के हो यो प्रपञ्च ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

के हो यो प्रपञ्च ?


२२ पुस २०७६, मंगलबार


स्वामी विवेकानन्द भन्छन् ‘’मनुष्य यो बाह्य जगतलाई जति नै सत्य या साररूप मानोस् , प्रत्येक व्यक्तिको जीवनमा यस्तो समय आउँछ , जब इच्छा नहुँदा नहुँदै पनि उसले प्रश्न गर्नेछ ‘के यो जगत सत्य हो?’ जुन व्यक्तिलाई आफ्नो इन्द्रियको विश्वसनीयतामा शङ्का गर्नलाई थोरै समय पनि मिल्दैन,जसको जीवन प्रत्येक क्षण कुनै न कुनै विषय भोगमै बित्दछ,मृत्यु उसको सामुन्ने पनि खडा हुनेछ I तब विवश हुँदै उसले भन्नेछ ,’के यो जगत सत्य हो?’ यही प्रश्नले नै धर्मको आरम्भ भएको हो I यति मात्र होइन,सुदूर अतीतकाल,जहाँ इतिहासको पहुँच छैन,त्यो सभ्यताको अस्फुट उषाकालमा पनि यही प्रश्न नै गरिएको थियो, के यो जगत सत्य हो?”

कवि शिरोमणी लेखनाथ पौड्यालले वुद्धिविनोदमा लेखेका छन् :
‘कहाँ थियो वास अघि म को थिएँ
कसोगरी यो पिँजडा लिँदो भएँ
कहाँ छ जानु कुन साथ लीकन
तँलाई मालुम छ कि यो कुरा मन’

के हो यो जगत , कसले बनायो ? यी पहाड , नदी , खोला , महा सागर , वन र फाँट के हुन ? यी किन छन् ? कहाँबाट आए , कसले निर्माण गर्‍यो ? त्यो चन्द्रमा , त्यो सूर्य , ती नक्षत्रहरू के हुन ? यो अनन्त आकाश के हो ? त्यहाँभन्दा पर के छ ? अझ परभन्दा पर के छ ? चराचर जगत के हो ? यो मानव चोला के हो ? कसले कहिले र किन पठायो ? जीवन के हो मृत्यु केहो ? म किन जन्मे र म किन मर्छु ? यी सांसारिक भोग के हुन ? किन सन्तुष्टि मिल्दैन ? मृत्युभन्दा पर के छ ? केही छ भने के छ ? छैन भने किन छैन ? यी सारा प्रपन्च रच्ने को हो ? किन रचियो यी सारा प्रपञ्च ? कसैले रचना नगरेको हो भने यो ब्रह्माण्ड कसरी अस्तित्वमा छ ? कसैले रचेको हो भने त्यो को हो ? त्यो रचयिता कहाँ छ , कस्तो छ ? त्यो साकार छ कि निराकार ? साकार छ भने किन देखिँदैन ? निराकार छ भने त्यस्तो निराकार सत्ताले यस्तो साकार जगतको रचना किन गर्‍यो ? सनातनदेखि नै मानवले यी प्रश्न गर्दै आएको छ , अझै गरिरहने छ I विज्ञान , अध्यात्म र दर्शन सबैले त्यो सत्तालाई खोजिरहेछन् र खोजिरहनेछन् , तर त्यसको जरोमा पुग्न सक्ने छैनन् , पक्का छ I सबै प्राणी बाठा , चलाख र धूर्त पनि छन् , तर किन मानवलाई मात्र यत्रो झन्झट ? किन आफ्नो शरीर पालन , प्रजनन र सुरक्षाले मात्र पुग्दैन मानवलाई ? किन सारा मानव जाति मात्र कुनै न कुनै अज्ञातको सहारा लिन्छ ? किन कुनै न कुनै अदृश्य शक्तिमा विश्वास गर्दछ र कुनै न कुनै किसिमको ईश्वरको कल्पना गर्दछ ? किन ईश्वरलाई जन्माउँछ ? किन मानवलाई नै अनेक लफडा गर्न मन लाग्छ ?

आफ्नो लिपि र अक्षर नभएकाहरूले समेत लिखित संहिता बनाउन नसके तापनि परम्परा र पुस्तान्तरको माध्यमबाट प्रकृतिभन्दा बाहिरको काल्पनिक शक्तिलाई पूजा गर्ने र त्यो अज्ञातलाई खुसी पार्न यत्न गर्ने कुनै न कुनै प्रकारको संस्कृति र पद्धतिको विकास गरेका छन् I तर सभ्य र विकसित भनिएको मानवभन्दा उनीहरू कम दुःखी छन् , किनकि उनीहरूमा सुखको चाहना छैन , उनीहरूले सुख र दुखको विभाजन नै गरेका छैनन् I उनीहरू दु:खी छैनन् , किनकि उनीहरूले सुखको कल्पना नै गरेका छैनन् , सुख र दुख सहयात्री हुन , एउटाको अनस्तित्वमा स्वतः अर्कोको पनि अस्तित्व छैन I वास्तवमा सुख दु:खको जानकारी हुनु नै व्यक्तिगत स्वार्थको जननी हो I रुसोले ‘डिस्कोर्स अन आर्ट एण्ड साइन्स’ , ‘डिस्कोर्स अन द ओरिजन अफ इनइक्वाईलिटी ’ र ‘सोसियल कन्ट्रयाक्ट’ मा मानवका विभिन्न पक्षमा प्रकाश पारेका छन् I रुसो भन्छन् – ‘सांस्कृतिक‘ मानव स्वतन्त्र जन्मन्छ , तर ऊ सर्वत्र जन्जिरमा बाँधिएको छ I उनी भन्छन् – मानव मूलरुपमा असल हुन्छ , तर ऊ समाजका विकृतिहरूले गर्दा असल भएर बाँच्न पाउँदैन I उनको विचारमा प्राकृतिक अवस्थामा मानिस स्वाभाविक रूपमै असल , सिधा साधा र सुखी थियो I ऊ स्वस्थ , एकान्त प्रिय र शान्त थियो I उसमा तेरो मेरोको भावना थिएन , उसलाई न विगतको चिन्ता थियो , न आगतसँग कुनै गुनासो , न त अनागत या भविष्यको चिन्ता I रुसोले प्राकृतिक मानवलाई आदर्श जंगली ‘नोबेल सिभेज’ भनेर सम्बोधन गरेका छन् I प्राकृतिक मानव आफैमा पूर्ण थियो ,मस्त थियो , उसलाई न त कसैको चिन्ता थियो , न त कसैलाई हानी गर्नु थियो , न कुनै इच्छा र आकाङ्क्षा , न कुनै डर I ऊ एक निर्दोष बालक जस्तो थियो I तर जब कथित सभ्यताको विकास हुँदै गयो ,मानिसले आफूले खाने पशुलाई आफ्नो आश्रय स्थलमा ल्याएर राख्न थाल्यो , खेती गर्न थाल्यो , अनि भूमिउपर व्यक्तिगत अधिकार र तेरो मेरोको भावना सुरु भयो I मानव त्यसै दिनदेखि दूषित हुन थालेको हो जुन दिन कुनै व्यक्तिले कुनै निश्चित भूमिमाथि उभिएर भन्यो ‘यो मेरो हो’ र त्यसलाई अन्य सरल मानिसले स्वीकार गरे I यही व्यक्तिगत सम्पत्तिको आविष्कारले गर्दा सुरु भएको मानवीय सङ्घर्ष एउटा सम्झौतामा गएर टुङ्गिएको थियो I जसलाई रुसो ‘जेनेरेल वील’ अर्थात् सामान्य इच्छा भन्दछन् I विश्वमा लोकतन्त्रको लागि उनको यो सिद्धान्तबाट ठुलो सहयोग मिलेको छ I हुन त थोमस हब्स र जोन लक जस्ता पश्चिमेली चिन्तकहरूले पनि सामाजिक सम्झौताको सिद्धान्त प्रतिपादन गरेका छन् , तर रूसोको सिद्धान्त अनुपम र लोककल्याणकारी छ I

अर्का पश्चिमी चिन्तक कार्लमार्क्सले भने इतिहासको व्याख्या अर्कै ढङ्गले गरेका छन् I मार्क्सको मानव जातिको अध्ययन अनुपम र युगान्तकारी छ I उनी हिगेलको दर्शनबाट प्रभावित हुँदै द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त प्रतिपादन गर्न पुग्दछन् I उनी भन्दछन् , यो सारा जगतक चर या अचर , सजीव या निर्जीव सबै कुरामा द्वन्द्व छ I भौतिक जगतमा पनि निरन्तर द्वन्द्व छ भने मानव जातिमा झनै उग्र द्वन्द्व छ I संसारका समस्त जैविक –अजैविक वस्तुमा निरन्तर द्वन्द्व छ I उनी भन्दछन् , मानव समाज हमेसा शोषक र शोषित वर्गमा विभाजित छ I उत्पादनका साधनमा कव्जा जमाउने वर्ग र तिनै संसाधन उत्पादन गर्न सतत परिश्रम गर्दा पनि उत्पादित सामग्रीमाथि कुनै स्वामित्व राख्न नपाउने शोषित वर्ग I शोषकहरूले परापूर्व कालदेखि नै निमुखाहरूको शोषण गर्दै आएका छन् , चाहे त्यो जुनसुकै रूपको शासन पद्धतिमा किन नहोस् I उनी भन्दछन् , जब शोषितलाई यो षड्यन्त्रको पूरा ज्ञान हुनेछ , त्यहीँनेर वर्गसंघर्षको मैदान तयार हुनेछ I वर्ग सङ्घर्षको परिणामको रूपमा उनी सुरुमा सर्वहाराको अधिनयकत्वको शासन र त्यसको विकसित अवस्थाको रूपमा वर्गविहीन समाजयुक्त साम्यवादको कल्पना गर्दछन् I द्वन्द्व भन्ने कुरा निरन्तर र शाश्वत छ भन्ने कुरालाई स्वीकार गर्ने मार्क्सले साम्यवाद स्थापना भएपश्चात् द्वन्द्वहीनता कायम हुने अपेक्षा गर्नु आफैमा विवादास्पद छ I उनको व्याख्या यहीँनेर फेल भएको छ I आफैले शाश्वत मानेको द्वन्द्व आफूले भनेजस्तो साम्यवाद आएपछि साम्य हुन्छ र मानव जस्तो बुद्धिमान , जिज्ञासु र स्वार्थी जातमा द्वन्द्व अन्त हुन्छ भन्नु विरोधाभाषी कुरा हो I बरु परेटोको सत्ताको चक्रीय सिद्धान्त बढी व्यावहारिक र स्वाभाविक छ I

मार्क्स ईश्वर मान्दैनन् , परलोक मान्दैनन् , आत्मा मान्दैनन् र उनी अलौकिक कुरा मान्दैनन् I उनी यो सारा जगतको प्रपञ्चको व्याख्या आफ्नै ढङ्गले गर्दछन् I तर उनी अनुपम र भिन्न रूपमा आध्यात्मिक छन् I चार्वाकको सिद्धान्त वास्तवमा नास्तिक हो , लोकायत हो , तर साम्यवादलाई कसरी लोकायत भन्नु ? चार्वाक भन्छ – यो संयोगले पाएको एकबारको जुनी हो I ऊ भन्छ , न परलोक छ , न ईश्वर छ , न अज्ञात सत्ता छ , न त भविष्यको कुनै निश्चितता छ I ऊ भन्छ जसरी पनि जैविक आनन्द प्राप्त गरिहाल I फेरी मौका आउँदैन मोज गरिहाल भोज गरिहाल I बरु ऋण लागोस् , घिउ पिएरै मर I मरेपछि त यो शरीर भीष्मै हुने हो , भस्म भएको जीव फेरि कसरी फर्केर आउला ? तर मार्क्स त्यसो भन्दैनन् ,उनी एकबारको जुनीमा ऋण काढेर भए पनि घिउ पिएर मर भन्दैनन् I बरु एक्लै घिउ खानेहरू , अरूलाई भोको राखेर घिउ खानेहरू विरुद्ध सङ्घर्ष गर्ने प्रेरणा दिन्छन् I साम्यवादीहरू भन्छन् , ती घिउ खानेहरू पिपासु हुन , ती लोभी हुन , अन्यायी हुन , ती समस्त उत्पादनका साधनहरू कब्जा गरेर बसेका वैरी हुन I तिनीहरू आफू काम गर्दैनन् , अरूबाट उत्पादन गराउँछन् , तर त्यो उत्पादन उत्पादकलाई खान दिदैनन,उपभोग गर्न दिदैनन , आफै खान्छन , आफै उपभोग गर्छन् I उनी भन्दछन , जुन दिन ती परिश्रमी र सबै कुरा गुमाएका अर्थात् सर्वश्व हरण गरिएका सर्वहराहरुले आफू ठगिएको थाहा पाउने छन् , त्यसै दिन शोषकहरूसँग लड्ने छन् I हुने र नहुनेबिच भयङ्कर सङ्घर्ष हुनेछ I

कम्युनिस्टहरू भन्दछन् , यो वर्गसंघर्ष लामो हुनेछ I सतत र कठिन सङ्घर्षबाट मात्र सर्वहाराको शासन स्थापित हुनेछ I उनीहरू आफूले घिउ खान होइन , भविष्यमा सबैले घिउ खान पाउने आशामा आफूलाई दीर्घकालीन सङ्घर्षमा होम्नुपर्ने कुरा गर्दछन् I उनीहरूको ध्यान आफ्नो जीवनमा घिउ प्राप्त हुनेमा छैन , भविष्यका सन्ततीको मुक्तिमा छ I उनीहरूको मुक्ति बुद्धले भनेजस्तो पनि हैन , वैदिकहरूले भनेजस्तो पनि हैन क्रिस्चियन या इस्लामले भनेजस्तो पनि हैन I तर उनीहरू भविष्यतर्फ उन्मुख छन् , भाविश्यक्को मानवको समानता र् सुखी जीवनमा केन्द्रित छन् I त्यसैले उनीहरू भौतिकवादी हुँदाहुँदै पनि न्यायको पक्षधर छन् I उनीहरू आत्मालाई मान्दैनन् तर सुदूर भविष्यको मानवको सुख र आनन्दको कल्पना गर्दछन् I उनीहरू कुनै पनि अज्ञात र अलौकिक सत्तामा विश्वास नगर्दा नगर्दै पनि वास्तविक रूपमा आध्यात्मिक छन् I आफ्नो पुनर्जन्ममा विश्वास नगर्ने सिद्धान्तले अज्ञात भविष्यको मानवको कल्याणको लागि यति ठुलो चिन्ता गर्नु अनुपम रूपको अध्यात्म हो I बरु यो सिद्धान्तबाट विचलित भई यही जीवनको लागि सुखका साधनको जोहो गर्ने आधुनिक कम्युनिस्टहरू वास्तविक नास्तिक र चार्वाकको नजिक छन् र आफ्नो जीवनको सुखको हकमा व्यावहारिक पनि I यस्तो अपरम्पार महाप्रपन्चभित्रको मानव समाज कसरी साम्यवादी बन्ला , कसरी निस्वार्थी र निर्लोभी बन्ला ? नामले मात्र कोही साम्यवादी बन्दैन , लोकतन्त्रवादी बन्दैन , मानवतावादी बन्दैन I आदर्श कल्पना र मानव स्वभाव फरक कुरा हुन I

यी सबै जीवनप्रतिका जिज्ञासा नै हुन I यो जानी नसक्नु जगतमा कसले लिएको सिद्धान्त र विश्वासलाई ठिक र कसको विश्वासलाई गलत भन्नु ? यी सबै सापेक्ष रूपमा ठिक छन् I तर सबैले गर्न खोजेको यो भवसागरको पर्दाफास नै हो , किन्तु जतिसुकै गरुन् ,जति पर्दा च्यात्दै जाउन् , द्रौपदीको फरियाजस्तो कहिल्यै नसकिने पर्दा हो यो I एउटा पर्दा खस्दा दर्शकले सोच्दछ , अव त केही देख्न पाइन्छ कि ! हो उसले देख्न त पाउने छ , तर देख्न खोजेको अन्तिम दृश्य कहिल्यै देख्न पाउने छैन I तथापि मानव पर्दा खसाल्न छाड्नेव़ा छैन I यही त हो आजसम्मको मानवीय सङ्घर्ष , युद्ध ,आविष्कार र प्रगतिको रहस्य I कठोपनिषदमा भनिएको छ ‘उत्तिष्ठत जाग्रत प्राप्य वारान्निवोधत क्षुरस्य धारा निशिता दुरत्यया दुर्ग पथस्तत्कवयो वदन्ती’ अर्थात् , निराश नबन , बाटो धेरै दुरूह छ , छुराको धारमाथि हिँड्नुजस्तो छ यो , तथापि निराश नहोऊ उठ , जाग र आफ्नो परम लक्ष्यतिर अगाडि बढ I” यही दुर्गम र कठिन मार्गमा छन् सबै , चाहे विरक्त भएर गृहस्थ त्याग्ने साधु हुन , चाहे राजकुमार सिद्धार्थ हुन , चाहे रण मैदानमा हातको गाण्डिव छुटेका अर्जुन हुन , चाहे महावीर हुन , चाहे आइन्स्टाइन हुन , चाहे नील आर्मोस्ट्रङ्ग हुन , चाहे माओत्सेटुङ्ग हुन चाहे गान्धी , चाहे विपी चाहे मदन भण्डारी I सबैको खोज भनेको नै अनन्त अज्ञातको खोज नै रहेछ जानी नजानी I

गीता भन्दछ ‘न बुद्धिभेदं जनयेदज्ञानां कर्मसंगीनां जोषयेत्सर्वकर्माणी विद्वान्युक्त: समाचरन्’ अर्थात् ज्ञानीहरूले अज्ञानी र ममा अर्थात् ईश्वरमा आशक्त व्यक्तिहरूमा बुद्धिभेद उत्पन्न गर्नु हुँदैन I विद्वान व्यक्तिले सबैले गरिरहेको कर्मलाई युक्तियुक्त सम्झनु पर्दछ I अद्वैतको विशेषता नै हो सबै एकै ब्रह्मका स्वरूप हुन , सबैलाई आफ्नो आफ्नो कर्म गर्न देऊ , कसैलाई व्यवधान नगर I यसले भन्दछ कसैको मतिलाई पनि विचलित नगराऊ , सबैलाई आफ्नो बाटो हिँड्न देऊ I अद्वैतले भन्ने गरेको ईश्वर नै समग्र जगतको केन्द्र हो I यसको दर्शन नै चराचर जगत र यस जगतमा हुने समस्त क्रियाकलापहरू अविनाशी ब्रह्मका बाह्य स्वरूप मात्र हुन भन्ने हो I जब सबैको समष्टि नै ईश्वर या ब्रह्म या कारण स्वरूप हो भने किन कसैको मार्गमा बाधा बन्नु I यही दर्शनबाट प्रभावित भएरै होला हिन्दु धर्मले अन्य कुनै धर्म मान्ने व्यक्तिहरूलाई जवर्जस्ती आफ्नो धर्म मान्न लगाएको पाइँदैन I यदाकदा कुनै शासकले धर्मको विचारबाट नभई शासकीय मर्जीबाट कुनै समुदायमा चलेको चलन छाड्न लगाएका घटना सनातन दर्शनको विरुद्धमा भएका घटना हुन I हिन्दु समाजमा जरा गाडेर बसेको छुवाछुतको भावना अक्षम्य घटना हो I इतिहासको निर्मम वास्तविकता नै मान्नु पर्दछ , सबै धर्ममा सहनशील र उदात्त भावना कायम हुन सकेन I कतिपय धर्मले जसलाई धर्म परिवर्तन गर्न मजबुर पारे तिनकै सन्तान पछि गएर त्यही जवर्जस्ती थोपिएको धर्मका कट्टर समर्थक हुन पुगेका छन् I

यो अज्ञातको खोज यात्रामा अद्वैतले भनेजस्तो सबै पक्षहरू सरल तरिकाले अगाडि बढ्ने वाला छैनन् I सबैको खोज त्यही अज्ञातको नै हो , तर आधुनिक युगमा विभिन्न सम्प्रदाय र धार्मिक अनुयायीहरू अद्वैत वादीले भनेजस्तो आफूले आफ्नो धर्म कर्म गर्दै जाने र अरूलाई पनि फल्न फुल्न सहयोग गर्ने मुडमा छैनन् I उनीहरू अरूलाई पनि आफूले अङ्गीकार गरेको मार्गमा हिँड्न उत्प्रेरित र अझ विभिन्न हत्कण्डा प्रयोग गरेर अर्कोलाई उसको बाटो परित्याग गर्न र आफ्नो बाटोमा मिसाउने चेष्टा गर्दै छन् I यो प्रपञ्चको खोजीको सिलसिलामा पूर्वकामा जस्तै भविष्यमा पनि धेरै सङ्घर्ष , आविष्कार , युद्ध र द्वन्द्व हुनेछन् I मानव यस्ता आसन्न घटनाको चिन्तामा छैन , स्वाभाविक रूपमा तयारी अवस्थामै बसिरहेछ र बसिरहने छ I

धर्म होस या राजनीति , जसले पनि आफ्नो पन्थ नै ठिक भएको र त्यो अज्ञात चाहना पूर्ति गर्ने माध्यम नै आफ्नो धर्म या विचारधारा भएको मान्दछन् I तर कसैले पनि यस्तो कुरा जान्न सकेका छैनन् जसलाई जानेपछि अरू केही पनि जान्नु नपरोस् I त्यो हदसम्म कसैले जान्यो भने त ऊ कसैलाई सिकाउनेतर्फ नै लाग्दैन I सबै जानियो भने केही बाँकी नै रहन्न , त्यसरी जानेपछि न कसैले राजनीति गर्ला , न कुनै अमुक धर्म नै अङ्गीकार गर्ला I सायद मार्क्सले कल्पना गरेको साम्यवाद पनि त्यही हो I तर मानव सम्मानपूर्ण सहनशील , निस्वार्थ र ज्ञानी हुने सम्भावना छैन I मानव द्वन्द्वरहित र शालीन भएर बस्ला भनेर कमसेकम हालसम्मको अवस्थालाई हेर्दा सम्भव देखिँदैन I सायद त्यो हदसम्म बुझ्ने कोही सन्त थिए होला , तर सायद मानव सन्त बनेर ‘भलादमी’ पाराले बस्न बनेकै होइन I मानव आफूले खोजेको अज्ञातलाई फेला नपार्दासम्म चुप लागेर बस्न सक्ने छैन , तर त्यो वाञ्छित चिज भेट्टाउन पनि सक्ने छैन I

स्टिफेन हकिंग कुनै ईश्वरको सत्ता स्वीकार गर्दैनन् I तर उनले खोजेको पनि त्यही अज्ञात , अविनाशी र अव्यक्त सत्ता नै हो I नाम जेसुकै राखुन्,तर त्यो चिज त्यही नै हो जुन वैदिक साहित्यले पनि खोज्ने प्रयत्न गरेको थियो I पूर्वीयाहरु किताबमा लेखेर आफै धन्य भएर बसे , तर पश्चिमले व्यावहारिक खोज गर्‍यो I हकिंगले त्यो अव्यक्त अविनाशी सत्तालाई बुझेका थिए I त्यसै कारण उनले त्यो सत्तासँग डर मानेनन् , जसले बुझेका छैनन् ती डराउँछन् I सायद उनीजस्ता वैज्ञानिकको सक्रिय रूपमा काम गर्न सक्ने उमेर पाँच सय वर्ष हुन्थ्यो भने उनी त्यो अज्ञातको अझै नजिक पुग्थे होला I तर सबै थाहा पाउनु त प्रलयपर्यन्त सम्भव छैन I यस दुनियाँमा नयाँ नयाँ खोज र आविष्कार गरेर मानव जीवनलाई सहज र सुखी पार्ने काम वैज्ञानिक र आविष्कारकहरूको हो I मानवका आकाङ्क्षा कहिल्यै पूरा नहुने हुँदा वैज्ञानिकहरूले फुर्सद लिने गुन्जाइस छैन I मानव जीवनलाई सरस , रमणीय र नैतिक बनाउन प्रयत्न गर्ने कवि , दार्शनिक र कलाकारहरूले हो I यिनीहरूले पनि मानवका अनन्त आकाङ्क्षाको परिपूर्ति कहिल्यै गर्न सक्ने छैनन् I यी सबै प्रयत्नहरूलाई बिथोल्ने र गिजोल्ने काम राजनीतिको हो I त्यसैले विज्ञान , दर्शन र कला मानवका लागि आवश्यक सच्चाइ हुन I राजनीति आवश्यक खराबी हो I

Tags :
प्रतिक्रिया दिनुहोस