जनकपुर । जनकपुरधामको जिरोमाइलमा मुख्यमन्त्री, मन्त्री लगायतका फोटामा जुत्ता प्रहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रदेश २ का विभिन्न मन्त्रालयका उपभोक्ता समितिमार्फत् भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै शुक्रबार जनकपुरधाममा प्रदर्शनसहित तस्वीरमा जुत्ता प्रहार गरेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिरोमाइलस्थित घर भएका रोशनसिंह राना, विमलेश चौधरी, शंकर साह र रोशन ठाकुर रहेका छन् ।
गत आर्थिक वर्षमै सम्पन्न गरेको योजनाको भुक्तानी नदिएको भन्दै प्रदेश २ का मन्त्रीहरु मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायको तस्बिरमा एक कार्यक्रम आयेजना गरि उनीहरुले जुत्ता प्रहार गरेका थिए ।
पक्राउ परेकाहरुमध्ये रानासमेत अधिकांश निर्माण व्यवसायी हुन् । उपभोक्ता समितिमार्फत काम गराएको र आर्थिक वर्ष समाप्त भएको छ महिनासम्म पनि बजेट निकासा गर्ने ग्यारेन्टी नगरेको भन्दै उनीहरुले विरोधस्वरुप उक्त कार्यक्रम आयोजना गरेको बताएका छन् ।
‘असक्षम सरकारका असक्षम मन्त्री, उपभोक्ताको पैसा कहिले रु’ लेखिएको मुख्यमन्त्री तथा मन्त्रीहरुसहितको तस्बिर अंकित व्यानरमा उनीहरुले जुत्ता हानेर विरोध प्रदर्शन गरेका थिए ।