पाकिस्तान र अफगानिस्तानमा व्यापक हिमवर्षा : कम्तीमा १३० जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तान र अफगानिस्तानमा व्यापक हिमवर्षा : कम्तीमा १३० जनाको मृत्यु


१ माघ २०७६, बुधबार


इस्लामावाद । पाकिस्तान र अफगानिस्तानमा व्यापक हिमपात भएको र यसका कारण कम्तीमा १३० जनाको मृत्यु भएको दुबै देशका अधिकारीले पुष्टि गरेका छन् ।

पाकिस्तानमा विगत केही दिनमा हिमपातका कारण ९० जनाभन्दा बढीको पाकिस्तानमा मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांशको हिम पहिरोमा परी मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले विपत् व्यवस्थापन अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेका छन् ।

‘पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा मात्रै हिमपातका कारण कम्तिमा ६० जनाको मृत्यु भएको छ भने १० जना हराइरहेका छन्,’ प्राकृतिक प्रकोप व्यवस्थापन अधिकारीले एक विज्ञप्ति जारी गरी बताएका छन् । ‘हिमपातका कारण नीलम उपत्यका सबभन्दा धेरै प्रभावित भएको छ । यहाँ कैयौँ मानिस हिमपातका कारण फसेका छन् भने बलोचिस्तानमा ३१ जनाको ज्यान गएको बताइएको छ ।’

दक्षिण एशियाली मुलुक अफगानिस्तानमा पनि हिमपात र हिमपहिरोमा परी कम्तीमा ३९ जनाको मृत्यु भएको त्यहाँको प्रशासनले पुष्टि गरेको छ । हिमपातपछि काबुललाई उत्तरी क्षेत्रसँग जोड्ने सालाङ पास बन्द गरिएको छ ।

दुबै देशमा हिमपातपछि हिमाली तथा पहाडी त्यस क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध हुन पुगेका छन् । उक्त क्षेत्रमा उद्धार टोलीहरू पुगिरहेका छन् । हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या अझ निकै बढ्नसक्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस