काँग्रेसको १४औँ महाधिवेशन फागुनमै, आन्तरिक विवाद समाधान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसको १४औँ महाधिवेशन फागुनमै, आन्तरिक विवाद समाधान


११ माघ २०७६, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय महाधिवेसन यही फागुनमै हुने तयारी भएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको शीर्ष नेताहरुको बैठकमा पार्टी केन्द्रीय महाधिवेसन फागुनमै गर्ने प्रस्ताव १३ गते बस्ने बैठकमा पेश गर्ने निर्णय भएको हो ।

शुक्रबार देउवाको अग्रसरतामा बुढानिलकण्ठमा बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म बैठक बसेको थियो । बैठकमा पार्टी केन्द्रीय महाधिवेसन फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने तथा अधिवेशन हुनु अघि विभिन्न तहका अधिवेशनलगायतका कार्यतालिकासहितको नयाँ प्रस्ताव समितिमा पेश गर्ने सहमति गरिएको उपपसभापति विमलेन्द्र निधिले जानकारी दिएका छन् ।

बेठकमा पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने सहमिति भएको छ । यस्तै छ महिनाभित्र महाधिवेशन गर्ने गरी नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति गठन गर्नेलगायतका विषयमा सहमति भएको जनाइएको छ ।

नेविसङ्घका निवर्तमान अध्यक्ष नैनसिंह महर नेतृत्वको केन्द्रीय समिति विघटन भएको दिनसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले नेविसङ्घको आगामी १२ औँ महाधिवेशनमा भाग लिन पाउने सहमतिसमेत भएको उपसभापति निधिले जनाएका छन् । साथै तदर्थ समितिमा बस्ने पदाधिकारी र सदस्य नेविसङ्घको आगामी महाधिवेशनमा उम्मेदवार भने बन्न पाउने छैनन् ।

बैठकमा सहमति भएका सबै प्रस्ताव माघ १३ गते बस्ने केन्द्रीय समिति बैठकमा सर्वसम्मतिबाट पारित गर्ने निर्णय भएको उपसभापति निधिले बताए ।

पार्टी भित्रको विवाद समाधान

बैटकले एक महिनादेखि पार्टीभित्र देखिएको आन्तरिक विवाद पनि समाधान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अग्रसरतामा बसेको शीर्ष नेताहरुको बैठकमा आन्तरिक विवाद समाधानका लागि सहमति भएको उपसभापति निधिले जानकारी दिएका छन् ।

यसअघि पार्टीका शीर्ष नेताहरुबीच सहमतिका लागि विभिन्न चरणमा छलफल भए पनि विवाद समाधान हुन सकेको थिएन । गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको थियो ।

वरिष्ठ नेता पौडेल पक्षको अनुपस्थितिमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, पार्टीको विभिन्न तहका अधिवेशन गर्ने कार्यतालिका र विधानका केही दफा निलम्बन गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्नेलगायतका निर्णय गरेको थियो । सहमति भएका विषयलाई केन्द्रीय समितिबाट पारित गर्न काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही माघ १३ गते बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस