चन्द समूहलाई सहमतिमा आउन आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चन्द समूहलाई सहमतिमा आउन आग्रह


३ माघ २०७६, शुक्रबार


काठमाडौं । विभिन्न राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरुले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्ताको माध्यमबाट सहमतिमा आउन आग्रह गरेका छन् ।

नेपाल पत्रकार तथा लेखक समाज र धर्मसभा राष्ट्रिय मञ्चद्वारा आज यहाँ आयोजित ‘देशको वर्तमान परिस्थिति र भविष्य’ विषयक अन्तरक्रियामा नेकपा (माले)का महासचिव सिपी मैनालीले चन्द नेतृत्वको नेकपालाई मूल धारमा ल्याएर राजनीतिक समाधान खोज्नुपर्ने धारणा राखे ।

महासचिव मैनालीले चन्दले शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न छाडेर विद्रोहको बाटो अवलम्बन गर्नु गलत भएको धारणा राखे । उनले भने, ‘अब देशले द्वन्द्व सहन सक्दैन र यो कसैले पनि रुचाएको छैन । त्यसैले चन्द समूहले विद्रोहको बाटो त्याग्ने र सरकारले पनि वार्ताको माध्यमबाट समाधान निकालेर राष्ट्रिय एकता कायम गर्नुपर्छ ।’

सीमाविद् डा शास्त्रदत्त पन्तले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकका कमीकमजोरीलाई सच्याउनुपर्ने माग गरे । नेपाल बौद्धिक मञ्चका अध्यक्ष डा केबी रोकाय र प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले सरकारले इन्डो–प्यासिफिक रणनीति र एमसिसी सम्झौता गर्दा राष्ट्रिय हितलाई हेर्नुपर्ने कुरामा जोड दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार सङ्गठनका उपाध्यक्ष जन्मदेव जैसीले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुने गरी ऐन ल्याउनु पर्दछ भने । वरिष्ठ पत्रकार प्रेम कैदी र नेपाल पत्रकार तथा लेखक समाजका अध्यक्ष गोरखबहादुर बिसीले नेपाली समाजको रुपान्तरणका लागि बुद्धिजीवी, नागरिक समाज, लेखक तथा पत्रकारहरुले सक्रिय भूमिका निर्वाह गर्न सक्नुपर्नेमा जोड दिए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस