रुकुमपूर्वमा पुनः हिमपात, दैनिकी कष्टकर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रुकुमपूर्वमा पुनः हिमपात, दैनिकी कष्टकर


२ माघ २०७६, बिहिबार


रुकुमपूर्व । रुकुमपूर्वमा आज पुन: हिमपात भएको छ । पहिलेको हिउँ नबिलाउँदै पटकपटक भएको हिमपातले जिल्लाको माथिल्लो क्षेत्रका बस्तीहरु प्रभावित भएका छन् । मङ्सिरको अन्तिम साताबाट हिमपात शुरु गरेको हिउँ लगातार हप्ताहप्तामा परिरहेको छ ।

हिमपातका कारण जिल्लाका पुथा उत्तरगङ्गा गाउँपालिका, सिस्ने गाउँपालिकाका १ र २ नम्बर वडा तथा भुमेका केही क्षेत्रहरु प्रभावित भएका छन् । केहि हप्ता यता लगातार रुपमा भइरहेको वर्षा र माथिल्लो क्षेत्रमा भएको हिमपातले जिल्लावासीको जनजीवन कष्टकर बन्दै गएको छ । हिमपातका कारण पुथा उत्तरगङ्गा गाउँपालिकाका अधिकांश क्षेत्रहरु प्रभावित बनेका छन् । पहिलेको हिउँ बिलाउन नपाउँदै पुनःआज हिमपात भएपछि मानिस बाहिर निस्कन नसकेको वडा नम्बर १ मैकोटका कर्मशाही घर्तीले बताए ।

बाक्लो हिउँ जमेकै कारण नागरिकका दैनिकी पनि ठप्प बनेको उनले बताए । हिउँले सबै जमीन छोपेपछि पशुचौपायलाई पनि चरणक्षेत्रको अभाव भएको स्थानीयले बताएका छन् । पटकपटकको वर्षा र हिमपातले जिल्लामा विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिकलाई समस्या हुने गरेको छ । हिमपातकै कारण विकास निर्माणका कामलगायत सडक पनि अवरुद्ध भएका छन् । सडकमा चारदेखि पाँच फिटसम्म हिउँ जमेकै कारण मङ्सिरको अन्तिम साता अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन ।

यता आकाशे पानीको भरमा खेती गर्ने किसानलाई भने हिमपात र वर्षाले निकै राहत मिलेको छ । पटक पटक भएको हिमपात र वर्षाले यस वर्षको बालीनाली सप्रने भन्दै जिल्लाका किसानहरु खुशी भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस