डोटीमा दश विद्यालयका भवन भूकम्प प्रतिरोधी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीमा दश विद्यालयका भवन भूकम्प प्रतिरोधी


१६ पुस २०७६, बुधबार


डोटी । डोटी जिल्लाका विभिन्न स्थानीय तह अन्तर्गत रहेका दश वटा सामुदायिक विद्यालयका भवनहरू भूकम्प प्रतिरोधी संरचना निर्माण गरिएका छन् ।

परराष्ट्र मन्त्रालय जापानको आर्थिक सहयोगमा वल्र्ड भिजन इन्टरनेट नेपाल र सामुदायिक विकास केन्द्र -(सडिसि) डोटीको साझेदारीमा ‘समुदाय र विद्यालय विपद् पूर्व तयारी तथा उत्थानशिलता परियोजना’ अन्तर्गत ९ करोड ७७ लाख ८९ हजार २ सय ४४ रुपैयाँको लागतमा भूकम्प प्रतिरोधी संरचनाहरू निर्माण गरिएको परियोजना संयोजक प्रयागराज कापीले बताए ।

सन् २०१७ जनवरी देखि डोटीमा सञ्चालनमा रहेको परियोजनाले आदर्श गाउँपालिका ४ देहिमाण्डौमा रहेको दुर्गा आधारभूत विद्यालयमा रु. ९१ लाख १३ हजार ७ सय ८० को लागतमा ४ वटा भवन, २ वटा शौचालय र १ वटा बाल मैत्री धारा निर्माण गरेको छ भने आदर्शकै वडा नं. ५ पीडामा रहेको सरस्वती आधारभूत विद्यालयमा रु। ९७ लाख ६८ हजार २ सय २२ को लागतमा ४ वटा भवन, २ वटा शौचालय र १ बाल मैत्री धारा निर्माण गरेको छ । यस्तै आदर्शकै वडा नं. ५ भाडीसैनमा रहेको भैरव आधारभूत विद्यालयमा १ करोड १९ लाख २० हजार ७ सय २६ को लागतमा ३ वटा भवन २ वटा शौचालय र एउटा बाल मैत्री धारा निर्माण भएको छ भने आदर्शकै वडा नं. ३ काँडामा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा रु। ८७ लाख ३० हजार, १ सय ७० को लागतमा ४ वटा भवन, २ वटा शौचालय र एउटा बाल मैत्री धारा निर्माण गरिएको छ ।

त्यस्तै गरी साल गाउँपालिका वडा नं. ६ दल लेखमा रहेको हिमालय आधारभूत विद्यालयमा रु. १ करोड ४ लाख १४ हजार ४ सय ८४ को लागतमा ४ वटा भवन, २ वटा शौचालय र एउटा बाल मैत्री धारा निर्माण भएको छ भने सालकै वडा नं. ६ अलैतवाडामा रहेको महाकाली माध्यमिक विद्यालयमा रु.१ करोड ३५ लाख ७३ हजार ७ सय ६६ को लागतमा ५ वटा भवन, २ वटा शौचालय र एउटा बाल मैत्री धारा निर्माण गरिएको जनाइएको छ ।

त्यस्तै सालकै वडा नं. २ मा रहेको रामेश्वर आधारभूत विद्यालयमा रु. ९५ लाख १७ हजार ६ सय ४० को लागतमा ४ वटा भवन, २ वटा शौचालय र एउटा बाल मैत्री धारा निर्माण गरिएको छ भने सालकै वडा नं. ३ कम्छडामा रहेको कालिका आधारभूत विद्यालयमा रु.७३ लाख ६९ हजार ९ सय १७ को लागतमा ३ वटा भवन एउटा शौचालय र एउटा बाल मैत्री धारा निर्माण गरिएको छ ।

त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पारकीमा रहेको दुर्गा आधारभूत विद्यालयमा रु १ करोड ७ लाख ६० हजार ८ सय ६७ को लागतमा ४ वटा भवन, २ वटा छात्रछात्राका लागि शौचालय र एउटा बाल मैत्री धारा निर्माण गरिएको छ । नगरपालिकाकै वडा नं. २ घाँडीमा रहेको सरस्वती आधारभूत विद्यालयमा रु. ६५ लाख ९६ हजार ३ सय ७२ को लागतमा ३ वटा भवन, एउटा शौचालय र एउटा बाल मैत्री धारा निर्माण गरिएको समेत संयोजक कापीले बताए ।

निर्माण गरिएका भौतिक संरचना नेपालका लागी जापानका राजदूतावासका द्वितीय सचिव यिसुकी सान दोदेखि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र सम्बन्धित स्थानीय तहका जनप्रतिनिधीहरुले हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ ।

जिल्लाका थुप्रै स्थानीय तहमा भूकम्प प्रतिरोधी भौतिक संरचना निमार्ण गर्दा डोटी जिल्लाको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण टेवा पुगेको जिल्ला समन्वय समिति डोटीका संयोजक राम बहादुर ऐरले बताए । उनले भने ‘संस्थाले गरेका राम्रा, उदाहरणीय कामहरूको सिको स्थानीय सरकारले पनि गर्नुपर्छ ’विकास गर्न थप सहयोग पुग्छ ।

स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घीय सरकारले अब निमार्ण गर्ने भौतिक संरचनाहरू भूकम्प प्रतिरोधी बनाउन आवश्यक रहेको डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने ‘अब बन्ने सरकारी संरचना मात्र नभई, व्यक्तिगत घर वा अन्य सबै संरचना भूकम्प प्रतिरोधी हुन आवश्यक छ किनभने नेपालमा २०७२ सालमा गएको महा भूकम्पले सबै कुरा देखाई सकेको छ, त्यसैले भवन बनाउनदाँ अनिवार्य रूपमा नक्सा पास गर्नु त छदैछ त्यसका अलावा भूकम्प प्रतिरोधी बनाउन सबैको ध्यान जानु पर्छ ।’ सामुदायिक विकास केन्द्रले डोटीको शिक्षा क्षेत्रमा गरेको योगदान प्रशंसनीय छ, कार्यक्षेत्रमा देखिएका राम्रा अभ्यासहरूलाई स्थानीय सरकारले पनि अवलम्बन गर्न आवश्यक रहेको समेत बताए ।

संस्थाले निमार्ण गरेका सम्पूर्ण संरचनाहरू संस्थाको लागि नभई स्थानीय सरकार र विद्यार्थीहरूका लागि निमार्ण गरिएको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताए । स्थानीय सरकारलाई लक्षित गर्दै उनले भने ‘हामी त माइती जस्तै हौ हामीले छोरीलाई तपाईँलाई दिइसक्यौ अब बाकी जिम्मा पालन पोषण गर्ने ज्वारको हो’ भूकम्प प्रतिरोधी भौतिक संरचना निमार्ण गरी सबै स्थानीय सरकारलाई हस्तान्तरण गरी सकेकोले संरचनाहरूलाई दिगो राख्न आवश्यक रहेको समेत अध्यक्ष जोशीले बताए ।

सामुदायिक विकास केन्द्र डोटीले समुदाय र विद्यालय विपद् पूर्वतयारि तथा उत्थानशिलता परियोजना अन्तरगत १० वटा विद्यालयमा भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माणसँगै परियोजना क्षेत्रका ३० वटा विद्यालयहरूमा विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण योजना निर्माणमा सहयोग, विद्यालय सुधार योजनामा विपद् जोखिम न्यूनीकरण योजना समावेश, विद्यालयमा सुरक्षित स्थानको पहिचान, प्राथमिक उपचारको व्यवस्था, समुदाय स्तरमा आम सचेत करणका कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत संस्थाले जनाएको छ ।

दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पारकीमा रहेको दुर्गा आधारभूत विद्यालय भवन आज एक कार्यक्रमका बिच स्थानीय सरकारलाई हस्तान्तरण भए सँगै निमार्ण गरिएका सबै संरचनाहरू हस्तान्तरण भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस