इराकमा रहेको अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इराकमा रहेको अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण


२३ पुस २०७६, बुधबार


वासिंगटन । इराकमा रहेको अमेरिकी सैन्य अखडामा इरानले बुधबार रकेट प्रहार गरेको छ । इरानले दुई वटा अमेरिकी सैन्य अखडामा दर्जन बढी रकेट प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इरानले अनबर प्रान्तमा रहेको ऐन–अल–असद बेस र इरबिलमा रहेको अर्को सुरक्षा अखडामा रकेट आक्रमण गरेको सीएनएनले बताएको छ। इरानको आक्रमणबाट पुगेको क्षतिबारे भने केही जानकारी दिइएको छैन।

शुक्रबार अमेरिकाले इराकको बग्दादमा इरानका सैन्य कमान्डर कासिम सुलेमानीको ‘हत्या’ गरेपछि दुई देशबीच टकरावको अवस्था आएको हो। इरानले आफ्ना सैन्य कमान्डर सुलेमानीको हत्याको बदला लिने बताइसकेको छ। अमेरिकाले भने इरानले प्रत्याक्रमणको बाटो रोजे इरानका ५२ वटा अति महत्वपूर्ण ठाउँ ध्वस्त बनाइदिने चेतावनी दिएको छ। इरानी सेनाले अमेरिकाको सहयोगी इजरायललगायतका देशलाई पनि आक्रमणको चेतावनी दिएको छ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीले इराकमा अमेरिकी फौजप्रति भएको आक्रमणलाई नजिकबाट नियालिरहेको बताउँदै इरानसँगको तनाव घटाउनुपर्ने बताएकी छिन्। उनले अमेरिकाले मात्रै होइन, विश्वले नै पनि युद्धको बहन गर्न नसक्ने चेतावनी पनि दिएकी छिन्।

जर्नेल कासिम सुलेमानीको अन्तिम संस्कार मंगलबार गरिने पूर्वनिर्धारित कार्यक्रम भए पनि शवयात्रामा भागदौड मच्चिँदा कम्तीमा पनि ३५ जनाको भन्दा बढी ज्यान गएपछि स्थगित गरिएको थियो। तेहरानमा भएको सुलेमानीको शवयात्रामा दश लाखभन्दा बढी मानिस उपस्थित भएको बताइएको छ। एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस