त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती


१५ पुस २०७६, मंगलबार


काठमाडौं ।  कवि शिरोमणि लेखनाथ पौड्यालको १३६औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ । सोही अवसरमा नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरियो ।

त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाईं, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ, त्रिमूर्ति निकेतनका सदस्य–सचिव नरेन्द्रराज प्रसाईं र कार्यक्रम संयोजक यादव भट्टराईले त्रिमूर्ति अर्थात् कवि शिरोमणि, नाट्यसम्राट र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जलि हो भने ।

कार्यक्रममा कवि सीता भट्टराई, यादव भट्टराई, ललिता दोषी र भगवती बस्नेतले कविता वाचन गरेका थिए । कवि शिरोमणि, नाट्यसम्राट र महाकविको सम्मानार्थ नई प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

पौड्यालको जन्म १९४१ पुस १५ गते कास्कीको अर्घौंअर्चलेमा भएको थियो । विसं २००८ असार २९ गते पौड्याललाई राजा त्रिभुवनद्वारा कवि शिरोमणिको पदवी र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरिएको थियो ।

पौड्याल, सम र देवकोटा २००९ सालमा दार्जिलिङ जाँदा त्यहाँका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा पौड्याल, सम र देवकोटालाई त्रिमूर्तिको पदवीले सम्मान गरिएको थियो । विसं २०११ सालमा पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौँमा पौड्यालको रथयात्रा गरिएको थियो ।

गोपाल पाण्डे ‘असीम’को अग्रसरतामा देवकोटा र समसमेत भएर पौड्याललाई रथारोहण गराइएको थियो । पौड्यालका डेढ दर्जन जति कृति प्रकाशनमा आए । ती कृतिहरू नेपाली आधुनिक भाषा साहित्यका अनुपम नमुना मानिन्छन् ।

साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो । विसं २०२२ को शिवरात्री अर्थात् फागुन ७ गते उनको देहावसान भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस