प्रतिव्यक्ति ११ लाखसम्म असुली गर्ने म्यानपावरलाई एक करोड २१ लाख जरिवाना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रतिव्यक्ति ११ लाखसम्म असुली गर्ने म्यानपावरलाई एक करोड २१ लाख जरिवाना


५ माघ २०७६, आइतबार


काठमाडौँ । वैदेशिक रोजगार विभागले कामदार ठगेको आरोपमा एउटै म्यानपावर कम्पनीलाई एक करोड २१ लाख ६ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति र जरिवाना तिराउने निर्णय गरेको छ ।

अफ्रिकी मुलुक घानामा आकर्षक रोजगारीमा लगाइदिने नाममा दर्जनभन्दा बढी युवालाई ठगेको पुष्टि भएपछि बीएण्डबी एचआर म्यानेजमेन्ट प्रा.लि.लाई उक्त जरिवाना र क्षतिपूर्ति तिराउने निर्णय भएको वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले बताए ।

विभागका अनुसार उक्त म्यानपावर कम्पनी नीरज पोखरेल, अजय तामाङ, अरुण कुमार मगर र डिल्लीराम दाहालले सञ्चालन गर्दै आएका छन् ।

विभागसँग स्वीकृति नै नलिई विना अनुमति कामदार घाना पठाएको कम्पनीले सुरक्षा गार्डको काममा भन्दै मानव तस्करी गरेको भेटिएको डा.भुसालले बताए ।

कम्पनीले कामदारलाई महिनामा १५ सय ७० अमेरिकी डलर तलब सुविधा हुने प्रलोभन देखाउँदै प्रतिव्यक्ति ११ लाखसम्म उठाएको भेटिएको छ ।

यसरी विदेश पठाइएका केही कामदार अलपत्र परेर एक महिनापछि फर्किएका थिए भने केही नक्कली कागजातका कारण युएईको अध्यागमन नै पास नभई फर्किएका थिए । कम्पनीले केही कामदारलाई घाना पठाउने भन्दै पैसा उठाएर प्रतीक्षामा राखेको थियो ।

अलपत्र परेर फर्किएका व्यक्तिहरूको उजुरीको आधारमा विभागले कम्पनीलाई ठगी गरेको प्रमाणित गर्दै विभागले २ लाख जरिवाना गराइसकेको छ भने घाना पुगेर फर्किएका ७ जनालाई कम्पनीले ५९ लाख ७६ हजार तिर्नुपर्ने र अर्को ८ जनाको समूहलाई ५८ लाख ३० हजार क्षतिपूर्ति तिर्नुपर्ने भुसालले जानकारी दिए ।

विभागबाट अनुमति नै नलिई विदेशमा कामदार पठाउँदा मानव तस्करी गरेको ठहरिने भएकोले कम्पनीमाथि अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरिसकिएको समेत भुसालले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस