कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा रेल तथा उडान सेवा बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा रेल तथा उडान सेवा बन्द


प्रशासन संवाददाता

९ माघ २०७६, बिहिबार


चीन । चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण वुहान सहरका रेल तथा उडान सेवा बन्द गरिएको छ ।

भाइरसको संक्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू बन्द गर्ने निर्णय गरेका हुन् ।

कोरोनाभाइरसको संक्रमण चिनियाँ सहर वुहानबाट अन्यत्र अमेरिका लगायतका देशमा समेत फैलिसकेको छ । भाइरसबाट पाँच सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने दर्जन बढी मानिसको ज्यान गइसकेको छ ।

कोरोनाभाइरसको पछिल्लो संक्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको अधिकारीहरुले बताएका छन् ।

अहिले चिनियाँ अधिकारीहरूले वुहान सहरका दशौँ लाख मानिसलाई जरुरी काम नभई शहर नछोड्न निर्देशन दिएका छन् ।

बिहीवार बिहानदेखि लागू भएको यो नयाँ नियम चिनियाँ नयाँ वर्षको बिदाको दिनदेखि कार्यान्वयनमा आउने बताइएको छ । नयाँ वर्षको अवसरमा दशौँ लाख चिनियाँहरू आफ्नो जन्मथलो फर्कने गर्छन् ।

कोरोनाभाइरसको संक्रमणका कारण अहिलेसम्म १७ जनाको मृत्यू भइसकेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चिनियाँ कदमको स्वागत गरेका छन् ।

उनले भने, ‘जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने निर्णयलाई म निकै गम्भीर मान्छु । सबै प्रमाणहरूबारे विचारविमर्श नगरी त्यसो गर्नु उचित हुँदैन ।’एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस