जापनिज विश्वविद्यालयको अनुभव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जापनिज विश्वविद्यालयको अनुभव


१ माघ २०७६, बुधबार


निजामती सेवामा सूचना प्रविधि निर्देशकको रूपमा कार्यरत र हाल जापान सरकारको जे.डी.स. छात्रवृत्ति मार्फत इन्टरनेशनल युनिभर्सिटी अफ जापानमा एम. वि. ए. कार्यक्रममा अध्ययनरत रामदत्त भट्टको सो विश्वविद्यालयमा प्राप्त गरेको अनुभवको आधारमा यो लेख तयार गरिएको हो। सो विश्वविद्यालयमा अध्ययनरत हुँदा उहाँले प्राप्त गरेको अनुभवको आधारमा तयार पारिएको यो लेखमा उल्लेखित विचार तथा विषयवस्तु लेखकको निजी अनुभूति हुन्।

केस (मामिला)मा आधारित पढाई
एक वर्षमा तीन वटा टर्ममा पढाई हुने विश्वविद्यालयमा टर्म सुरु हुनु अघि नै सो टर्ममा पढाई हुने प्राय: सबै विषयहरूमा विद्यार्थीहरूलाई केही प्रश्नहरू संलग्न गरी प्रत्येक हप्ताको लागि एक/एक वटा केस उपलब्ध गराइन्छ। केही केसहरू सम्बन्धित प्राध्यापकबाटै तयार गरिने भए पनि धेरै जसो हार्वर्ड विश्वविद्यालय लगायतबाट प्रकाशन भएका केसहरू विद्यार्थीहरूलाई खरिद गर्न लगाइन्छ। पहिलो पटक विद्यार्थी आफैले केसलाई एक्लै अध्ययन गरेर केसमा संलग्न गरिएका प्रश्नहरूको जवाफ सहितको केस-मेमो तयार गर्नु पर्ने हुन्छ। केसलाई सामूहिक छलफल मार्फत थप गहिराइबाट बुझ्नको लागि साधरणतया चार देखि छ जना विद्यार्थी एक समूहमा रहने गरी समूह विभाजन गरिएको हुन्छ। सामूहिक छलफलको समय लगायत अन्य कार्यविधि समूहकै आपसी सहमतिमा हुन्छ्। तोकिएको समयमा आ-आफ्नो समूहमा छलफल गरी केस-मेमोलाई अन्तिमरुप दिई सो विषयको कक्षा सञ्चालन हुने एक दिन अघि नै सम्बन्धित प्राध्यापकलाई अनलाइन पेस गरिन्छ। विश्वविद्यालयमा यस किसिमका सामूहिक छलफल गर्नको लागि डिस्प्ले सहितका अध्ययन कोठाहरू चौबिसै घण्टा खुल्ला रहने व्यवस्था गरिएको हुन्छ।विद्यार्थीहरूको सक्रिय सहभागितामा कक्षामा थप छलफल र केससँग सम्बन्धित सिद्धान्तहरूको व्याख्या गर्ने गरिन्छ। कक्षामा तोकिएको केसमा छलफल हुँदा प्रत्येक विद्यार्थीलाई आफ्नो प्रश्न, राय, जिज्ञासा सहित सहभागी हुन उत्प्रेरित गरिन्छ। कक्षामा विद्यार्थीले देखाएको सहभागितालाई मूल्याङ्कनको एक महत्त्वपूर्ण आधारको रूपमा लिइन्छ। प्राध्यापकले सुरु-सुरुमा विद्यार्थीसँग परिचित नहुँदासम्म कक्षामा फोटो सहितको विद्यार्थीको नामावलीको प्रयोग गर्दछन्। यस किसिमको पढाइले विद्यार्थीको ब्रेन स्ट्रोमिङ हुने र वास्तविक जीवनमा समस्याको पहिचान तथा समाधान गर्नमा सहयोगी हुने देखिन्छ।

सामूहिक कार्यमा जोड
व्यक्तिगतरुपमा प्रत्येक विद्यार्थीले बुझाउने गृहकार्यका अलावा सामूहिक गृहकार्य तथा कुनै विषयवस्तुको अध्ययन गरी प्रतिवेदन तयार गर्नु पर्ने जस्ता कार्यहरूमा जोड दिइन्छ। सामूहिक गृहकार्य, केस-मेमो तथा प्रतिवेदनमा समूहका हरेक सदस्यको सक्रिय सहभागिता रहोस् भनेर साथीहरूको मूल्याङ्कनको पनि व्यवस्था गरेको हुन्छ। यस अन्तर्गत हरेक सदस्यले आफ्नो समूहमा भएको अन्य सदस्यलाई समयमै उपस्थित भए नभएको, सामूहिक छलफल हुँदा विषयवस्तुमा योगदान गरे नगरेको तथा सक्रिय सहभागिता जनाए नजनाएको आधारमा मूल्याङ्कन गरी गोप्यरुपमा प्राध्यापकलाई जानकारी गराउँछन्। यस प्रकारको मूल्याङ्कनलाई थप निष्पक्ष विवादरहित बनाउन यथासम्भव फरक फरक देश वा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी समूह निर्माण गरिन्छ।साथै समूहमा सबैको सदस्यहरूको वास्तविक योगदान देखियोस् भनेर प्राय:जसो विषयमा समूहको कुनै एक जना सदस्यलाई मात्र पूर्ण अङ्क दिन पाउने व्यवस्था गरेको हुन्छ। कमजोर विद्यार्थीलाई समेत समूहमा बोल्न मौका दिई सक्रिय सभागिताको लागि उत्प्रेरित गरिन्छ। यस किसिमको सामूहिक कार्यबाट एका तर्फ विषयवस्तुलाई विभिन्न कोणहरूबाट विश्लेषण गर्न सहयोग हुन्छ भने अर्को तिर समूह परिचालन तथा सहकार्यमा अभ्यस्त गराउँछ।

विद्यार्थीले पूर्व तयारी गर्नु पर्ने
प्राध्यापकले ह्याण्ड्सआउट, कक्षा नोट, केस प्रश्नहरू तथा कक्षामा गरिने क्रियाकलापसँग सम्बन्धित अन्य जानकारी हरेक कक्षा सुरु हुनु भन्दा अघि नै दिई सो को अध्ययन गरेर मात्र कक्षामा उपस्थित हुन विद्यार्थीलाई निर्देशन दिएको हुन्छ। पूर्व तयारी गरिएको विषयवस्तुमा कक्षा छलफल, प्यानल छलफल, अन्तर्क्रिया, प्रश्नोत्तर तथा प्राध्यापकबाट कि नोट दिने कार्यबाट विद्यार्थीले तुलनात्मकरुपमा अध्ययन अध्यापनको कार्य बढी प्रभावकारी देखिन्छ।

समय तालिकाको पालना
समयको पालना गर्ने मामिलामा जापनिजहरू विश्वमा नै अघि देखिन्छन्। प्राध्यापकहरू तोकिएको समय भन्दा पाँच मिनेट भन्दा अघि नै कक्षामा आइसकेका हुन्छन्। सो पाँच मिनेटमा आफ्नो म्याटेरियल खोल्ने तथा डिस्प्ले जोड्ने लगायतका कार्य गरेर कक्षा डेलिभरीको लागि पूर्ण तयार हुन्छन्। कुनै दिन कुनै कारणबस् एक दुई मिनेट ढिला हुन गए स्पष्टीकरण सहित विद्यार्थीबाट माफी माग्ने चलन अनुकरण गर्न योग्य छ। समयमा नै कक्षा सुरु गर्ने र समयमै सक्ने परिपाटी हुन्छ। तीन घण्टाको कक्षामा समेत प्राध्यापकले पुरा समय दिने र कुनै पनि दिन केही मिनेट अघि कक्षा छोडेको देखिदैन्। हरेक क्रियाकलाप निश्चित समय तालिका बमोजिम हुने भएर होला, टर्म चलेको समयमा तोकिएको कक्षाको समयमा कुनै पनि प्राध्यापक कुनै दिन पनि अनुपस्थित भएको देखिएन। समयको परिपालना सम्बन्धमा विद्यार्थीलाई समेत सोही अनुसार गराइन्छ र कक्षा सुरु भए पछि कक्षा कोठामा कुनै विद्यार्थी प्रवेश गरेको विरलै पाइन्छ। सार्वजनिक बिदामा विश्वविद्यालयको प्रशासनिक कार्य बन्द भए पनि अध्ययन अध्यापनको कार्य निरन्तर सञ्चालन गरिन्छ।

सूचना प्रविधिको भरपुर प्रयोग
विश्वविद्यालयले सूचना प्रविधिको भरपुर मात्रामा प्रयोग गरेको पाइयो। विश्वविद्यालयमा भर्ना भएका हरेक विद्यार्थीलाई सुरुमै एउटा युजरनेम र पासवर्ड दिइन्छ।सो युजरनेमबाटै विश्वविद्यालयको इमेल, कम्प्युटर, वाइफाई, फोटोकपी, प्रिन्टर, पोर्टल, क्लाउड लगायतका सेवाहरू लिन सकिन्छ। विश्वविद्यालयको क्लाउड मार्फत हरेक विद्यार्थीलाई प्राइभेट तथा पब्लिक फोल्डरको व्यवस्था गरेको हुन्छ। क्लाउडमै प्राध्यापकले सम्पूर्ण ह्यान्ड्सआउट तथा अन्य डकुमेन्टहरू राखेका हुन्छन् र सम्बन्धित विद्यार्थीले हेर्न र डाउनलोड गर्न सकिने व्यवस्था गरेको हुन्छ। विद्यार्थीलाई दिइएको युजरनेमबाट लगिन गरी जुनसुकै ठाउँबाट आफूलाई पायक पर्ने प्रिन्टर तथा फोटोकपी मेसिनको प्रयोग गर्न सकिन्छ। सबै सेवाहरू केन्द्र नियन्त्रित भएकोले हरेक क्रियाकलापको लग बस्ने तथा सोही अनुसारको विलिङ हुने गर्दछ। साथै कुन युजरलाई कुन फोल्डरमा के कार्य गर्न अनुमति दिनु पर्ने हो, सोही अनुसारको सेट अप गरेको हुन्छ।विश्वासिलो क्लाउड सेवाको प्रभावकारी प्रयोगको कारण विश्वविद्यालयमा पेन ड्राइभ, स्टोरेज जस्ता उपकरणहरूको प्रयोग गर्नु पर्ने प्राय: अवस्था नै देखिदैन्।

टिचिङ सहायकको व्यवस्था
सिनियर ब्याचमा राम्रो ग्रेड ल्याउन सक्षम विद्यार्थीहरू मध्येबाट एउटा विषयमा एक देखि तिन जना सम्मलाई टिचिङ सहायकको भूमिका दिइन्छ। प्राध्यापकले विद्यार्थीलाई दिएको गृहकार्य चेक गर्ने, प्राध्यापकले कक्षामा पढाएको विषयवस्तुमा विद्यार्थीलाई थप अभ्यास गराउने लगायत प्राध्यापकलाई अन्य शैक्षिक कार्यमा सहयोग गर्ने जिम्मेवारी उचित पारिश्रमिकका साथ टिचिङ सहायकलाई दिइन्छ।

आफ्नो रुचिका विषयहरू पढ्न पाइने
विश्वविद्यालयमा विद्यार्थीले आफ्नो चाहना अनुसारको विषयहरू पढ्न पाउँछन्। ऐच्छिक विषयहरू भन्दा अनिवार्य विषय कम हुने तथा आफूलाई पढ्न मन लागेको विषय छनौट गर्न सकिने व्यवस्था गरेको हुन्छ। ऐच्छिक विषयको सन्दर्भमा एक हप्ता कक्षा लिए पछि निर्णय लिने गरी विषय छनौट गर्न सकिने र आफ्नो फ्याकल्टी बाहेक अन्य फ्याकल्टीसँग सम्बन्धित विषयहरू समेत पढ्न पाउने व्यवस्था छ। हुन्छ। कक्षामा सहभागी हुने तर परीक्षा तथा अन्य मूल्याङ्कनमा सहभागी नहुने गरी विषय छनौट गर्न समेत पाइन्छ।  साथै अङ्ग्रेजीमा भाषामा कमजोर विद्यार्थीहरूको लागि बिहान बेलुकाको समयमा थप कक्षा मार्फत भाषा कक्षा समेत सञ्चालन गरिन्छ। ग्रयाजुयट हुनको लागि कम्तीमा केही निश्चित क्रेडिट लिनै पर्ने तथा आफ्नो रुचि अनुसार सो भन्दा बढी क्रेडिट पनि लिन पाउने व्यवस्था छ।स्मरणीय छ, विद्यार्थीले थप विषय बढे बापत विश्वविद्यालयलाई कुनै थप शुल्क तिर्नु पर्दैन।

प्राध्यापक तथा पाठ्यक्रमको मूल्याङ्कन
प्रत्येक टर्ममा कम्तीमा दुई पटकसम्म हरेक विषय पढाउने प्राध्यापकको अध्यापन शैली, विषय बस्तुको ज्ञान र विद्यार्थीसँगको व्यवहार तथा विषयको पाठ्यक्रम सम्बन्धमा विश्वविद्यालय व्यवस्थापनबाट विद्यार्थीबाट गोप्यरुपमा पृष्ठ पोषण लिइन्छ र सो पृष्ठ पोषणको कार्यान्वयन अनिवार्यरुपमा गर्ने परिपाटी रहेको छ। प्राध्यापकले आफ्नो विषय विषय बस्तुमा यथेष्ट मात्रामा मिहिनेत गर्ने तथा अध्यापनको क्रममा बढी भन्दा बढी शिक्षण सामग्रीको प्रयोग गर्ने गरेको पाइन्छ। साथै प्राध्यापक र विद्यार्थी बिच घनिष्ठ र खुला सम्बन्ध हुने हुन्छ।

परीक्षा प्रणाली
विषयवस्तुलाई घोक्नु भन्दा पनि कन्सेप्ट क्लियर गर्नु पर्ने किसिमले अध्यापन गराइन्छ र सोही अनुसार विद्यार्थीको मूल्याङ्कन हुने गर्छ। केस-मेमो, गृहकार्य, सामूहिक प्रतिवेदन, कक्षामा सहभागिता, नियमित क्वीज आदि मार्फत आन्तरिक मूल्याङ्कनमा जोड दिइन्छ। अन्तिम चरणको परीक्षामा कुनै पनि विषय बस्तुको परिभाषा तथा सूत्रमा आधारित ह्वाट इज प्रश्न सोधिएको देखिदैन् ।खुल्ला किताब मा आधारित परीक्षा प्रणाली अन्तर्गत वैचारिक उत्तर दिनु पर्ने प्रश्नहरू सोधिन्छन्। खुल्ला किताब सम्भव नभएको विषयहरूमा समेत सूत्र घोक्नु नपर्ने गरी विद्यार्थीले चिटिङ सिट समेत परीक्षामा लैजान पाउने व्यवस्था हुन्छ। परीक्षाको समयमा किताब हेर्न पाउने भए पनि अर्को विद्यार्थीको उत्तर पुस्तिका हेर्न र नक्कल गर्न प्रतिबन्ध हुन्छ र समयको सीमितता हुन्छ।परीक्षालाई मर्यादित तथा अनुशासित बनाउन परीक्षा अवधिभर भिडियो रेकर्डिङको व्यवस्था गरेको हुन्छ।साथै कुनै पनि टर्म सुरु भएको पहिलो हप्ता भित्रमा अघिल्लो टर्मको परीक्षाफल प्रकाशन गर्ने गरी समय तालिका बनाएको हुन्छ।

विद्यार्थीको व्यक्तिगत गोपनीयता
विद्यार्थीको व्यक्तिगत गोपनीयतामा विशेष ध्यान दिएको देखिन्छ। परीक्षाफल सार्वजनिकरुपमा प्रकाशन नगरी विद्यार्थीले विश्वविद्यालयको पोर्टलबाट आफ्नो मात्रै परीक्षाफल हेर्न मिल्ने किसिमको व्यवस्था गरेको हुन्छ। मिड टर्म परीक्षा, क्वीज आदिको अङ्क प्रकाशन गर्दा समेत सम्बन्धित विद्यार्थीले मात्रै बुझ्ने गरी विद्यार्थीको नामलाई कोडिङ गरिन्छ। परीक्षामा प्राप्त अङ्कको आधारमा मात्र विद्यार्थी माथि भेदभाव नहोस्, छुट्टै व्यवहार नहोस् तथा परीक्षाफलको कारणले मात्रै कसैलाई पनि आघात नपरोस् भनेर यो किसिमको व्यवस्था गरेको देखिन्छ।

शैक्षिक मेल बक्सको व्यवस्था
हरेक विद्यार्थीलाई एउटा शैक्षिक मेलबक्सको व्यवस्था गरेको हुन्छ। विश्वविद्यालयबाट पाउने सेवा सुविधा लिनको लागि विद्यार्थीले हरेक कोठा कोठा गई ताकेता गर्नु पर्दैन।गृहकार्यको कपी, प्राध्यापकलाई बुझाएको प्रतिवेदन, परीक्षाको कपी लगायत शैक्षिक डकुमेन्टहरू सो मेल बक्सबाट लिन सकिने हुन्छ। साथै विश्वविद्यालयको विभिन्न विभाग र शाखा तथा प्राध्यापकबाट विद्यार्थीलाई दिइने जानकारी आधिकारिक इमेलबाट दिइन्छ।

अतिरिक्त क्रियाकलापहरूमा जोड
पढाईका अलावा विश्वविद्यालयमा समय समयमा अतिरिक्त क्रियाकलापहरू भइरहन्छन्। वर्षमा कम्तीमा दुई पटक हरेक विद्यार्थीको अनिवार्य स्वास्थ्य चेक अप, प्रत्येक पन्ध्र/पन्ध्र दिनमा डाक्टरसँग स्वास्थ्य परामर्शको सुविधा, समय समयमा भूकम्प सिमुलेशन, फोहोर व्यवस्थापन तथा प्रकोप व्यवस्थापन सम्बन्धमा अभिमुखीकरण, क्लब तथा हाउसका गतिविधिहरू, यौन शिक्षा, स्थानीयहरूसँग अन्तर्क्रिया, होम स्टे, स्थानीय स्कुलका विद्यार्थीसँग अनुभव आदान प्रदान, नजिकको बजार सम्म नियमित निःशुल्क बस सेवालगायत सांस्कृतिक कार्यक्रम, फिल्ड ट्रिप, जिमको व्यवस्था तथा गेस्ट लेक्चर जस्ता गतिवधिहरुले विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा क्षमता अभिवृद्धि भएको देखिन्छ।

विद्यार्थी युनियनको व्यवस्था
विश्वविद्यालयको अतिरिक्त क्रियाकलापहरूको सञ्चालनमा सहयोग पुगाउन तथा विद्यार्थीको हक हित सम्बन्धी विषयहरूमा विश्वविद्यालय व्यवस्थापनसँग छलफल गरी विश्वविद्यालयको गुणस्तर वृद्धि गर्न सहयोग पुगाउने उद्देश्यले विद्यार्थी युनियनको व्यवस्था हुन्छ। प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुने यस युनियनबाट सञ्चालन हुने गतिविधिको लागि प्रत्येक वर्ष हरेक विद्यार्थीबाट केही निश्चित रकम लिइन्छ।यस युनियनको भूमिका कुनै राजनैतिक हुँदैन तथा विश्वविद्यालयको नीति नियम र शैक्षिक गतिविधिमा सकारात्मक सुझाव दिनु बाहेक कुनै पनि प्रकारको हस्तक्षेपकारी भूमिका हुँदैन।

क्यारियर काउन्सलिङको सुविधा
अध्ययन पश्चात् रोजगारीको सुनिश्चितताको लागि सम्भावित रोजगारीको क्षेत्रहरूको पहिचान गर्ने तथा सम्बन्धित विष यको जानकारी गराउने उद्देश्यले विभिन्न कम्पनीहरूसँग विद्यार्थीहरूको भेटघाट गराइदिने कार्यको लागि विश्वविद्यालयबाट छुट्टै क्यारियर काउन्सलिङ सेवाको सुविधा समेत पाइन्छ।

शैक्षिक वातावरण
दैनिक अठार घण्टा प्रयोग गर्न सकिने गरी बिदाको दिन समेत पुस्तकालय, ल्याब, स्टडी रुम खुल्ला हुने व्यवस्था हुन्छ । सबै विद्यार्थी र प्राध्यापकलाई समेत पुग्ने गरी शुलभ छात्रवासको व्यवस्था तथा छात्रावास बाहिर बस्ने विद्यार्थीको लागि राति दश बजे सम्मको लागि निःशुल्क नियमित बस सेवाले साच्चिकै शैक्षिक वातावरण प्रभावकारी बनाएको छ। शैक्षिक गतिविधिमा कुनै कमी नहोस् भन्ने विषयमा विश्वविद्यालय सधैँ गम्भीर भएको देखिन्छ। विभिन्न विषयमा अनुसन्धान गर्न तथा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन विद्यार्थीलाई प्रेरणा दिने लगायत सो को लागि खर्च व्यवस्थापनको लागि छुट्टै कोषको व्यवस्था समेत गरेको हुन्छ। साथै विश्वविद्यालयको पुस्तकालय, सपोर्ट डेस्क आदिमा आफ्नै विद्यार्थीलाई पार्ट टाइम कामको अवसर दिने समेत गरेको छ।

यस किसिमको शैक्षिक वातावरण तथा व्यावहारिक शिक्षाले पक्कै पनि विद्यार्थीको ज्ञान, सीप तथा क्षमतामा अभिवृद्धि गराई आफ्नो विषयमा दख्खल बनाउँछ। नेपालका शैक्षिक सस्थाहरुले समेत जापनिज विश्वविद्यालयका यी सकारात्मक गुणहरू अनुकरण गर्न सके नेपालको शैक्षिक गुणस्तर अभिवृद्धिमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ। जापनिज विश्वविद्यालयको व्यावहारिक शिक्षा अनुकरणीय छ।

Tags :
प्रतिक्रिया दिनुहोस