ।

उनले भने कानुनले वञ्चित गरिएको छाउपडी कुप्रथा जस्ता कुरुतीको अन्त्येका लागि छाउगोठ भत्काउने अभियान त निरन्तर चलिरहेको छ साथै गोठ मात्र भत्काउँदा पूर्ण रूपमा अन्त्य नहुने हुँदा मनमा भएको डर, चिन्ता तथा मनको गोठ भत्काउनका लागि पनि जनचेतना मूलक कार्यक्रमहरूलाई समेत निरन्तर रूपमा अगाडी बढाइरहेका छौँ । आशा छ न्यूनीकरणमा सहयोग पुग्छ।’

चेतनामूलक अभियान सञ्चालन गर्दा व्यवहार परिवर्तनका साथै सामाजिक परिवर्तन र विकासमा समेत सहयोग पुग्ने प्रहरी उपरीक्षक देउवाले बताए ।

मंगलबार सम्म प्रहरीले डोटीमा स्थानीय बासीको सहयोग तथा जनप्रतिनिधिको सहभागितामा २ सय १० वटा छाउगोठ भत्काएको छ । बडीकेदार गाउँपालिकाबाट सुरु भएको अभियानले सोही गाउँपालिकाको विभिन्न वडाहरूमा रहेका ९५ वटा गोठहरू भत्काइएका छन् ।

त्यसै गरी जिल्लाका अन्य स्थानीय तह जोरायल गाउँपालिकामा ३ वटा, पुर्विचौकी गाउँपालिकामा ३२ वटा र बोगटान गाउँपालिकाकामा ८० वटा छाउगोठ भत्काइएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीले पुस १५ गते छाउपडी प्रथा विरुद्ध सक्रिय भएर लाग्न र सहयोग गर्न जिल्लाका सरोकारवाला निकायहरूलाई पत्राचार गरेको थियो । त्यस पछि पुस २० गते स्थानीय तहसँगको समन्वयात्मक बैठक गरिएको थियो ।

बैठकमा स्थानियतहका प्रमुखहरूले छाउपडी विरुद्ध लाग्न गोठ भत्काउने, छाउ बार्नेलाई सरकारबाट पाउने सेवा सुविधा रोक्का गर्न, जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

समाजमा रहेका विकृति विसङ्गतिको अन्त्य गरी सभ्य र शान्त समुदाय स्थापना गर्नका लागि समुदाय र विद्यालयहरू स्तरमा प्रहरीले सामुदायिक प्रहरी मार्फत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को उपदफा ३ अनुसार महिलाहरू रजस्वला भएको अवस्थामा छाउपडीमा राख्न वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजार रुपियाँ जरिवानाको व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस